४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

भारतीय सुरक्षाकर्मीकै गाडीमा ल्याउँदै दशगजामा मानिस छाड्दै

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरेपनि रातीको समयामा भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई दशगजामा ल्याएर छाड्ने गरेका छन्। भारतको बम्बई, महाराष्ट्र लगायतका प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीहरुले आफ्नै गाडीमा हालेर उनीहरुलाई नेपाल भारत सीमा क्षेत्रमा छाड्ने गरेका हुन्। भारतको स्थानीय प्रहरीले छाडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल (एसएसबी)लाई भनेर उतै फिर्ता गर्ने गरेको छ। नेपालले आज फिर्ता गरेपनि अर्को दिन तिनै मानिस दशगजामा देखिनेगरेकाले नेपाललाई ठूलै समस्या आइपरेको नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएका छन्।

पाँच नम्बर प्रदेश, दुई नम्बर प्रदेश र सुदुरपश्चिम प्रदेशमा यस्तो समस्या रहेको छ। ‘राती भारततर्फको स्थानीय प्रहरीले ल्याएर छाड्छ हामीले एसएसबीलाई भनेर फिर्ता गर्यो भोलीपल्ट तिनै मान्छे आइपुग्छन्, राती गहुबारी, नाला, कुलेसाबाट पनि छिर्ने गरेका छन्, हामीलाई एसएसबीको सहयोग भएपनि स्थानीय प्रहरीले दु:ख दियो’, पाँच नम्बर प्रदेशमा खटिएका सशस्त्र प्रहरीका एक अधिकारीले भने। उनका अनुसार यो समस्या सीमा नाकामा झन बढ्दै गएको छ। गत साता २ नं प्रदेशको सर्लाहीमा यस्तै समस्या आएको थियो भने अहिले पाँच नम्बर प्रदेशमा सोही समस्या दोहोरिएको छ।

यसले गर्दा चोरबाटो छेक्न कठिनाई भएको छ। सशस्त्र प्रहरी बलको चेकपोष्ट आठ किलोमिटरको दुरीमा हुँदा चोरबाटो प्रयोग गरेर नेपाल भित्रन थालेपछि सशस्त्र प्रहरीले २४ सै घण्टा डिउटी बढाएको छ। प्रत्येक बोर्डर अब्जरबेशन पोष्ट(बीओपी) मा ५० जनालाई खटाएको छ। हाल १२० बीओपी भएपनि त्यो प्रयाप्त नहुँदा समस्या आइपरेको हो।

चोरबाटो हुँदै नेपाल प्रवेशको क्रम अहिले पनि रोकिएको छैन। भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा घोषित तथा अघोषित सबै नाकामा प्रहरीको उपस्थिति रहेको छ। घोषित नाका बन्द भएपछि लुकेर अघोषित नाकाबाट मानिसहरु नेपाल प्रवेश गर्न थालेपछि सम्बन्धित जिल्लाहरुले कडाई गरेपनि राती राती नेपाल प्रवेश नरोकिएको स्थानीयहरुले बताएका छन्। नेपालमा कोरोना संक्रमित मध्ये आधाभन्दा बढी भारतीय नागरिक रहेको र भारतमा संक्रमण फैलिन थालेपछि नेपाल प्रवेश गरेका थिए। प्रहरीका अनुसार कतिपय भारतीय नागरिक पनि त्यहाँ संक्रमण छल्न आफन्त भेट्ने बहानाबाजी गर्दै नेपाल आउन थालेका छन्।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सबैप्रकारका नाकामा सरकारी उपस्थिति रहेको दावी गरे। ‘मूख्य नाका तथा छोटी नाकमा सरकारी उपस्थिति छदैछ तर चोरबाटोबाट पनि प्रवेश गरेको समाचार आउन थालेपछि भने त्यहाँपनि सशस्त्र प्रहरीको निगरानी र उपस्थिति बढेपछि अहिले सबै सीमा नाका बन्द भएका छन्’, मन्त्रालयका प्रवक्ता शर्माले भने। उनका अनुसार सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पनि खटिएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार दुवै प्रहरीलाई जिल्लाका विभिन्न भागमा खटाएको छ।

भारतको युपीसँग सीमा जोडिएका बाहेक नेपाल भारतबीच काकरभिट्टा, विराटनगर वीरगंज र भीममदत्त नगरमा ठूला भन्सार नाका छन्। त्यस्तै पशुपतिनगर, गौरीगञ्ज, रंगोली, भान्टावारी, जनकपुर, जलेश्वर, मलंगहवा, गौर, ठोरीमा पनि छोटी भन्सार नाका रहेका छन्। यहाँबाट पनि नेपालमा सहज रुपमा विदेशीहरु नेपाल प्रवेश गर्न पाउँछन्। त्यसकारण पनि सकारले सबै प्रकारका चोरबाटोमा पनि प्रहरीको गस्ती र निगरानी बढाएको छ।

कैलालीको त्रिनगर, गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, दार्चुला तथा दुइ नं प्रदेशका ८ जिल्ला , पूर्वमा मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती जिल्लाहरुबाट खुला सीमाका कारण भारतबाट नेपाल तर्फ नागरिकहरु आवतजावत गर्ने भएकाले कडाई गरिएको गृहमन्त्रालयले जनाएको छ।

केही दिनअघि कानपुरको स्थानीय  प्रहरीले पक्राउ गरी नेपाल तर्फ ३५ जना नागरिकलाई नेपालतर्फ पठाइदिएको थियो। उनीहरुलाई सशस्त्र प्रहरीले उतै फर्कायो। तर फेरी पनि तिनै व्यक्तिहरु दशगजामा देखिएका थिए। सशस्त्र प्रहरीले सीमा यस्तो समस्या आएपछि गृहमन्त्रालयसँग पटक पटक छलफल गरेको थियो। सशस्त्र प्रहरी मूख्यालयले मन्त्रालयसँग २६५ वटा वीओपी भए सीमामा समस्या नआउने जनाएको छ। त्यसका लागि तत्कालै ८ देखि १० हजार जनशक्ति आवश्यक रहेको समेत जनाएको छ। गृहमन्त्रालय  जनशक्ति थप्ने विषयमा सकरात्मक भएपनि तत्काललाई हिमाली र पहाडी जिल्लामा रहेका सशस्त्र प्रहरीलाई सीमा प्रयोग गर्न लगाएको छ। त्यसो गर्दा पनि सशस्त्र प्रहरीले सीमाका आठ किलोमिटर भन्दा कम दुरीमा बीओपी राख्न सकेको छैन। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले सीमा नाकामा १हजार २ सय १३ स्थानमा अस्थायी चेक पोष्ट बनाएको दावी गरे। ‘अहिले अस्थायी चेक पोष्ट बनाइएको छ त्यहाँबाट पनि सीमा नाका कडाई गर्न सहज भएको छ’, उनले भने।  तर सीमा नाकामा खटिनेहरुको समस्या भने चर्को रहेको छ। हामीलाई ५० जनाको नफ्री दिएर आठ देखि १० किलोमिटरको दुरीमा खटाइएको छ हाम्रा जवानहरु २४ सै घण्टा खटिएका छन् तर चोरबाटोबाटा मानिसहरु छिर्दा अझै समस्या आएको छ भोलीका दिनमा यस्तै चोरबाटोले हामीलाई दःुख दिनेछ’, २ नं प्रदेशमा खटिएको एक सशस्त्र प्रहरी अधिकारीले भने। उनका अनुसार विभिन्न बहानमा नेपाल छिर्ने गरेका छन्। केही भएन भने खेती गर्न खेतला आएको भनेर पनि नेपाल आउने बहना बनाएको उनले दुखेसो गरे। 

हाल सशस्त्र प्रहरीले ३७ हजार जनशक्ति मध्ये करिब ३२ हजार फिल्डमा खटाएको छ। ‘नेपाल भारत र चीनको सीमा सुरक्षाकालागि मात्रै २४ हजार जनशक्ति खटिएका छन्, नेपाल भारत सीमा नाकामा  २२ हजार ७ सय खटिएका छन्,१, २,५ र सुदुरपश्चिम प्रदेशमा हाम्रो  बढी फोकस छ’, सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले बताए। सशस्त्र प्रहरीमा अब दश हजार दरबन्दी थपिए भारतीय सीमा सुरक्षा बलकै  हाराहारीमा बीओपी स्थापना हुने भएकाले चोरबाटोको समस्या समाधान हुने सशस्त्र प्रहरीको दावी छ। सशस्त्र प्रहरीले सीमा नाकालाई चुस्त राख्न भौतिक सामाग्री तथा सीसी टिभीको आवश्यकता पनि रहेको जनाएको छ। हाल उत्तरी सीमा नाकामा सशस्त्र प्रहरीले बीओपी स्थापना गर्ने तयारी गरेको छ। लिपुलेकमा ए लेभलको अस्पतालसतिह वीओपी स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्याएका बेला नेपाल भारत सीमा नाकामा कडाई गर्न जनशक्ति अभावले हम्मेहम्मे परेको छ।

प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुम्न कार्कीले दिएको जानकारी अनुसार  नेपाल भारत सीमानाकामा  थप कडाइ यसका लागि आठ जिल्लाका  १०६ सीमा नाकामा  पाँचहजार ७३० प्रहरी परिचालन गरिएको छ।

सीमानाकाबाट  नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको उनको दावी छ।  लक डाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो। भारतबाट स्वदेश फर्किनेको  प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ। उनका अनुसार लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ।  खुला सीमामा आवागम पूर्ण रुपमा रोक्न ठूलो संख्यामा सशस्त्र  प्रहरी परिचालन गरिएको छ। ८२ किलोमिटर सीमामा पूर्ण रुपमा आवागमन रोक्न सशस्त्र प्रहरी परिचालन भएको हो।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा र सुनौली बाहेक सवै नाका बन्द गरेपछि भारतको पश्चिम बंगालको रानीगञ्ज नाकासँग जोडिएको नेपालको काँकरभिट्टा नाकामा  चेकजाँचमा कडाई गरेको थियो। नेपाल प्रहरी तर्फपनि सीमाका प्रहरी खटिएका छन्। उनीहरुमा पनि जनशक्ति अभाव रहेको छ।

प्रकाशित: ११ वैशाख २०७७ ०४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App