१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वागमती प्रदेशमा २ हजार ४ सय ५० आइसोलेसन बेड थपिँदै

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि वागमती प्रदेशमा आइसोलेसन बेड थप गर्ने भएको छ । कोभिड संकट व्यवस्थापन समितिले आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको बैठकले आइसोलेसन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ ।

समितिका अनुसार उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्‍चोक र सिन्धुलीमा २/२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५०/५० वटा आइसोलेसन बेड तयार गरिने जानकारी दिए । यसैगरी बैदेशिक रोजगारमा गई स्वदेश फर्कने नेपाली नागरिकहरुलाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकाम सम्म पुग्ने यातायातको व्यवस्था खर्च बैदेशिक रोजगार बोर्डले व्यहोर्नको लागि केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीय तहसम्मको यातायातको व्यवस्था खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ ।  

यसैगरी सम्बन्धित मुलुकले नै हवाइ यातायातको व्यवस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थलदेखि सम्बन्धित जिल्ला सदरमुकाम सम्मको यातायात खर्च प्रदेश सरकारले व्यवहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसंग अनुरोध गर्ने समितिले निर्णय मुख्यमन्त्री पौडेलले बताए । ‘कोभिड-१९ को संक्रमण बढ्दै जादाँ वागमती प्रदेशमा आइसोलेसन बेड थप गर्ने निर्णय गरेका छौँ’ मुख्यमन्त्री पौडेलले भने, ‘विदेशबाट आउने बागमती प्रदेशका नागरिकहरुलाई सुरक्षित रुपमा काठमाडौमा रहेको होल्डिङ सेन्टरदेखि जिल्ला सदरमुकामसम्म पुर्‍याउन आर्थिक व्यवस्थापनमा समन्वय पनि गर्नेछौँ ।’  

कोभिड-१९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू मध्ये केन्द्रबाट प्राप्त हुने औषधि तथा उल्लेख भएका सामाग्रीहरु बाहेक प्रदेशलाई आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन, प्रदेश स्तरमा पीसीआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने पनि समतिको निर्णय छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा व्यवस्थापनको कार्य जिल्ला कोभिड संकट ब्यबस्थापन समितिले स्थानीय तहसंग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नु पर्ने भएमा लागत अनुमान लगाएतका कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यवस्था मिलाउने, आइसोलेशन वार्ड संचालनको कार्य जिल्ला कोभिड संकट ब्यवस्थापन समितिलसंगको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

कोभिड -१९ बाट बढी मानिसहरु संक्रमण भएका जिल्लाका कोभिड संकट ब्यबस्थापन समितिले पूर्ण बन्दाबन्दी गर्न सिफारिस गरेमा संघीय सरकारको कोभिड संकट ब्यबस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी घोषणा गर्न सक्ने व्यवस्था भएकोले यस्तो अवस्था आइपरेमा सम्बन्धित जिल्लाको कोभिड संकट ब्यबस्थापन समितिले प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

वागमती प्रदेश कोरोना कोषमा जम्मा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि वागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरुमा १६ करोड ३१ लाख ५१ हजार रुपैयाँ र संघीय शसर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी जम्मा १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।

प्रकाशित: १३ असार २०७७ १६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App