६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

निर्वाह भत्ता वृद्धिपछि बिपीका इन्टर्न विद्यार्थीको आन्दोलन स्थगित

बिपी प्रतिष्ठानका इन्टर्न विद्यार्थी जीवन निर्वाह भत्ता वृद्धिको माग राखेर उपकुलपति कार्यालय घेराउ गर्दै।तस्बिर: रोहित-नागरिक

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरूको जीवन निर्वाह भत्तासहितका मागमा सहमति भएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

सहमति भएसँगै मंगलबारदेखि इन्टर्न विद्यार्थी इन्टर्नसिप पोस्टिङ भएको कार्यक्षेत्रमा फर्किएका छन्। प्रतिष्ठानका इन्टर्न विद्यार्थीले संघर्ष समिति गठन गरेर आइतबारदेखि निरन्तर उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका थिए भने विद्यार्थी कल्याण समाजले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो। प्रतिष्ठानका इन्टर्न विद्यार्थीले मासिक रूपमा जीवन निर्वाह भत्ता १८ हजार ५ सय रूपैयाँ पाउँदै आएका थिए। यसले जीवन निर्वाहमा गाह्रो भएको भन्दै प्रतिष्ठानमा लामो समयदेखि भत्ता वृद्धि गरेर मेडिकल अफिसरसरह पाउनुपर्ने माग इन्टर्न विद्यार्थीले उठाउँदै आएका थिए।

इन्टर्न विद्यार्थीका मागबारे प्रतिष्ठानले अध्ययन गर्न साउन १४ गते एक समिति गठन गरेको थियो। उक्त समितिले साउन १६ गते निर्वाह भत्ता २३ हजार उपलब्ध गराउनेसहित चार बुँदाको सिफारिस गरेको थियो। उक्त सिफारिस कार्यान्वयनमा आउन ढिलाइ भएपछि इन्टर्न संघर्ष समितिले साउन ३० गते चौबीसघन्टे अल्टिमेटम दिँदै आन्दोलनमा उत्रिएको थियो। डेंगी महामारीका बेला इन्टर्न विद्यार्थीले काम छाडेर आन्दोलन सुरु गरेपछि प्रतिष्ठान व्यवस्थापनलाई माग पूरा गर्ने दबाब बढेको थियो।

प्रतिष्ठानले इन्टर्न विद्यार्थीलाई सिफारिसबमोजिम २३ हजार निर्वाह भत्ता भदौ ३ देखि नै उपलब्ध गराए पनि लिखित सहमति भने मंगलबार मात्र भएको हो। उक्त सहमतिमा उपकलुपतिको निर्णयअनुसार आर्थिक वर्ष २०८०-०८१ को साउनदेखि लागु हुने गरी इन्टर्न विद्यार्थीको निर्वाह भत्ता मासिक २३ हजार भदौ ३ देखि नै लागु भइसकेको उल्लेख छ।

यस्तै, सिफारिसबमोजिम इन्टर्नसिप सुरु भएको पहिलो पाँच महिनाको बाँकी भुक्तानीका सम्बन्धमा आगामी कार्यकारिणी समितिको बैठकमा सकारात्मक छलफल गर्ने पनि सहमति भएको विद्यार्थी कल्याण समाजका अध्यक्ष ओम शान्ति रजकले जानकारी दिए। इन्टर्न विद्यार्थीलाई आन्दोलन गरेकै कारण पूर्वाग्रही व्यवहार नगरिने र आन्दोलनको समय इन्टर्नहरूको हाजिरीमा पनि प्रतिष्ठानले कुनै वाधा उत्पन्न नगराउने सहमति भएको छ।

यसैगरी, अध्ययन समितिको सिफारिसबमोजिम आगामी दिनमा चिकित्सक, शिक्षक र कर्मचारीको तलब वृद्धि हुँदा इन्टर्न विद्यार्थीको पनि भत्ता वृद्धि गर्नेबारे आगामी कार्यकारिणी बैठकमा छलफल गरिने सहमति पत्रमा उल्लेख छ। प्रतिष्ठानमा हाल १४२ जना इन्टर्न विद्यार्थी छन्। विद्यार्थी कल्याण समाजका अध्यक्ष रजकले सहमति भएपछि इन्टर्न विद्यार्थीले आन्दोलनका कार्यक्रम फिर्ता लिएर आआफ्नो कार्य क्षेत्रमा फर्किएको बताए। सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झा, विद्यार्थी कल्याण समाजका प्रतिनिधि ओम शान्ति रजक, इन्टर्न विद्यार्थीका प्रतिनिधि डा. प्रशान्त राईलगायतले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ६ भाद्र २०८० ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App