५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

विद्यालय शिक्षा सुधार गर्न समावेशी कार्यदल, स्थानीय तहलाई परार्मश सेवा दिईने

लैंगिक मैत्री र समावेशी वातावरण सृजना गरी विद्यालय शिक्षालाई सुधार गर्न ताप्लेजुङमा समावेशी कार्यदल गठन गरिएको छ। जिल्ला शिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका छिरिङ लामाको संयोजकत्वमा समिति गठन गरिएको हो।

युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहने छन्।  

युडब्लूएस नेपालले फुङलिङ नगरपालिका सहित पाथीभरा याङ्वरक गाउँपालिका,मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकामा कार्यक्षेत्र बनाएको छ।  

निकट भबिष्यमै ताप्लेजुङका सबै स्थानीय तहहरुमा सहकार्यमा कार्यक्रम गर्ने योजना रहेको युडब्लूएस नेपालका अध्यक्ष खेमराज खड्काले जानकारी दिए। कार्य आरम्भ गरेको दुई वर्षमै युडब्लूएस नेपालले विद्यालय शिक्षा सुधारका लागि यो क्षेत्रमा काम गर्ने अन्य निकायलाई समेत समेटेर कार्यदल बनाएको छ।  

कार्यदलमा शिक्षा क्षेत्रमा काम गर्दै आएका ह्युमन् प्राक्टिस फाउण्डेसन(एचपीएफ) र ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालका प्रतिनिधि समेत सदस्य रहने छन्। शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिईएको छ।  

कार्यदलले समावेशी तथा समतामूलक र गणस्तरीय विद्यालय शिक्षाका लागि स्थानीय सरकारलाई परार्मश तथा सल्लाह दिने जिम्मेवारी रहने युडब्लूएस नेपालका वरिष्ठ सचार अधिकृत निर्मला अधिकारीले जानकारी दिईन्।  

युडब्लूएस नेपालले अहिले संखुवासभा, गुल्मी र ताप्लेजुङलाई कार्यक्षेत्र बनाएको छ। धनकुटा सहितका केहि जिल्लामा कायक्षेत्र थप गरी उसले आगामी पाँचवर्ष भित्र ९० वटा सामुदायिक विद्यालयको भवन निर्माणसहित आधुनिक प्रविधिमैत्री सिकाई विधि विकास गर्ने घोषणा पनि गरेको छ।  

युडब्लूएस नेपालले गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षा कोठा, प्रविधि सहितको सिकाई,खेलकुद सामग्रीसहितको विद्यालय, क्षमता सहितको जनशक्ति र विद्यार्थी सहयोग कार्यक्रमलाई एकसाथ प्रयोगमा आउने बताएको हो।  

ग्रामीण, दुर्गम,पछाडि पारिएका र सीमान्तकृत बालबालिकालाई गुणस्तरीय तथा प्रभावकारी शैक्षिक पहुँचमा ल्याउन संस्थाले अभियान अघि बढाएको खड्काले बताए। उनले आफूहरुले स्थानीय तहसंग र सम्वन्धित सरोकारवालासंग शैक्षिक सहकार्य गर्ने समेत जानकारी दिए।  

२०७२ साल चैतमा स्थापना भएको युडब्लूएस नेपालले तीन जिल्लाका ७६ वटा विद्यालयमा ५ सय ९ वटा कक्षा कोठा निर्माण गरिसकेको जनाएको छ। जस अनुसार संखुवासभामा ५३,गुल्मीमा १८ र ताप्लेजुङमा ५ वटा विद्यालय निर्माण भएका छन्।  

युडब्लूएस नेपालको कार्यक्षेत्रका दृष्टीले ताप्लेजुङ कान्छो हो। खड्काका अनुसार यो अभियानबाट तीन जिल्लाका १३ हजार ९ सय २८ बालबालिका लाभान्वित भएका छन्।  

संस्थाका कार्यक्रम प्रवन्धक अविनाश झाका अनुसार गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि काम गर्नु संस्थाको प्रमुख उद्देश्य हो। बालबालिकाका लागि सुरक्षित कक्षाकोठाको निर्माण र अध्ययनका लागि उनीहरुलाई उत्प्रेरित गर्न सबैखाले आधुनिक सुविधा तथा प्रविधियुक्त पूर्वाधारको विकास र व्यवस्थापनमा ध्यान दिने संस्थाले जनाएको छ।

प्रकाशित: २० मंसिर २०८० ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App