१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

संस्कृत विश्वविद्यालय सभाद्वारा १ अर्ब १४ करोड बजेट पास

नेपाल संस्कृत विश्वविद्यालयको बालुवाटारमा बसेको ७३ औं सभाले विश्वविद्यालय ब्यवस्थापन तथा संचालनको लागि एक अर्व १४ करोड रकमको बजेट पास गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विश्वविद्यालय सभाले समयअनुकुलको नयाँ विषयहरु पठनपाठनको लागि पनि अनुमति दिएको छ।  

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलिको अध्यक्षतामा बसेको सभाले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी बास्तु इन्जिनियरिङ, आयुर्वेद फारमेसी, बैदिक कृषि, बिबिध शास्त्र र कौटिल्य अर्थ शास्त्र पठनपाठन गराउन स्वीकृति दिएको उपकुलपति यादब लामिछानेले बताए।  

अचेल घरदेखि कार्यलयलगाएतसम्मका निर्माण गर्दा र आन्तरिक सरसजावट गर्दा समेत बास्तुलाई अनिवार्य रुपमा ख्याल गर्ने गरिएको छ। तर यो क्षेत्रमा जनशक्ति नभएकोले ज्योतिषहरुले नै यी काम गर्दै आएको विश्वविद्यालयले जनाएको छ। त्यही भएर विषय विज्ञनै बास्तु शास्त्री उत्पादन गर्ने लक्ष्यसहित संस्कृत विश्वविद्यालयले प्राज्ञिक स्तरमै बास्तु शास्त्रका जनशक्ति उत्पादन गर्न चार वर्षे स्नातक कोर्ष संचालन गर्ने तय गरेको हो। यसका सबै तयारी गरिसकेको उपकुलपति लामिछानेले जनाए।  

तर आयुर्वेद फारमेसीको लागि सभाले पास गरे पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगको अनुमति लिनको लागि विश्वविद्यालयले सबै कागजात आयोगमा पठाइसकेको छ। ‘मेडिकल विषय पठनपाठन गराउन सभाले मात्र पास गरेर हुँदैन। आयोगले विद्यार्थी संख्या, भौतिक पूर्वाधार, प्राज्ञिक दक्षता तथा शुल्क लगाएतका विषयमा अनुमति दिएपछि मात्र विद्यार्थी भर्ना गर्न मिल्छ,’ उपकुलपति लामिछानेले भने ‘नेपालमै आयुर्वेद फारमेसी पटनपाठन सुरु भएमा अब भारतिय कम्पनीको चेवनप्राश उत्पादन नेपालमै हुन्छ।’ उनले थपे ‘भारतीय कम्पनीले उत्पादन गरेको आयुर्वेदका चवनप्राशलगाएतका गुणस्तर परीक्षण गर्ने स्तरीय जनशक्ति समेत नेपालमै उत्पादन गर्न सकिन्छ।’ यति मात्र होइन प्राचिनकालमा कौटिल्यको अर्थ शास्त्र नीतिले धेरै सफलता पाएकोले हालको अर्थ शास्त्रलाई थप स्तरीय बनाउन र आधुनिक अर्थशास्त्रसँग जोड्न कौटिल्य अर्थ शास्त्रको पठनपाठन संस्कृत विश्वविद्यालयले सुरु गर्न लागेको उनले जनाए।

‘बेदमा कृषिबारे उल्लेख भएका विषयबस्तुहरुलाई अध्ययन गरी त्यसलाई आधुनिक कृषिसँग जोड्न विश्वविद्यालयले बैदिक कृषि कोर्ष सुरु गर्न लागेको हो,’ उपकुलपति लामिछाने भन्छन् ‘बास्तु क्षेत्रको जनशक्तिको माग बढी आएकोले बास्तु इन्जिनियरिङ कोर्ष अगामी शैक्षिक सत्रबाटै सुरु हुन्छ।’ उनले थपे ‘सबै विषयहरुमा ४० विद्यार्थी मात्र भर्ना लिने हो। पाठ्यक्रम तयार भइसकेको छ भने अध्यापन गराउने जनशक्ति पनि विश्वविद्यालयसँग छ।’ आयुर्वेद फारमेसीको पठनपाठन गराउन विदेशमा अध्ययन गरेर नेपाल आएका एमडी र पिएचडि होल्डरनै रहेकोले कोर्ष तयार भइसकेको उपकुलपति लामिछाने बताउँछन्। ‘आयुर्वेद फारमेसी पठनपाठन सुरु भएमा नेपालमै भएकै जडीबुटीहरु प्रयोग गरी औषधि बनाइन्छ,’ उनले थपे ‘हाम्रा उत्पादित औषधिले विश्वबजारमा बजार पाउँछन्।’ 

उनले थपे, ‘कुलपति ज्यूले पूर्वीय भाषा, संस्कृति, आहार, विहारको जगेर्ना गर्न नेपाल संस्कृत विश्वविद्यालयको अति महत्वपूर्ण भूमिका रहेकोले यसको ब्यवस्थापनमा सरकारले हर सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ।’ यति मात्र होइन कुलपतिले संस्कृत विश्वविद्यालयको सहकार्यमा विश्वसंस्कृत सम्मेलन गर्ने सरकार तयार रहेको र त्यसको तयारीमा लाग्न समेत आग्रह गरेका छन्।

प्रकाशित: १ पुस २०७७ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App