१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

पालुङटारको अमरज्योती माविलाई १० थान कम्प्युटर सहयोग

विद्यालयलाई कम्प्युटर सहयोग गर्दै। तस्बिरः नागरिक

गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको छ। पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई इन्गेज नेपालले १० थान कम्प्युटर सहयोग गरेको हो।

विद्यालयका पूर्व विद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो। कम्प्युटर विद्यालयका पूर्व विद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगर प्रमुख इञ्जिनियर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउने नगरपालिकाको योजना रहेको उनले बताए।

प्राचार्य देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्प्युटरले ठूलो सहयोग पुग्ने बताए। साथै उनले विद्यार्थीको सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गरे। इन्गेज नेपालका कोषाध्यक्ष खेमराज सेढाइँले राजधानीबाट टाढा रहेको सरकारी विद्यालयलाई अमेरिकामा बसेर सहयोग गर्न पाउँदा आफूहरुलाई साह्रै खुसी लागेको बताए। इन्गेज नेपालले स्थापनाको छ वर्षको अवधिमा छ करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेको उनले बताए। कार्यक्रममा भूगर्भविद् डा देवकोटाले अहिलेका विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्प्युटरले सहयोग पुग्ने बताए।

विद्यालयलाई ५० कम्प्युटरसहितको सुविधा सम्पन्न प्रयोगशाला निर्माणमा लागेको प्राचार्य देवकोटाले जानकारी दिए। उक्त विद्यालय पालुङटार नगरपालिकाभित्रकै एक मात्र नमूना तथा आवासीय विद्यालय हो। विद्यालयमा विशेष शिक्षा अन्तर्गत लामो समयदेखि न्यून दृष्टिविहीन भएकालाई पनि पठनपाठन गराउँदै आएको छ। उक्त विद्यालयमा हाल सात सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् भने ३२ शिक्षक कार्यरत रहेको सो विद्यालयका प्रधानाध्यापक देबकोटाले बताए।

प्रकाशित: १४ कार्तिक २०७८ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App