४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सुनसरीमा पूर्ण लकडाउनको तयारी

कोरोना संक्रमणको कारण संवेदनशील जिल्ला मानिएको सुनसरीमा कोरोना संक्रमित मृत्यु हुने क्रम बढ्दो छ। इनरुवामा मात्र एक साताको अवधिमा चार जनाको मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु भएसँगै जिल्लाभर नौ जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जनाए।

सुनसरीमा कोरोना संक्रमणले तीव्र रुप लिँदा पनि सुनसरीका विभिन्न नाका भएर नेपाल र भारत आउजाउ गर्ने क्रम रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयले सीमा नाकामा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरी आउजाउ नियन्त्रणका लागि खटिए पनि खुल्ला सीमा नाका कारण पूर्ण रुपमा आवतजावत सम्भव नभएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

प्रशासनले रोक लगाएर प्रहरी परिचालन गरेतापनि खुल्ला सीमानाकै कारण दसगजा क्षेत्रमा आइ पुगेपछि उनीहरु सहजै नेपाल प्रवेश गर्ने गरेका छन्। नेपाल प्रवेश गर्नेको रेकर्ड स्थानीय तहसँग छैन। सुनसरीमा ६५ किलोमिटर खुल्ला सिमाना पर्छ।  

कोरोनाको कारण उच्च जोखिम क्षेत्र भएकाले सुनसरीभर शुक्रबार राति १२ बजेदेखि वैशाख २४ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। तर, प्रशासन कार्यालयले अब केही दिनभित्रमै पूर्ण रुपमा लकडाउन गर्ने योजना रहेको प्रजिअ ढकालले बताए।

उनका अनुसार अहिलेको गतिमा कोरोना भाइरस संक्रमित र मृत्युको संख्या बढेमा स्थिति नियन्त्रण बाहिर जाने भएकाले पूर्ण रुपमा लकडाउन गर्ने योजना छ।

प्रकाशित: १८ वैशाख २०७८ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App