४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बिपी प्रतिष्ठान उपकुलपतिमा ज्ञानेन्द्र गिरीको पुनर्बहाली

अदालतबाट सफाइ पाएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा डा. ज्ञानेन्द्र गिरी एक वर्षपछि पुनर्बहाली भएका छन्। प्राध्यापक पदको दुरूपयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भई निलम्बनमा परेका बिपी प्रतिष्ठानका उपकुलपति गिरीले सफाइ पाएका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ माघ ९ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि गिरी निलम्बनमा परेका थिए। विशेष अदालतका न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार गिरीसँगै विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई समेत सफाइ दिने फैसला गरेको थियो।

अदालतबाट सफाइ पाएपछि गिरीले बिपी प्रतिष्ठान आई बिहीबार पदबहाली गरेका छन्। उनलाई प्रतिष्ठानका पदाधिकारी, कर्मचारी तथा शिक्षकले स्वागत गरेका थिए।

पद बहाली गर्दै उपकुलपति गिरीले शिक्षक तथा कर्मचारीको जारी बढुवाको अन्तर्वार्तालाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनकै कार्यकालमा प्रतिष्ठानका शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया सुरु भएको थियो। ‘जुन काम मैले थालनी गरेको थिएँ, ईश्वरको कृपाले मैले नै पूरा गर्ने मौका पाएको छु, म खुसी छु,’ उनले भने, ‘विगतमा जे भयो, भयो। वर्तमानमा टेकेर भविष्य राम्रो बनाऔं। मार्गचित्र बनाएर संस्थालाई कसरी अघि बढाउने भनेर अगाडि बढौं।’

गिरीले आफूले अदालतबाट न्याय पाएकाले कसैलाई पनि अन्याय नगर्ने बताए। आफूसँग बदलाको भावना नरहेको भन्दै उनले एक वर्षमा संस्थाले पाएको दुःखबाट पाठ सिकेर अघि बढ्नुपर्ने पनि बताए।

‘एक वर्षमा भएका तितामिठा कुराबाट पाठ सिकेर अघि बढ्नुपर्छ। पदाधिकारीहरू एकढिक्का भएर काम गरौं, संस्थाको सम्पूर्ण विकासका लागि हामी मिलेर जानुपर्छ,’ उनले चिकित्सक, कर्मचारीलाई भने, ‘तपाईंहरूको सहयोग चाहिन्छ, मबाट कसैको अहित हुनेवाला छैन। म राजनीतिक दबाबमा पर्ने मान्छे होइन। न्याय पाएर आएको छु, सबैलाई न्याय हुन्छ।’

उपकुलपति गिरीसँगै मुद्दा दायर भएका विराट मेडिकल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले पनि विशेष अदालतबाट सफाइ पाएका छन्। डा. गिरीलाई प्राध्यापक पद अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयले सिफारिस गर्नसक्नेमा आफैंले नियुक्ति दिएर मतियारको भूमिकामा देखिएको भन्दै अख्तियारले विराट मेडिकल कलेजका अध्यक्ष कार्कीविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

यसैबीच, करिब आठ महिनादेखि प्रतिष्ठानको कायममुकायम उपकुलपतिको रूपमा कार्यरत प्रह्लाद कार्की विज्ञप्ति जारी गर्दै बिदाइ भएका छन्। उनले कामु उपकुलपतिको जिम्मेवारी दिने स्वास्थ्यमन्त्रीलाई आभार व्यक्त गरेका छन् भने सहयोग गर्ने प्रतिष्ठान परिवार, नागरिक समाज, राजनीतिक दल, सरोकारवाला सबैलाई धन्यवाद पनि दिएका छन्। 

प्रकाशित: १८ फाल्गुन २०८० ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App