६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

धरानमा बल्ल सुरु भयो सर्च एण्ड डिष्ट्रोय अभियान

डेंगु नियन्त्रण गर्न मंगलबार धरान १५ मा सर्च एण्ड डिष्ट्रोय अभियान गर्दै मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बेघा लगायत।

दुई महिनादेखि धरानमा डेंगुको प्रकोप फैलिए पनि नियन्त्रणमा ध्यान नदिएको स्थानीय सरकारले नगरवासीको ज्यान गुम्न थालेपछि मात्र सर्च एण्ड डिष्ट्रोय अभियान सुरु गरेको छ।

डेंगु संक्रमण नियन्त्रणबाहिर भएर ज्यानसमेत जान थालेपछि अहिले स्थानीय सरकार सर्च एण्ड डिष्ट्रोज (खोज र नष्ट गर) अभियानमा होमिएको छ। धरानको वडा नं १७, ११, १८, १३, १५ मा सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको छ। शुक्रबार उपमहानगरपालिकाले सबै टोल विकास संस्था (टिएलओ)का अध्यक्षहरुलाई बोलाएर छलफल गरेको थियो भने सर्च एण्ड डिष्ट्रोय अभियान गर्न मेयर हर्क साम्पाङले आग्रह गरेका थिए।

सोमबारदेखि स्वास्थ्यकर्मीहरुसहितको टोली परिचालन गरेर वडा ११, १७, १३, १५ लगायत बढी प्रभावित क्षेत्रमा सर्च एण्ड डिष्ट्रोय अभियान भइरहेको छ। ‘वडाका जनप्रतिनिधिहरू, टिएलओ, जिल्ला जनस्वास्थ्य कार्यालय, केयर मेड र स्वास्थ्यकर्मीहरुसहित खोज र नष्ट गर अभियान वृहतरुपमा सुरु भएको छ,’ स्वास्थ्य महाशाखाका डेंगु फोकल पर्सन विजय साहले भने,‘पानी जमेको ठाउँमा लार्भा भेटिए नष्ट गर्ने र स्थानीयलाई सचेत गर्ने काम हुदैछ। लक्षण देखिएकोलाई तत्काल परीक्षण गरेर औषधी पनि वितरण गछौं।’

मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा आफै पनि सर्च एण्ड डिष्ट्रोय अभियानमा हिँडिरहेका छन्। पानी जम्न नदिनु भन्दै उनीहरुले सर्वसाधारणहरूलाई लार्भा भेटिए पानी पोखाउन पनि आग्रह गर्दै हिँड्दै छन्। धरानमा सन् २०१९ मा पनि डेंगुको महामारी फैलिएको थियो। त्यस बेला पनि वृहतरुपमा सर्च एण्ड डिष्ट्रोय अभियान गरेर डेंगु नियन्त्रणमा लिइएको थियो। यसपालि डेंगु नियन्त्रणमा स्थानीय सरकारले समयमै चासो नदिएको गुनासो आम सर्वसाधारणहरुले गर्दै आएका छन्।

धरानमा पछिल्लो समय डेंगु संक्रमित ७ जनाको उपचारको क्रममा निधन भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार गत जेठ २३ गते धरान १७ की ३० वर्षीय महिलाको डेंगुबाट मृत्यु भएको थियो। त्यसपछि, असार १५ गते धरान ११ की ४० बर्षीकी महिलाको मृत्यु भएको थियो। साउन २ गते डेंगु संक्रमित धरान ११ का ७९ वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया  महिलाको पनि निधन भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिए।

यसैगरि, साउन ३ गते धरान ५ की ५३ बर्षीया महिला, साउन ५ गते धरान १० का ५६ वर्षीय पुरुष र धरान २ का ७७ वर्षका पुरुषको पनि मृत्यु भएको थियो। ‘जेठ २३ मा मृत्यु भएको महिलालाई डेंगु मात्र थियो, अरू मृतक भने दीर्घ रोगी पनि थिए,’सह प्रवक्ता डा.पोखरेलले भने।

वीपी प्रतिष्ठानमा छुट्टै डेंगु वार्ड सञ्चालन

डेंगुका बिरामीहरूको चाप बढेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै डेंगु वार्ड पनि सञ्चालनमा ल्याएको छ। आकस्मिक कक्षमा डेंगुका बिरामीको चापले अन्य बिरामीलाई असर पुग्ने देखिएपछि प्रतिष्ठानले अलग्गै ३० बेडको डेंगु वार्ड सञ्चालनमा ल्याएको हो।

प्रतिष्ठानका सह प्रवक्ता डा.चुरामणी पोखरेलका अनुसार कोभिड अस्पतालमा रहेको ३० बेडलाई डेंगु वार्डको रुपमा प्रयोगमा ल्याइएको हो। कोभिडका बिरामी आउन छोडेपछि प्रयोगविहीन झैँ अवस्थामा रहेको बेडलाई डेंगु वार्डमा रूपान्तरण गरिएको हो। कोभिड अस्पतालमा एक सय बेड रहेको छ। आइतबारदेखि सञ्चालनमा आएको वार्डमा मंगलबार साँझ ६ बजेसम्मको तथ्यांकमा २१ जना बिरामी भर्ना भएका छन् भने अरू पनि भर्ना हुने क्रममा रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सीमा उपचारमा आएकामध्ये ५० प्रतिशत हाराहारी डेंगुकै बिरामी रहेको सह प्रवक्ता डा.पोखरेलले बताए। इमर्जेन्सीको क्षमता सय बेडको भएपनि डेढ सय भन्दा बढी बिरामी आउने गरेका छन्। यसअघि प्रतिष्ठान र उपमहानगरपालिकाको सहकार्यमा जी.ओ.पी.डी. भवन अघि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको थियो। असार २९ गतेदेखि सुरु भएको उक्त क्लिनिकमासाउन ९ गते (मंगलबार) सम्म १३ सय १९ जनाको परीक्षण गर्दा १०४८ जनामा डेंगु संक्रमण देखिएको छ। यो ७९.५प्रतिशतले संक्रमण दर हो। यसमा पनि १० प्रतिशत जति प्रतिष्ठान भित्रकै शिक्षक, कर्मचारी, विद्यार्थीलगायत संक्रमित छन्। आइतबार, सोमबार र मंगलबार मात्र डेंगु क्लिनिकको तथ्यांक हेर्ने हो भने ८५ प्रतिशत भन्दा बढी संक्रमण दर देखिएको छ।

प्रतिष्ठानका अनुसार डेंगु क्लिनिकमा उपचारका लागि आएका बिरामीहरू मध्ये सिकिस्त विरामीहरुलाई आई.सि.यू., इमर्जेन्सी र अन्य वार्डहरुमा उपचारार्थ भर्ना गरिनेछ। त्यसबाहेक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने डेंगुका बिरामीहरूलाई छुट्टै डेंगु वार्डमा भर्ना गरेर उपचार गरिने प्रतिष्ठानले जनाएको छ। हाल कोभिड अस्पतालमा सञ्चालनमा ल्याइएको डेंगु वार्डमा बिरामीको चाप र आवश्यकतालाई हेरेर भविष्यमा वेड क्षमता विस्तार गर्ने र सघन उपचार सेवा (आइ.सि.यू) समेत संचालन गर्ने योजना रहेको पनि सह प्रवक्ता डा.पोखरेलले जानकारी दिए। कार्यालय समय सकिएपछि दैनिकरुपमा कामु उपकुलपति प्रा.डा.प्रह्लाद कार्की, अस्पताल निर्देशक डा.जगतनारायण प्रसादले डेंगुका बिरामीको अवस्था र उपचार सेवाबारे निरीक्षण र जानकारी पनि लिइरहेको सह प्रवक्ता डा.पोखरेलले बताए।  

परीक्षण किटमा अत्यधिक मूल्य असुली

डेंगुको महामारी फैलिएसँगै धरानको निजी क्लिनिक एवं स्वास्थ्य संस्थाहरुले महँगोमा परीक्षण गरिरहेका छन्। जसले गर्दा गरिब तथा विपन्न सर्वसाधारणहरू थप आर्थिक मारमा परिरहेका छन्।

डेंगु परीक्षण वीपी प्रतिष्ठानमा निःशुल्क व्यवस्था छ। तर, अधिकांश बिरामीहरू प्रतिष्ठानसम्म पुग्दैनन्। नजिकैको मेडिकल तथा क्लिनिकहरुमा कम्तीमा पनि १५ सय रुपैयाँ डेंगु परीक्षणको शुल्क तिर्नुपरिरहेको बिरामीहरूको भनाइ छ। किटलाई मात्र १८० रुपैयाँ पर्ने उपमहानगरका फोकल पर्सन विजय साहले बताए। ‘यो प्रकोपको बेला हो, सबैले बुझ्नुपर्ने हो, तर कतिलाई यही मौका हो भन्ने पनि भएको छ,’उनले भने, ‘डेंगुको १ हजार र सिबिसि टेष्टको ५ सय लिइरहेको छ। तर किटको १८० रुपैयाँ मात्र पर्छ।’

उपमेयर अइन्द्रबिक्रम बेघाले अढाई सय हाराहारीमा किट पाउने भएपनि निजीमा महँगोमा परीक्षण गरिरहेको गुनासो सुनिएको बताए। उनले यो विषयमा छलफल भएको र स्वास्थ्य महाशाखामार्फत कडा अनुगमन गराउने पनि बताए। ‘१७, १८ सय रुपैयाँसम्म टेष्टको शुल्क लिइरहेको भन्ने सुनिएको छ। त्यो नलिनुपर्ने हो। यो विषयमा पनि छलफल भएको छ। स्वास्थ्य महाशाखालाई कडाईका साथ अनुगमन गराउँछौँ,’ उनले भने।  

प्रकाशित: ९ श्रावण २०८० १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App