७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘फाजिल कर्मचारी’ भनिएपछि स्वास्थ्यकर्मी तनावमा

फाजिल भनिएका स्वास्थ्यकर्मी न्यायको खोजीमा छलफल गर्दै। तस्बिर: पुष्पराज-नागरिक

कर्मचारी समायोजन ऐन २० को दफा ७, समायोजन-संशोधन र समायोजन मिलानअनुसार आएका गोदावरी नगरपालिकाका स्वास्थ्यकर्मीलाई ‘फाजिल’ कर्मचारी भनिएपछि उनीहरू न्यायको खोजीमा भौँतारिएका छन्।  ‘फाजिल’ शब्दमा राखी नगरपालिकाले नै साउन १ गतेदेखि तलबभत्ता खुवाउन नसक्ने भन्दै मन्त्रालय फिर्ता लैजान भनेपछि साउन १ गतेदेखि कहाँ जाने र हाजिर कहाँ गर्ने भन्ने अन्योल रहेको भन्दै त्यहाँ कार्यरत ४२ जना स्वास्थ्यकर्मी तनावमा रहेका हुन्।  

गोदावरी नगरपालिकाले काम गरेबापत ६ महिनादेखिको तलबभत्ता नदिनुका साथै साउन १ गतेदेखि कार्यालयमा हाजिर नहुन भन्दै पत्र पठाएको गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तदर्थ समितिका संयोजक हर्कबहादुर खड्काले बताए।  उनले भने, ‘हामी नेपाल सरकारको कर्मचारी समायोजन ऐन २०७५ को दफा ७ अनुसार समायोजन भई आएका हौं न कि आफ्नै राजीखुसीले कसैको तोकअनुसार आएका हौं। ’ आफूहरूलाई कोरोना महामारीमा रातदिन खटाउँदा केही नभनी काममा खटेको स्मरण गर्दै आज तलबविहीन गराएर ‘फाजिल’ कर्मचारी बनाइएको दुखेसो पोखे।  आफूहरू समायोजन भएर आएको यतिका वर्ष भइसक्दा पनि नियमित तलब पाउँदै आएको बताउँदै स्वास्थ्यकर्मी बसन्ती ताम्राकारले भनिन्, ‘तर माघ महिनादेखि भने हामीलाई तलब रोकिएसँगै साउनदेखि नै कार्यालय नआउन भनिएको छ। ’ आफूहरूले कोरोनामा ‘रिक्स’ लिएर उपचार गरेको प्रतिफल आज आएर ‘फाजिल’ भन्दै कार्यालयनै नआउन पत्र पाइयो। ’  

कर्मचारी समायोजन ऐनअनुसार समायोजन भई आएका ४२ जना स्थायी स्वास्थ्यकर्मीलाई ‘फाजिल’भन्दै उनीहरूलाई साउन १ गतेदेखि नआउन भनिएपछि उनीहरू न्यायको खोजीमा रहेका छन्।  ‘हामी अब न्यायको खोजीमा जान्छौं,’ निलिमा श्रेष्ठले भनिन्, ‘लोकसेवा आयोग पास गरेर आएका र एउटै टेबुलमा बसेर काम गरिरहेका हामीलाई विभेद गरिएको छ।  अहिले आएर हामीलाई नै फाजिल भन्दै कार्यालयमा नआउन भनिएको छ। ’  

अर्की स्वास्थ्यकर्मी निर्मलाकुमारी भट्टले आफूहरूलाई पालिकाबाटै तलबभत्ता खुवाउने भन्दै सहमति दिएर ल्याइए पनि अहिले आएर ‘फाजिल’ भन्दै अबदेखि कार्यालय नआउन पत्र थमाइएको बताइन्।  उनले भनिन्, ‘हामी अब कहाँ गएर हाजिर लगाउने ?’ अहिले तलब नपाए पनि हामीलाई दिइने प्रोत्साहन भत्तासम्म पनि दिएको भए गुजारा चल्ने बताउँदै स्वास्थ्यकर्मी कृति पाठकले भनिन्, ‘१५ प्रतिशत प्रोत्साहन भत्ता पनि दिइएन।  अहिले आएर कार्यालयमै नआउन भनियो। ’ नगरपालिकाले असार १७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेर साउन १ गतेदेखि लागु हुनेगरी दरबन्दीभन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्यतर्फका कर्मचारीलाई तलबभत्ता खुवाउन नसकिने भएको हुँदा मन्त्रालयमा उक्त कर्मचारीहरू फिर्ता पठाइएको छ।  

उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमलप्रकाश जोशीले गोदावरी नगरपालिकामा कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजन भई आएर काम गरिरहेका कुनै पनि कर्मचारीलाई यो या त्यो बहानामा हटाइनु गलत हो भन्दै त्यसका लागि स्थानीय र संघीय सरकारले सोच्नुपर्ने बेला आएको उनले बताए।  काम लगाएर पनि पारिश्रमिक नदिइनु अन्तर्राष्ट्रिय श्रम संगठनको धज्जी उडाएको अनुभूति भएको बताउँदै उनले भने, ‘नगरपालिकाले यथाशक्य कर्मचारीको रोकिएको तलब दिइनुका साथै उनीहरूलाई जुन ठाउँमा नियमानुसार सरुवा भएर आएका हुन्, त्यही अनुसार पदस्थापन गरिनुपर्छ।’ 

प्रकाशित: २२ असार २०८० ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App