७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पताल: भवन बन्यो, उपचार अनिश्चित

भेरी अस्पतालको हालै निर्माण सम्पन्न नयाँ भवन। तस्बिर: अर्जुन/नागरिक

निर्माण सम्पन्न भए पनि आवश्यक पूर्वाधार र जनशक्ति नहुँदा भेरी अस्पतालको नयाँ भवन प्रयोगमा आउन सकेको छैन। उक्त भवनमा तीन वटा ‘शल्यक्रिया कक्ष, क्याथल्याब, सिसियू, आइसियू, पोस्टअपरेटिभ वार्ड, डायलाइसिसलगायत कक्ष बनाउने अस्पतालको योजना छ। तर, आवश्यक पर्ने बजेट र मापदण्डअनुसार जनशक्ति उपलब्ध नहुँदा नयाँ भवनमा यी पूर्वाधार तयार गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले बताए।

‘अस्पतालका लागि सुविधायुक्त भवन निर्माणको काम त सम्पन्न भयो तर आवश्यक पर्ने बजेट र जनशक्ति नहुँदा यी पूर्वाधारलाई तयार गर्न सकिएको छैन,’ उनले नागरिकसँग भने।

अस्पताललाई आवश्यक पर्ने बजेट र कर्मचारी व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको अध्यक्ष शाहले सुनाए।

‘अस्पताल विकास समिति र अस्पताल प्रशासनले आफ्नो तर्फबाट मन्त्रालयमा आवश्यक पहल गरिरहेका छौं,’ शाहले भने, ‘मन्त्रीज्यूसहित सबै सकारात्मक हुनुहुन्छ तर चाँडो टुंगो लागेपछि समयमै नयाँ भवनबाट सेवा प्रवाह गर्न सहज हुन्थ्यो।’

अस्पतालका अनुसार नयाँ भवनमा तीनवटा शल्यक्रिया कक्ष, क्याथल्याब, सिसियु, आइसियु, पोस्टअपरेटिभ वार्ड, डायलासिसलगायत कक्ष तयार गर्न करिब ३० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सोही रकम बराबरको प्रस्ताव अस्पतालले मन्त्रालयसमक्ष पेस गरिसकेको जनाइएको छ। मन्त्रालयले उक्त रकमसहित आवश्यक जनशक्ति व्यवस्थापन गर्नेबित्तिकै नयाँ भवनबाट सेवा सुचारु गर्ने तयारी अवस्थामा अस्पताल रहेको कर्मचारी बताउँछन्।

अस्पतालले मन्त्रालयलाई तीन पटकसम्म पत्राचार गरिसकेको स्रोतले जनाएको छ। मन्त्रालयमा तीन पटकसम्म पत्राचार भइसकेको छ, मन्त्री र सचिवज्यूलाई पनि लिखित तथा मौखिक रूपमा पनि जानकारी गराएका छौं, यी विषयलाई प्राथमिकतामा राखेर चाँडै सेवा सञ्चालनमा सहयोग गरिदिन ध्यानाकर्षण गराएका छौं,’ ती कर्मचारीले भने।

 अस्पतालले हाल न्युरो सेवा, मुटुरोग (क्याथल्याब), नेफ्रो (मिर्गौला), युरो, ग्यास्ट्रोलगायत विशिष्टीकृत सेवा सञ्चालन गर्दै आएको छ।

अस्पतालले चाँडै एमआरआई सेवा सञ्चालन गर्ने तयारी पनि गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले नयाँ भवनमा आवश्यक पूर्वाधार जडान र जनशक्ति व्यवस्थापन मुख्य समस्या र चुनौतीको विषय बनेको बताए।

 अस्पतालले पुरानो भवनबाट दक्ष जनशक्तिमार्फत विशिष्टीकृत सेवा दिइरहे पनि उपकरण अभावले गुणस्तरीय सेवा दिन नसकिएको उनले सुनाए। अस्पतालमा लुम्बिनीका केही जिल्लासहित कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाबाट उपचारका लागि आउने गर्छन्।

हाल १६२ शय्याबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवनमा आवश्यक पूर्वाधार तयार भएपछि तत्कालै तीन सय शय्यामा पु¥याउने योजना बनाएको छ। निकट भविष्यमा पाँच सय शय्या क्षमताको अस्पताल बनाउन गुरुयोजना तयार भएर मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ।

उक्त गुरुयोजनाअनुसार अर्को अस्पताल भवन, कर्मचारी आवास गृहलगायत पूर्वाधार निर्माण गर्नका लागि दुई अर्ब ३३ करोड रूपैयाँ प्रस्ताव गरिएको छ।

अस्पतालले नयाँ भवनबाट हाल आपतकालीन र अर्थो वार्ड सञ्चालन गरिरहेको छ। चाँडै मेडिसिन विभाग (सिकलसेलसहित) पनि सोही भवनबाट स्थानान्तरण गर्ने अस्पतालको योजना रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रायमाझीले सुनाए।

उनका अनुसार अस्पतालमा हाल नेपाल सरकार र विकास समितिअन्तर्गत रहेका कर्मचारी कार्यरत छन्। अस्पतालमा नेपाल सरकारअन्तर्गत कुल १४७ दरबन्दी कायम रहेकामा ११५ जना मात्रै कर्मचारी कार्यरत छन्।

यीमध्ये १९ जना चिकित्सकको मात्रै दरबन्दी रिक्त रहेको छ। यस्तै अस्पताल विकास समितिअन्तर्गत १६३ जनाको दरबन्दी रहेकामा १५६ जनाको दरबन्दी रहेको छ।

यस्तै नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमअन्तर्गत ७६ जना कार्यरत छन्। जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयबाट बजेट नआए पनि विकास समितिले हालै १२ जना जनशक्ति थप गरेको अस्पतालले जनाएको छ।

प्रकाशित: १९ माघ २०८० ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App