९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानको समस्या हल गर्न संघर्ष समितिद्वारा प्रधानमन्त्रीलाई आग्रह

ईलाका प्रशासन कार्यालमामर्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै वीपी प्रतिष्ठानका चिकित्सकहरु । तस्बिर : नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक एवं प्रशासनिकरुपमा धरासायी हुँदै गएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले समस्या हल गर्न पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार संयुक्त संघर्ष समितिले ज्ञापन पत्र पठाउदै यस्तो आग्रह गरेको हो । संघर्ष समितिले ईलाका प्रशासन कार्यालय धरानमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो । प्रतिष्ठान दिनप्रतिदिन जर्जर भइरहेको र यहाँको समस्या समाधान गर्न तत्काल पहलकदमी लिन ढिला भए धराशायी हुने पनि संघर्ष समितिको ठहर छ । विगत १० दिनदेखि प्रतिष्ठानको बेथिती अन्त्यको लागि विभिन्न मागहरु राखेर आन्दोलन जारी रहेपनि पदाधिकारीहरु गम्भीर नभएको संघर्ष समितिको भनाई छ ।

प्रधानमन्त्री प्रतिष्ठानको कुलपति पनि भएको नाताले समस्याहरु हल गर्न निर्णायक पहलकदमी लिन संघर्ष समितिले आग्रह गरेको छ । समितिले बुझाएको ज्ञापन पत्रमा शिक्षा र स्वास्थ्यमा भएको चरम राजनीतिकरण वीपी प्रतिष्ठानको पनि प्रमुख समस्या भएको उल्लेख छ । साथै, प्रतिष्ठानमा हुने पदाधिकारी नियुक्तीमा राम्रो भन्दा हाम्रो भन्ने परिपाटी र ठूलो आर्थिक लेनदेन पनि अर्को प्रमुख समस्या भएको समितिले ठहर गरेको छ । ‘यसको दीर्घकालिन समाधानको लागि विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ती मापदण्ड सिफारिश कार्यदलले तयार पारेको प्रतिवेदन अनुरुप नै भएमा समस्याको समाधान हुनेछ भन्ने हाम्रो विश्वास छ,’ज्ञापन पत्रमा भनिएको छ ।

संघर्ष समितिका संयोजक डा.एस.पी.रिमालले विगत १० दिनदेखि आन्दोलन भइरहँदा पनि उपकुलपति डा.ज्ञानेन्द्र गिरी काठमाडांैंमा बसिरहेको र बेवास्ता गरेको बताए । उनले वार्ता समिति गठन भएपनि अल्मलाउने काम मात्र भएको बताए । ‘उहाँको रवैया ठिक भएन । काठमाडौं बसेर विज्ञप्तीवाजी गर्न भ्याउने तर यहाँ आएर हामीसँग कुराकानी गर्न भ्याइरहनु भएको छैन, हामीलाई किन जवाफ दिने ? भनेर उल्टै भनिरहनु भएकोछ,’डा.रिमालले भने,‘वार्ता समिति बनाए पनि पुर्णअधिकार छैन । आफ्नो संस्थाको फ्याकल्टी, विद्यार्थी, कर्मचारी सबै आन्दोलनमा छन्, तर उहाँ किन हो आइरहनु भएको छैन ।’

प्रतिष्ठानको आर्थिक अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराएपछि प्रतिष्ठानका फ्याकल्टी डा.विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएपछि आन्दोलन शुरु भएको थियो । चिकित्सक, विद्यार्थीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउदै कर्मचारी र नर्सिङहरु पनि हरेक दिन विरोध सभा र र्‍यालीमा सहभागी भइरहेका छन् । उपकुलपतिले वार्ता समिति गठन गरेपनि कतिपय मागहरुमा उपकुलपति डा.गिरीकै उपस्थिति आवश्यक हुने भएपछि औपचारिक वार्ता हुन सकेको छैन । उपकुलपतिको अनुपस्थितिकै कारण वीपी सुधारको मागासहित ७ दिनको अल्टिमेटम दिएको धरान नागरिक दबाब सञ्जालले पनि थप कार्यक्रम अघि बढाउन सकेको छैन ।  

दबाब समूहका संयोजक एवं अर्थशास्त्रका सहप्राध्यापक डा.राजेन्द्र शर्माले समस्याको सामना गर्न छोडेर उपकुलपति डा.गिरी काठमाडौंमा अलमलिनु उचित नभएको बताए । उनले तत्काल धरान फर्किएर समस्याहरुको सामना गर्न र वार्ता अघि बढाउन उपकुलपतिलाई आग्रह गरे । ‘समस्याको फेस गर्न हिम्मतको अभाव हुनसक्छ, अर्को कुरा ज जस्को सहयोगमा भिसि हुनुभएको थियो, सरकारको फेरवदल भएकोले फेरि ती सहयोगीहरुको नेटवर्क फेरि फिट गराएर मात्र आउन खोजेको पनि हुनसक्छ,’दबाब सञ्जालका संयोजक डा.शर्मा भन्छन्,‘सरकारले वीपीलाई कमाईखाने अड्डा मानेर नियुक्ती गर्ने कारणले यो समस्या भएको हो । सरकारले कडा रवैया अपनाउदा समस्या हल हुन्छ, तर अहिले सरकार नै विलखबन्दमा छ ।’

यता, प्रतिष्ठानका निमित्त उपकुलपति एवं शिक्षाध्यक्ष प्रा.डा.गुरु खनालले गुरु खनालले प्रतिष्ठानकै कामको सिलसिलामा उपकुलपति डा.गिरी काठमाण्डौंमा रहेको बताए । काम सकिन लागेकोले आइतबारसम्म उपकुलपति डा.गिरी धरान आइपुग्ने उनको भनाई छ । ‘लगभग काम सकियो । आइतबार आइपुग्नुहुन्छ कि भन्ने छ । तलब खुवाउनै समस्या छ, त्यसैले बजेटको काममा उहाँ काठमाडौंमा बस्नु भएको हो,’ निमित्त उपकुलपति डा.खनालले भने ।

प्रकाशित: १० असार २०७८ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App