२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सन् २०२६ सम्ममा दादुरा निवारण गर्न खोप मगाइयो

खोपका लागि ‘गाभी’लाई पत्राचार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ  भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र पठाएको छ। 

मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा–रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गर्न थालेको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले अभियानका लागि गाभीसँग ९७ लाख मात्रा खोप माग गरिएको जानकारी दिए।

‘हाम्रो पत्रलाई गाभीले सकारात्मक रूपमा लिएको छ’, उनले भने, ‘गाभीबाट खोप आएपछि देशभरि नै खोप अभियान सञ्चालन गर्दछौँ।’

उनका अनुसार खोप नौ महिनादेखि पाँच वर्ष उमेर समूह र उच्च जोखिमका जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई प्रदान गरिने छ। 

भारतसँग सिमाना जोडिएका २१ र उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई उच्च सङ्क्रमित जिल्लाको रूपमा लिइएको छ। परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले देशभरि नै खोप सञ्चालन गर्नका लागि नेपालमा रहेको साधन स्रोत अभाव हुने भएकोले गाभीलाई खोपका लागि आग्रह गरिएको जानकारी दिए। 

‘देशभरि नै बालबालिकालाई खोप लगाउन हामीसँग भएको स्रोतसाधनले पुग्दैन’, उनले भने, ‘खोप उपलब्ध गराउनका लागि हामीले सरकारका तर्फबाट गाभीलाई औपचारिक पत्र पठाइसकेका छौँ। हाम्रो प्रस्तावमाथि छलफल भएर खोप स्वीकृत हुनका लागि पाँच–छ महिना लाग्छ  र त्यसको एक–दुई महिना खोप नेपाल आउन सक्छ । आर्थिक वर्षको अन्त्यसम्ममा खोप लगाउन सक्छौँ कि भन्ने हामीलाई लागेको छ।’

निर्देशक  लालले अन्य रोगजस्तो दादुरा नभएकोले चार–पाँच वर्षबिचको अन्तरमा देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए । 

‘देशभरि नै जोखिममा रहेका १६ जिल्लामा अरू खोप ८०/८५ प्रतिशत बालबालिकालाई लगाइयो भने अन्य १०÷१५ प्रतिशत बालबालिका पनि सुरक्षित हुन्छन् भन्ने छ’, उनले भने, ‘तर दादुरा खोप कमसेकम ९५ प्रतिशत बालबालिका लाई लगाउनुपर्दछ।’

नेपालको स्वास्थ्य सर्वेक्षण–२०२२  अनुसार ८० प्रतिशत बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका छन्। सरकारले पहिलो पटक सन् २०१९ मा र त्यसपछि सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो तर कोभिड–१९ महामारीका कारण  २०२३ मा निवारण गर्न नसक्ने जनाएपछि सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य लिएको छ। 

शाखाका प्रमुख डा गौतमले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्यका साथ यसै आर्थिक वर्षमा देशभरि नै खोप अभियान सञ्चालन गर्न थालिएको बताए। 

गाभीबाट प्राप्त भएको खोप बालबालिकालाई दुई मात्रा लगाइने छ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो। त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत सरकारले ९ र १५ महिनाको उमेर समूहका बालबालिकालाई सरकारले निःशुल्क दादुरा खोप दुई मात्रा प्रदान गर्दै आइरहेको छ। 

दादुरा निकै छिटो सर्ने सरुवा रोग हो। यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रूप पनि लिन सक्दछ।  

दादुरा रोग लाग्यो भने यसका जटिलता जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुनसक्छ। दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ। यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा असर गरेर  वृद्धि हुने र श्वास नली एवं अरू भित्री अङ्गमा समेत सङ्क्रमण गर्दछ।  दादुरा रोग सङ्क्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ।  रासस

प्रकाशित: ३१ श्रावण २०८० ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App