८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

त्रिविमा अनावश्यक बुलिङ किन ?

केहि दिन अघि मात्र त्रिभुवन विश्वविद्यालयमा स्वतः करारको माग गर्दै त्रिवि सेवा आयोग, उपकुलपतिको कार्यालय, रेक्टर,रजिष्ट्रारको कार्यालय तथा सबै डिन कार्यालयहरुमा आंशिक शिक्षकहरुले तालाबन्दी गरेका थिए।

त्यसपछि विश्वविद्यालयका विभिन्न राजनीति दल निकट विद्यार्थी संगठनले  विश्वविद्यालय जस्ता प्राज्ञिक थलोमा स्वतः नभएर प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गरिनु पर्ने माग राख्दै यीनै सबै निकायमा थप तालाबन्दी गरे।

यसरी विश्वविद्यालयमा शिक्षक र विद्यार्थीले लगाएको पदाधिकारीसँग सहमतिपछि ताला एक सय ४५ दिनमा खुल्यो। यो ताला खुलेको महिनादिन नबित्दै फेरि विश्वविद्यालयमा तालाबन्दी भएको छ। जुनसुकै माग  पुरा गराउन अचेल  त्रिविका शिक्षक र विद्यार्थीले तालबन्दीको गलत संस्कार अपनाउँदै आएका छन्। यसले त्रिविमा पटकपटक बुलिग भइरहेको सरोकारवालाहरुको ठहर छ।

यस पटक भने सत्तापक्षकै विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। विश्वविद्यालयका कुलपति रहेको पार्टी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्याम्पस प्रमुखको नियुक्ति र परीक्षाको प्रश्नत्रमा भएको लापरबाहीको बिषयलाई लिएर डिन कार्यालय, कर्मचारी प्रशासन महाशाखा, लेखा शाखा   र रजिष्टार  कार्यालयमा असार २७ गतेदेखि तालाबन्दी गरेका छन। यसरी विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले आ-आफनो गर्नु पर्ने कर्तब्यलाई लत्याएर दलको झन्डामुखि त्रिभुवन विश्वविद्यालयमा अनावश्यक बुलिङ गरिरहेको शिक्षाविदहरुको निष्कर्ष  छ।  

हुनत विश्वविद्यालयका शिक्षकहरु पनि विश्वविद्यालय प्रति इमान्दार नभई निगाहामा दलबाट प्राप्त पदको  साटो दलकै कार्यकर्ता भएर विश्वविद्यालयमा काम गर्ने गलत संस्कार र विद्यार्थी पनि वद्यार्थीको हकहित तथा शैक्षिक सुधारको विषयबस्तु उठान गर्नुको साटो दलको कार्यकर्ता भएर  काम गर्ने गलत प्रवृतिका कारण विश्वविद्यालयमा अनावश्यक बुलिङ भइरहेको शिक्षाविद् प्रा.डा. विद्यनाथ कोइरालाको विश्लेषण छ।  

हालै त्रिवि उपकुलपति कार्यालयले कृषि तथा पशु विज्ञान अध्यया संस्थानको  रामपुरको खैरीनीमा रहेको रामपुर क्याम्पसको  प्रमुखमा अर्को ब्यवस्था नएभसम्मको लागि पुर्व प्रमुख मिलन सुवेदीलाई नै अर्को ब्यवस्था नभएसम्मलाई नियुक्ति गर्यो। यसमा नेबिसंघ रामपुर इकाई समितिले आपत्ति जनाउँदै डिनको कार्यालय र क्याम्पस प्रशासन कार्यालयमा आनिश्चतकालिन तालाबन्दी गरेको छ। साथै त्रिविले सम्पन्न गरेको ब्यवस्थापन र इकोनोमिक विषयका स्नातक तथा स्नातकोत्तर तहमा  प्रश्नपत्रमा गरेको लापरवाहीको छानविनको माग गर्दै नेविसंघले सबै निकायमा तलाबन्दी गरेको नेविसंघले जनाएको छ।  

शिक्षाविद् कोइरालाले विद्यार्थीले गरेका माग शैक्षिक हुन् कि अशैक्षिक, माग को र कुन निकायसँग सम्बन्धित छ? यी विषयमा कहिल्यै नसोचि विद्यार्थीले त्रिविमा निरन्तर अनावरशयक बुलिङ गरिरहेको औल्याए। यसैगरी उनका अनुसार शिक्षक पनि कम छैनन्। उनीहरुले पनि माग कसले पुरा गर्ने ? माग गर्दैमा सबै पुरा हुन्छ भने के ग्यारेन्टी? त्रिवि जनताको विश्वविद्यालय देशको ८० प्रतिशत शैक्षिक भार बोकेको विश्वविद्यालय भए पनि यसलाई राजनिति दल, तिनका शिक्षक कार्यकर्ता र विद्यार्थी कार्यकर्ताले सिध्याउन खोजेको प्रष्ट भएको उनको ठहर छ।  

‘कम पैसा तिर्नु पर्ने सस्तो शिक्षा उपलब्ध गराउने मन्दिर हो त्रिवि। यहाँ धेरै विद्यार्थी र धेरै शिक्षक छन्। हल्ला पनि बढीनै गर्छन्। यसले विश्वविद्यालयमा बुलिङ भइरहेको छ,’ शिक्षाविद् कोइरालाले औल्याए ‘विश्वविद्यालयको विद्यार्थीको पढ्ने, शैक्षिक हितमा आवाज उठाउने अनि कसरी अन्तराष्ट्रिय स्तरमा अब्बल बन्ने तर्फ हुनु पर्छ।’ कोइराला थप्छन् ‘तर होइन त्रिविका विद्यार्थी त आफनो दलका कार्यकर्ता कता कुन ठाउमा नियुक्ति गराउन तर्फ लाग्न थाले। यो गलत प्रबृति हो। यसैगरी शिक्षक पनि विश्वविद्यालयको हित भन्दा पनि कार्यकर्ता नियुक्ति गर्न थालेपछि त्रिवि बिग्रीन्दै गयो।’

यति मात्र होइन विश्वविद्यालयका शिक्षक प्रा.डा टंकनाथ धमलाका अनुसार विश्वविद्यालयका पदाधिकारी नियुक्ति पाउन नेताको दैलो धाउने, रकम बुझाउने गलत संस्कार  त्रिविमा बसेको कारण विश्वविद्यालय उभो लाग्न सकेन। उनले देशमा विगतमा भएका ठूला सरकारी संस्था पनि यही राजनितिकै कारण बन्द भएको अवगत गराउँदै यस्ते अवस्था रहे त्रिविपनि बन्द हुने अवस्थामा पुग्ने चेताए।

‘विगतमा हिमाल सिमेन्ट कारखाना,जनकपुर चुरोट कारखाना, भृकुटि कागज उद्योग,वीरगन्ज चिनी कारखाना, वीरगन्ज कृषि औजार,धागाा उद्योग बुटवल, हरिसिद्धि ईटा टायल कारखाना,बासबारी छालाजुत्ति,हेटौडा कपडा उद्योग र रोयल ड्रग लगाएत दर्जृर्नौ भन्दा बढी सरकारी उद्योगहरु यही राजनितिकै कारण बन्द भए, ’ शिक्षक प्रा.डा धमलाले भने ‘केहि  त्रिवि बन्द गराउन र निजी लाई पोस्न  तर्फ लागेको देखिन्छ। पंचायतकालदेखि हालसम्म त्रिविका पदाधिकारीहरु कहिले राजा त कहिले दलका नेताको निगाहाबाट पद पाउँछन्। विश्वविद्यालयलाई हाक्ने सक्ने स्पष्ट भिजन भएको हालसम्म कोहि आएनन्। ’उनले सुझाए ‘अब त्रिवि लगाएतका सबै विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति मापदन्ड बनाएर त्यसकै आधारमा हुनु पर्छ। अनि मात्र विश्वविद्यालयमा सुधार हुन्छ। आफुले अध्ययन अनुसन्धान गरि प्रतिस्पर्धाबाट पदामा नियुक्ति पाउँदा पदिय मर्यादा पनि कायम हुन्छ। प्राज्ञिक मयार्द पनि कायम हुन्छ।’

शिक्षाविद् मनप्रसाद वाग्लेले नेपाली उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरुको पाठ्यक्रम विश्वस्तरीय नभएकोले विद्यार्थीहरु कलिलै उमेरमा बाध्य भएर विदेश पलायनको अवस्था आएको औल्याए।  

‘एकातिर विश्वविद्यालयहरुमा दिनहुँ भइरहने बन्द हड्ताल तथा राजनीतिकरणले विद्यार्थीको समयमा कोर्ष पुरा हुन नसक्नु समस्या छ भने अर्को तर्फ हातमा शैक्षिक योग्यताको प्रमाणपत्र भए पनि बेरोजगारी बढेको बढै छ,’ शिक्षाविद् वाग्लेले भने ‘समयमा कोर्ष पुरा नभएपछि विद्यार्थीहरु अभिभावकमाथि भरनिर्भर हुदै गएका छन्। यसले उनीहरुमा निराशा जाग्दै गएको छ। हालै त्रिविमा शिक्षक र विद्यार्थीले लगाएको ताला १४५ दिनमा खुलेको छ। फेरि विभिन्न बहानामा तालाबन्दी भयो। ’उनले थपे ‘ निराशा जनक स्थितीका कारण देशका ठूला युवा जमात बिदेशीने अवस्थाले अबका दिनमा क्रमशः  नेपाली विश्वविद्यालयहरु बन्द हुने अवस्थामा पुग्न छन्।’

अनेरास्ववीयु केन्द्रिय कमिटि सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन बिष्टले प्रधानमन्त्री शेरबहादुर देउवानै कुलपति रहेको त्रिवि लामो समयदेखि तालाबन्दीको चक्रब्यहुमा फस्दै गएको जनाए। उनले समस्याको समाधान गर्न विश्वविद्यालयमा छलफल र वार्ताबाट गर्न सक्ने हुदा हुदै पनि तालाबन्दीको बाटो शैक्षिक उन्नयकोलागि  बाधा भएकोले आफुहरु त्यसको विराधेमा रहेको प्रतिक्रया दिए।  

‘अनेरास्वीयुले त्रिवि केन्द्रीय कार्यालयमा आइतबार र सोमबार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवालाई  उपकुलपति प्रा.डा धर्मकान्त देवकोटा मार्फत बुझाई सकेको छ,’अनेरास्ववीयु इन्चार्ज बिष्टले भने ‘लामो समयदेखि विश्वविद्यालय तालाबन्दीको चक्रब्युहमा फसेको छ। ’उनले अवगत गराए ‘सार्वजनिक शिक्षालाई खुइल्याएर निजीकरणलाई पोष्न र सरकारी मुखुण्डो ओढेर निजी स्वाथए पुरा गर्न चाहने सिमित दलालहरुबाट त्रिविलाई आक्रन्त पार्ने काम अनेरास्ववीयुलाई मान्य हुदैन।’

उता नेविसंघका अध्यक्ष दुजंग शेर्पाले त्रिविका पदाधिकारीहरुले निजी स्वार्थमा त्रिविका विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम गर्दै आएकोविरुद्ध नेविसंघको आन्दोलन भएको जनाए। उनले त्रिविका पदाधिकारीबाट परीक्षा जस्तो संवेदनसिल विषयमा पटक पटक चरम लापारवाही हुदै आएको भए पनि त्रिविका जिम्मेवार पदाधिकारीहरु मौन बसेकोमा नेविसंघ आक्रोसित बनेको जनाए।

‘इकोनोमिक विषयमा प्रश्नपत्रमा भएको लापारवाही छानविन गर्न डा. घनश्याम भट्टराईको संयोजकमा बनेको समितिले अध्ययन गरि प्रतिवेदन त्रिविलाई बुझाइसकेको छ। तर त्रिविले अझै सार्वजनिक गरेको छैन,अध्यक्ष शेर्पाले भने ‘यसैगरी बिबिए तर्फको परीक्षामा मोडेल नेपाल कलेजको प्रिबोर्ड परीक्षामा सोधिएको प्रश्न त्रिविका शिक्षकले त्रिविका अन्तिम परीक्षामा सोधे के यो विद्यार्थीको भविष्यमाथि खेलबाड होइन रु यही विकृतिको विरुद्ध नेविसंघको तालाबन्दी हो।’यति मात्र होइन उनले त्रिविका पदाधिकारी विद्यार्थीको परीक्षाको सवालमा संवेदनसिल नबने कडा आन्दोलनमा नेविसंघ उत्रने चेतावनी समेत दिए।

‘नेविसंको आन्दोलनले विद्यार्थीको पठनपाठन र परीक्षामा कुनै असर पर्दैन,’उनले भने ।

उता त्रिविका शिक्षा अध्यक्ष शिवला भूषालले परीक्षामा प्रश्नपत्र दोहरिएको र एक निजि कलेजमा सोधिएको प्रश्न त्रिविको अन्तिम परीक्षामा सोधिएबारे छानबिन समितिले अध्ययनको काम गरिरहेको बताए।  

‘इकोनोमिकको परीक्षामा प्रश्नपत्र दोहरिएको र ब्यवस्थापनको परीक्षामा एक निजी कलेजमा प्रिबोर्डमा सोधिएको प्रश्न त्रिविको परीक्षामा सोधिएको विषय बाहिरिएसँगै त्रिविले छानबिन समिति वगठन गरेको छ ,’शिक्षाध्यक्ष भूषालले  नागरिकसँग भने ‘समितिले काम अघि बढाएको छ। ’उनले थपे ‘ दोषिलाई कारावही हुन्छ।’

प्रकाशित: ६ भाद्र २०७९ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App