५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

सांसद सुमनासँगको वाकयुद्ध, माफी नमागे अवकाश लिने डा.रामेशको चेतावनी

सामाजिक सञ्जाल एक्समा यतिबेला नेपालका एकजना वरिष्ठ मुटुरोग विशेषज्ञ (शल्यचिकित्सक) डा.रामेश कोइराला र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठको वाकयुद्ध उत्कर्षमा पुगेको छ।  

एकजना डाक्टरको अन्तर्वार्ताले दुई जनाबीचको विवाद उत्कर्षमा पुगेको हो। यतिसम्मकी डा.कोइरालाले आइतवारदेखि कुनैपनि शल्यक्रिया नै नगर्ने घोषणा गरिसकेका छन्।  

डा.कोइरालाले आफ्नो एक्स एकान्टमा लेखेका छन्, ‘प्रिय हृदयरोगको अपरेसन गर्न मलाई छान्ने महानुभावहरू,

मेरा बारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले नेपाल मेडिकल काउन्सिलमा स्पष्टिकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिकरूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतवारदेखि अपरेसन गर्दिन। अरूसँगै गराउनु ल! सरी!–रामेश’

उनको यो स्टाटस पछि चिकित्सकीय सेवा कति प्रभावित हुन्छ भन्ने आँकलन अहिले नै गरिसक्न अलि मिल्दैन। कारण, उनले दिनमा कति जनासम्मको मुटुको शल्यक्रिया गर्दै आएका छन् भन्ने हिसाबकिताब पछि गरौँला।  

भएको के हो ?  

अमेरिकास्थित मेयो अस्पतालको कार्डियोभास्कुलर मेडिसिनअन्तर्गत एओर्टिक सेन्टरका निर्देशक डा. मलख श्रेष्ठसँग एउटा अनलाइनल सञ्चारमाध्यमले ‘नेपालबाट किन बिदेसिइरहेका छन् डाक्टर?’ शिर्षकमा यहि माघ ५ गते अन्तर्वार्ता प्रकाशन गरेको छ। उनको उक्त अन्तरर्वाता रास्वपाकी सांसद सुमनाले एक्समा सेयर गरेकी छन्।

सांसद श्रेष्ठको उक्त पोस्टलाई डा.कोइरालाले रि ट्वीट गरेका छन्। जसमा उनले लेखेका छन्, ‘२००२ मा म गंगालालको सर्जरी विभागको संयोजक मात्र थिएँ र हाम्रामा सोसमय लोकसेवा वा मे.अ.बाटै जागिर गर्नु पर्दैनथ्यो। पछि डा.साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि। प्लिज्, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु। फर्किने हो?’

डा.कोइरालाको उक्त पोस्ट पछि सांसद श्रेष्ठले मेडिकल काउन्सिलमा उजुरी नै दिएकी छिन्। सांसद श्रेष्ठले डा.कोइरालाको पोस्टपछि ३ वटा विषयमा बुझि पाउँ भनि काउन्सिलमा दिएको उजुरी यस प्रकार छन्ः

१) हरेक १०० केटी बच्चाको अनुपातमा ११२ केटा बच्चा जन्मिने तथ्याङ्क सन् २०२२को जनगणनाले देखाउनुले लिङ्गभेदी भ्रुण हत्या भैरहेको छ भन्ने प्रष्ट हुन्छ। नेपाल मेडिकल काउन्सिलले स्त्री भ्रुण हत्याबारे के कस्तो अध्ययन सुरु गरेको छ? छोरालाई काखा र छोरीलाई पाखा गर्ने चलन रहेको यस्तो पुरुषप्रधान समाजमा यहाँहरूले क्लीनिकहरुले÷चिकित्सकरुले भ्रुण हत्या गरे÷नगरेको बारे के कस्ता अनुसन्धान वा अनुगमन गर्नु भएको छ? भ्रुणको लिङ्ग पहिचान कानूनी रुपमा अवैध हुँदा पनि यो कसरी सम्भव भैरहेको छ? अहिले सम्म यस्तो कसुरमा कति जनालाई के प्रकारको कारवाही भएको छ? कहिले र कुन ठाउँमा? विस्तृत विवरण उपलब्ध गराईदिनुहोला।

२) यहाँ संलग्न ट्वीटमा प्रतिष्ठित अस्पतालका एक वरिष्ठ डाक्टरले चार बिरामीको उपचारको क्रममा मृत्युलाई “सहज मान्दियौ“ भन्नु भएको सन्दर्भमा नेपालमा अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे बुझ्न चाहे । के यहाँ भनिएका चार मृत्युलाई साच्चै नै “सहज“ नै मानिएको हो? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुर्‍याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रष्ट पार्न अनुरोध छ।

३) स्वास्थ्यकर्मीको लापरवाहीले गर्दा बिरामीको स्वास्थ्य वा जीवन तलमाथि पर्न गएको भनेर बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा नेपाल मेडिकल काउन्सिलले कथित लापरवाही भएको हो वा होइन भनेर कसरी निक्र्यौल गर्छ? यो प्रक्रियामा आम मानिसले सजिलै उजुरी गर्न सक्छ? सम्बन्धित स्वास्थ्यकर्मीले स्वतन्त्ररुपमा आफ्नो बचाउ गर्न पाउछ कि पाउँदैन? यस्ता विवाद सुल्झाउन कस्तो समन्वयकारी भूमिका निर्वाह गर्छ भन्ने बारे बताउन हुन तथा यस्ता मुद्दामा हालसम्म कति वटा केस काउन्सिललाई उजुरी परेको छ र त्यस्समा काउन्सिलले के कस्तो कदम लिएको छ भन्ने तथ्याङ्क पनि उपलब्ध गराई दिन अनुरोध छ।

सांसद श्रेष्ठको उक्त उजुरी पछि डा.कोइरालाले आइतवारदेखि शल्यक्रिया नगर्ने घोषणा गर्दै अर्को ट्वीटमा लेखेका छन्, ‘अरुले भए मतलब गर्दिन थिएँ, रवीको सरी चैँ चाहिएकै थिएन, मुद्दा पनि बनाइँन्। यो मेरो विषयमा ऐन–नियम नजानेर मलाई जोडेर सरासर डिफेम गर्न सञ्जालमा समेत हालेर गरिएको सोधखोज थियो। सांसद सुमनाको सरी वा काउन्सिलको पत्रबिना म अपरेशन गर्दिन। बरु स्वेच्छिक अवकास लिन्छु।’

डा.कोइराला र सांसद श्रेष्ठको यो संवादले नेपालको चिकित्सा क्षेत्र नै यतिबेला तरङ्गित बनेको छ। भएको के हो? डा.कोइरालाले किन मृत्युलाई सहज मान्दियौँं भनेर लेखेका छन्? जस्ता प्रश्न यतिबेला सबैको मनमा उठिरहेको छ। अब काउन्सिले प्रतिक्रिया पछि मात्रै थप प्रस्ट हुनेछ। तर, डा.कोइरालाको शल्यक्रिया नै नगर्ने घोषणाले भने नेपालका कैयन मुटुरोगी जो शल्यक्रियाको पालोमा छन् उनीहरूको सेवा भने प्रभावित हुने निश्चित छ।

प्रकाशित: ११ माघ २०८० ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App