४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

त्रिवि उपकुलपति नियुक्तिमा माओवादीभित्रै दाउपेच

प्रधानमन्त्रीको ‘रोजाइका पात्र योग्यताक्रममा दोस्रो’

त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट समितिले उपकुलपतिमा नियुक्तिका लागि तीनजनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सिफारिस गरेको तीन दिन हुँदा पनि नियुक्ति हुन सकेको छैन।

समितिले तीनजनाले प्राप्त गरेको नम्बरसहित सिफारिस गरेको हो। स्रोतका अनुसार प्राप्तांकका आधारमा पहिलोमा चित्रबहादुर बुढाथोकी (७८ नम्बर), दोस्रोमा केशरजंग बराल (७६ नम्बर) र तेस्रोमा टंकनाथ धमला (७५ नम्बर) छन्। छनोट समितिले प्राप्तांकसहित नाम सिफारिस गरेपछि कुलपति एवं प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेको स्रोतको दाबी छ।

कुलपति एवं प्रधानमन्त्री दाहाल योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन चाहन्छन् तर तीनैजनाको प्राप्तांक सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनी अप्ठेरोमा परेका हुन्। तीनजनामा सबैभन्दा बढी अंक प्राप्त बुढाथोकी उपकुलपति नियुक्त भएको मंगलबार बिहान सामाजिक सञ्जालमा आयो।

उपकुलपतिको नियुक्ति नभए पनि प्राप्तांक बाहिरिएकाले पहिलो नम्बरका बुढाथोकी नै उपकुलपति हुने आधारमा सामाजिक सञ्जालबाट उनलाई बधाई दिइएको हो। बुढाथोकी उपकुलपति नियुक्त भएको कुरा सामाजिक सञ्जालमा आएपछि कुलपति एवं प्रधानमन्त्री दाहालले नियुक्ति प्रक्रियामा रहेको बताएका छन्।

स्रोतका अनुसार पहिलो र दोस्रो नम्बरमा रहेका बुढाथोकी र बराल प्रधानमन्त्री दाहालले नेतृत्व गरेको दल माओवादी केन्द्रनिकट हुन्। छनोट समितिले सिफारिस गरेकामध्ये कसलाई उपकुलपति बनाउने भन्ने विषयमा सोमबार प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, वर्षमान पुन, छनोट समितिका संयोजक एवं शिक्षामन्त्री अशोक राई, माओवादी केन्द्रनिकट प्राध्यापकहरूबीच छलफल भएको थियो।

‘प्रधानमन्त्री दाहालले छनोट तथा सिफारिस समितिका संयोजक एवं सहकुलपति अशोक राईलाई तपार्इंले नम्बरसहित सिफारिस गरेर संकटमा पार्नुभयो। बरु नाम मात्र सिफारिस गरेको भए हुने,’ छलफलमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको रोजाइमा दोस्रो दुई नम्बरका उम्मेदवार केशरजंग बराल रहेछन्। यसकारण प्रधानमन्त्रीले आफू संकटमा परेको भन्नुभयो।’

तर छलफलमा सहभागी पौडेल र पुनले भने खुला प्रतिस्पर्धाबाट छनोट गरिएकाले योग्यताक्रम मिच्न नहुनेमा जोड दिएको स्रोतको दाबी छ। उनीहरूले योग्यताक्रममा पहिलो अंक प्राप्त गरेका चित्रबहादुर बुढाथोकीलाई नै उपकुलपति नियुक्त गर्नुपर्नेमा जोड दिएको स्रोतले बतायो।’

तर मंगलबार माओवादीनिकट प्राध्यापक संगठनले प्रधानमन्त्रीलाई भेटेर बराललाई उपकुलपति बनाउन दबाब दिएको छ। माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले योग्यताक्रममा दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएको स्रोतको दाबी छ।

सामाजिक सञ्जालमा भने योग्यताक्रम मिच्न नहुने र बुढाथोकीलाई उपकुलपति बनाउनुपर्ने धारणा आएका छन्। माओवादी केन्द्रका नेता पौडेललगायतले योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकी र माओवादी केन्द्रनिकट प्राध्यापक संगठनले दोस्रो नम्बरमा रहेका बराललाई उपकुलपति बनाउन दबाब दिएपछि कुलपति एवं प्रधानमन्त्री दाहाल सकसमा परेको स्रोतले बतायो।

छनोट समितिले कार्यविधिले तय गरेको १०० पूर्णांकमा बुढाथोकीले ७८, बरालले ७६ र धमलाले ७५ अंक प्राप्त गरेका भन्दै सोही आधारमा नाम सिफारिस गरेको हो।

योग्यताक्रममा एक नम्बरमा रहेका बुढाथोकीले योग्यताक्रम मिच्न चलखेल भइरहेको भन्दै चिन्ता व्यक्त गरे। उनले खुला प्रतिस्पर्धाबाट ७८ अंकसहित आफू मेरिट सूचीको एक नम्बरमा परी सिफारिस भए पनि उपकुलपति भइहाल्नेमा विश्वस्त हुन नसकेको बताए।

उनले उपकुलपति नियुक्तिमा भइरहेको राजनीतिक दाउपेचले समस्या निम्त्याएको जिकिर गरे। ‘खासमा सरकारले भागबन्डामै शिव भुसाललाई नै उपकुलपति बनाउन खोजेको थियो। तर उनी प्रतिस्पर्धामा असफल भएपछि अब केशरजंग बराललाई उपकुलपति बनाइदिन कुलपतिलाई निरन्तर दबाब दिइएको जानकारी मैले पाएको छु,’ बुढाथोकीले नागरिकसँग भने, ‘माओवादी केन्द्रनिकट केही प्राध्यापकले प्रधानमन्त्रीलाई भेटेरै मलाई भन्दा दोस्रो नम्बरका बराललाई उपुकलपति बनाउन दबाब दिइरहेका छन्। मूल्यांकनमा म एक नम्बरमा सिफारिस भएको छु। तर दुःखको कुरा मभन्दा कम अंक ल्याउनेलाई उपकुलपति बनाउन कुलपतिलाई दबाब दिइएको छ। खै के हुन्छ, थाहा छैन।’

योग्यता सूचीमा तेस्रो स्थानमा रहेका धमलाले समितिले सिफारिस गरेका तीनैजना उपकुलपति बन्न योग्य रहेको बताए। ‘अब बल प्रधानमन्त्रीज्यूको हातमा छ। तीनजनामध्येमा उपयुक्त लागेको एकलाई उपकुलपति नियुक्त गर्न सक्ने अधिकार उहाँसँग छ,’ धमलाले भने ।

प्रकाशित: ९ फाल्गुन २०८० ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App