६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘एचआइभी सङ्क्रमितलाई स्वास्थ्य,शिक्षा र रोजगारीमा विभेद कायमै’

अन्र्तक्रियामा एचआइभी सङ्क्रमितहरूको समस्याबारे बताउँदै राष्ट्रिय एचआइभी तथा एड्स महासंघ कोसी प्रदेशका सुपरभाइजर रोमन राई (बाँया) र पत्रकार महासंघका अध्यक्ष जनकऋर्षि राई। तस्बिर :रोहित राई

एचआइभी सङ्क्रमित भनेर आफ्नो परिचय खुलाउँदै धरानमा सार्वजनिक भएको घटना दुई दशक बढी समय बितिसकेको छ।२०५८ सालतिर हेटौडाका नरेशलाल श्रेष्ठले धरानमा पहिलो पटक आफू सङ्क्रमित भएको सार्वजनिक गरेका थिए, र संक्रमितहरुप्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न अभियान थालेका थिए।

उनको सङ्क्रमितहरूलाई परिवार, समाज र राज्यबाट हुने विभेद अन्त्यको लागि निरन्तर बहस, पैरवी गर्दै बिते।श्रेष्ठले सङ्क्रमितहरूको हक अधिकारको लागी अभियान थालेको दुई दशक बित्दा समाजमा धेरै सकरात्मक परिवर्तन भएको छ।तर सङ्क्रमितहरूले अझै पनि विभेदको सामना भोग्नु परिरहेको गुनासो गरेका छन्।विश्व एड्स दिवस मनाउने पुर्वसन्ध्यामा बिहीबार धरानमा राष्ट्रिय एचआइभी तथा एड्स महासंघ कोसी प्रदेशले अन्र्तक्रिया आयोजना गरेको थियो । स्केल इनिसिएटिभको सहयोगमा आयोजित अन्र्तक्रियामा सङ्क्रमितहरूले शिक्षा, स्वास्थ्य र रोजगारीमा अझै विभेदको सामना भोग्नु परिहेको गुनासो पोखे।

महासंघका कोसी प्रदेशका सुपरभाइजर रोमनकुमार राईका अनुसार राज्यले नागरिकहरुलाई प्रत्याभूत गरेको गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य उपचार र रोजगारीमा एचआइभी सङ्क्रमित भएकै कारण वञ्चित हुनुपरेको छ।‘राज्यबाट नागरिकले उपभोग गर्न पाउनुपर्ने सेवासुविधाहरु सङ्क्रमित भएकै कारणबाट अहिले पनि वञ्चित हुनुपरेको छ । खास गरि शिक्षा, स्वास्थ्य सेवा र रोजगारीमा विभेद छ,’राईले भने,‘अहिले केन्द्र, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारले ठोस नीति बनाएर सम्बोधन गर्नुपर्छ।’

सङ्क्रमित विद्यार्थी सविना (नाम परिवर्तन)ले विदेश गएर उच्च शिक्षा हासिल गर्ने क्षमता र योग्यता भएर पनि जान नसकिने बताइन्।‘चाहेर पनि विद्यार्थीले विदेशमा पढ्न जान सक्दैन । उसँग क्षमता छ, योग्यता छ तर मेडिकल हुँदा एचआइभी पोजेटिभ आइदिन्छ, र जान पाउँदैनन्,’उनले पीडा पोखिन्,‘नेपालमै पनि आर्थिक रुपमा कमजोर भएकाहरूलाई धेरै समस्या छ । स्थानीय सरकारहरूले एचआइभी सङ्क्रमित बच्चाहरूलाई बजेट छुट्टाउन शिक्षामा सहयोग गर्न सक्छ भन्ने लाग्छ।

’छात्रवृत्तिबाट पनि एचआइभी सङ्क्रमित भएकै कारण वञ्चित हुन्छन् भने कतिपय विद्यालयमा अझै पनि सङ्क्रमितको छोराछोरी भएको वा सङ्क्रमित बच्चा भन्ने खुलेपछि बहाना बनाएर विद्यालय छोड्न लगाउने घटना पनि भइरहेको उनले बताइन्। 

कोसी प्रदेशमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र क्रोनोस्कपीबाहेक एचआइभी सङ्क्रमितहरूलाई सबै स्वास्थ्य उपचार सेवा उपलब्ध छ।तर, अन्य सरकारी अञ्चल र जिल्ला अस्पतालहरूमा सङ्क्रमितहरूलाई सबै उपचार सेवा उपलब्ध नहुँदा रिफर भएर बिपी प्रतिष्ठान धरानमै आउनुपर्ने बाध्यता छ।सङ्क्रमित महिलाले चिकित्सकको निगरानीमा सुरक्षित तरिकाले बच्चा जन्माउने विधि पिएमटिसिटी पनि प्रतिष्ठान र कोसी अस्पताल विराटनगरमा मात्र छ। 

अझ कोसी अस्पतालमा पिएमटिसिटी बाहेक सर्जरी, इण्डोस्कोपी, क्रोनोस्कोपी, डाइलाइसिस केही पनि उपचार सेवा एचआइभी सङ्क्रमितलाई छैन। ‘अझ अन्य जिल्लाको अस्पतालहरूमा त चेकजाँचबाहेक कुनै पनि उपचार सेवाहरू छैनन्, दुर्घटनामा परेको वा गर्भवती हाम्रो सङ्क्रमित साथीहरू रिफर भएर बिपीमा आउँदा कसैको बाटोमै ज्यान जान्छ,’ प्रदेश सुपरभाइजर राईले भने,‘सरकारको अस्पतालमा सङ्क्रमितहरूले उपचार सेवा पाउँदैनन्।’

एचआइभी सङ्क्रमितहरूले भोग्नुपर्ने अर्को प्रमुख समस्या हो रोजगारीमा विभेद । जागिर गर्ने क्षमता र योग्यता भएर पनि एचआइभी सङ्क्रमित भएकै कारणबञ्चित हुनुपर्छ । सङ्क्रमित भएको खुलेपछि रोजगार दिइँदैन भने काम गरिरहेको ठाउँबाट निकालिएको घटना धरानमै भएको सुपरभाइजर राईले बताए । ‘उपचार गर्ने डाक्टरले नै सेक्युरिटी गार्ड एचआइभी सङ्क्रमित हो भनेर बैंक मेनेजरसँग कुरा गरेपछि कामबाट निकालिए।

पछि हामीले कुरा गरेपछि पुनः काममा फर्काइएको थियो,’ उनले भने,‘आर्थिक रुपमा विपन्न, दलित, एकल महिलाहरूले रोजगारी नपाउँदा आर्थिक रुपमा झन् समस्यामा छन्।’ अप्रबासी, एचआइभी सङ्क्रमित बच्चाहरूको जन्म दर्ता, नागरिकता नहुँदा उपचार सेवा र रोजगारीमा समस्या भोगिरहेको उनको भनाई छ । एचआइभी सङ्क्रमणबारे सबै शिक्षित र जानकार भए पनि व्यवहारमा उतार्न नसक्दा सङ्क्रमितहरूले विभेद भोग्नुपरिहेको उनको भनाई। 

एड्स महासंघ र धरान पोजेटिभ ग्रुपको तथ्याङ्क अनुसार कोसी प्रदेशमा एचआइभी सङ्क्रमितहरूको संख्या ३५ सय रहेको अनुमान छ । ती मध्ये ३ हजार सङ्क्रमितहरू पत्ता लागेका छन् । एआरटि सेवा गरिरहेकाहरुको संख्या २४३५ रहेको छ । यस्तै, सुनसरी जिल्लामा मात्र १८ सयको हाराहारीमा एचआइभी सङ्क्रमितहरू भएको अनुमान छ।ती मध्ये १७५९ सङ्क्रमितहरू पत्ता लागेका छन्। ए.आर.टी. सेवन गरिरहेका सङ्क्रमितहरूको तथ्याङ्क ८९८ रहेको धरान पोजेटिभ समूहले जनाएको छ। 

प्रकाशित: १४ मंसिर २०८० १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App