७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

बनाएनन् सबै वडाले क्वारेन्टाइन

भारतसहित विभिन्न देशमा ठूलो सङ्ख्यामा जिल्लावासी रहेको भन्दै सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन निर्माण गर्ने भनिए पनि काम हुनसकेको छैन । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको जिल्ला समन्वय समितिमा भएको समन्वय बैठकमा दिइएको जानकारीअनुसार माडी नगरपालिकाबाहेक कुनै पनि स्थानीय तहले आवश्यक सङ्ख्यामा क्वारेन्टाइन बनाएका छैनन् ।  

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सात स्थानीय तहका ९८ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने सहमति भएको थियो । समितिको बैठकमा दिइएको जानकारीअनुसार भरतपुर महानगरपालिकाका २९ वडामध्ये सात वडाले मात्र क्वारेन्टाइनको व्यवस्था गरेका छन् । महानगरको वडा नं ६, ९, १०, १६, २६, २७ र २८ मा क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने अन्य वडाहरुमा व्यवस्था गरिएको छैन । ती वडामा पनि क्वारेन्टाइन निर्माणका लागि काम अघि बढेको महानगरले जनाएको छ ।

रत्ननगर नगरपालिकाले एक स्थानमा मात्रै क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ । सोह्र वडा रहेको नगरपालिकामा वडा नं १ मा रहेको बकुल्लहर माविमा मात्रै क्वारेन्टाइन स्थापना गरिएको हो । यस्तै कालिका नगरपालिकामा रहेका ११ वडामध्ये तीन वडामा मात्रै क्वारेन्टाइनको व्यवस्था गरिएको छ । कालिका नगरपालिकाले सबै वडालाई मिल्ने गरी व्यवस्थापन गरेको जनाएको छ ।  

खैरहनी नगरपालिकामा आठ वडामा क्वारेन्टाइनको व्यवस्था गरिसकिएको छ । तेह्र वडा रहेको यस नगरपालिकाको अन्य वडामा स्थानको पहिचानको काम भइसकेको र केही दिनमै शुरु हुने जनाइएको छ । यस्तै १३ वडा रहेको राप्ती नगरपालिकाले दुई वडामा क्वारेन्टाइनको व्यवस्था गरेको र अन्य वडामा स्थानको पहिचानको काम सम्पन्न भइसकेको र तत्काल व्यवस्थापन गर्ने प्रक्रियामा रहेको जनाएको छ ।  

माडी नगरपालिकाले १२ वटा क्वारेन्टाइन निर्माण गरिसकेको छ । नगरपालिकामा रहेका नौ वडामा ती क्वारेन्टाइनको व्यवस्था गरिएको हो । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा सात वडा रहेका छन् । ती वडामध्ये चार वडामा क्वारेन्टाइन स्थापना गरिएको छ भने अन्य स्थानमा पहिचानको काम भइरहेको बैठकमा जानकारी गराइएको थियो ।  

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार जिल्लाबाट बाहिरी जिल्ला र विदेशमा रहेका जनताको आधारमा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने हुन्छ । सोहीअनुसार स्थानीय तहलाई निर्देशन गरिएको उनले जानकारी दिए। स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक भवनको प्रयोग गरेर क्वारेन्टाइन स्थापना गर्न सकिने उनले बताए । हरेक वडामा आफ्ना जनता राख्नका लागि आफैँले क्वारेन्टाइन, खानालगायतको बन्दोबस्त गर्नुपर्ने हुन्छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै वडामा कम्तीमा एउटा क्वारेन्टाइन हुनुपर्ने र अपुग भएमा थप गर्नुपर्ने बताए । छिमेकी देश भारतबाट नेपाली फर्कने क्रम शुरु भएकाले व्यवस्थित क्वारेन्टाइन नभएमा समस्या भोग्नुपर्ने उनले बताए । बनिसकेका क्वारेन्टाइनमा मानिस राख्ने क्रम यसअघि नै शुरु भएको हो ।

प्रकाशित: ६ जेष्ठ २०७७ ०३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App