१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पाहुना आगमनः दश महिनामा ४ लाख ७३ हजार ५६३ विदेशी भित्रिए

२०२२ भित्र पर्यटनमा आधा सुधार भइसक्छः पर्यटन बोर्ड

अन्नपूर्ण आधारशिविरबाट फर्किदै गरेको विदेशी पाहुना। तस्बिर सौजन्यः दिलिप गुरुङ

कोरोना भाईरस संक्रमणले करिब दुईवर्षसम्म थलिएको पर्यटन क्षेत्रले पछिल्लो समय गति लिँदैछ। त्यसको प्रमाण हो, यो अक्टोवरमा नेपालमा ८८ हजार ५८२ जना विदेशी पर्यटक भित्रिएका छन्। सन् २०२२ को दशमहिना अवधिमा नेपालमा ४ लाख ७३ हजार ५६३ जना विदेशी पर्यटक भित्रिएका छन्।  

कोरोना संक्रमण सुरु हुनुअघि नेपालमा सन् २०१९ मा झन्डै १२ लाख विदेशी पर्यटक भित्रिएका थिए। सरकारले कोरोनापछिको पर्यटक आगमनलाई २०२३ सम्म ‘रिकभर’ गर्ने लक्ष्य लिएको छ। सरकारी लक्ष्यलाई बल पुग्नेगरि सिजनको आगमन बढ्दै गएको पर्यटन बोर्डले बताएको छ।  

यो वर्षको अझै दुइमहिना समय बाँकी रहँदा नेपालको वर्षभरि (२०२२) को आगमन ६ लाख नाघ्ने अपेक्षा पर्यटन बोर्डको छ। पर्यटकीय सिजनका अझै दुइमहिना समय बाँकी रहँदा बोर्डको लक्ष्य पुरा हुने अपेक्षा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। अक्टोवरको आगमनको सुधार त २०१९ को तुलनामा झन्डै ७२ प्रतिशत भएको उनले बताए। २०१९ अक्टोवरमा नेपालमा एकलाख २३ हजार २६७ जना विदेशी आएका थिए।  

‘यो महिना (नोभेम्बर) पनि नेपालको पर्यटन क्षेत्रका लागि पीक सिजन हो। यो महिनाको आगमन पनि उच्च हुने अपेक्षा छ। आगामि महिना (डिसेम्बर) मा केही घट्ने भएपनि बोर्डको लक्ष्य अनुसार वर्षभरिको आगमन ६ लाख कट्नेछ,’ उनले भने, ‘सरकारले भने ५ लाख पर्यटक भित्रिने अपेक्षा गरेको छ। तर, बोर्डको अनुमानमा त्यो संख्या ६ लाख ५० हजार पुग्ने अपेक्षा हो। सुरुमा त बोर्डले पनि ६ लाख कट्ने अनुमान गरेको थियो। तर, पछि आगमन बढ्दै गयो। नोभेम्बर र डिसेम्बरको आगमनमा कुनै अवरोध नआएमा बोर्डको ‘टार्गेट’ निकै नै पर पुग्नेछ।’  

निर्देशक लामिछानलेका अनुसार कोरोना अघिको पर्यटक आगमनमा यो वर्ष ५० देखि ५५ प्रतिशत रिकभर हुने अपेक्षा छ। २०१९ को ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक भित्रिएका थिए। ती मध्ये हवाई मार्गबाट भित्रिएका पाहुनाको संख्या ९ लाख ८० हजार थियो। बाँकी स्थलमार्गबाट भित्रिएका थिए। उनका अनुसार २०२२ सम्म विश्वव्यापी पर्यटक घुमघाममा ६०–६५ प्रतिशत सुधारको अपेक्षा हो। ‘नेपालमा भने लक्ष्य पुरा हुने देखिएको छ। अरु मुलुकमा भन्दा नेपालमा पर्यटन क्षेत्रमा अलि छिटो सुधार हुन्छ,’ उनले भने।  

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र तीनवर्षमा रिकभर हुने अपेक्षा व्यवसायी र सरकारको थियो। त्यो अपेक्षा सतप्रतिशत मिल्ने संकेत देखिएको उनले बताए। विश्वव्यापी रुपमा भने २०२४ मा मात्र पर्यटन आगमन सतप्रतिशत पहिलेकै आकारमा फर्किने अनुमान छ। 

‘तीनवर्षभित्र रिकभर होला भन्ने अपेक्षा थियो। अगाामि वर्ष (२०२३) सम्म त्यो लक्ष्य पुरा पनि हुने संकेत छ। विश्वव्यापी रुपमा भने २०२४ मा मात्र पर्यटन पहिलेकै आकारमा फर्किने अपेक्षा हो,’ उनले भने, ‘अहिलेको आगमनमा कुनै बाधा अवरोध नआउने हो भने पर्यटकको आगमनमा आगामि दिनमा अझै सुधार हुनेछ।’ नेपालमा सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी भित्रिएका थिए। कोरोनाका कारण २०२० मा त्यो आगमन २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९६२ मा झरेको थियो।

पीक सिजन मानिने यो अक्टोवरमा २०२२ कै अहिलेसम्मकै बढी पाहुना नेपाल भित्रिएको बोर्डको तथ्यांक छ। अक्टोवरमा मात्र ८८ हजार ५८२ जना विदेशी नेपाल भित्रिएका छन्। नेपालमा  जनवरीमा १६ हजार ९७५, फेबु्रअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ जना विदेशी भित्रिएका छन्। त्यस्तै मे महिनामा ५३ हजार ६०८, जुन महिनामा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२ जना विदेशी भित्रिएका छन। त्यस्तै अगष्टमा ४१ हजार ३०४ र सेप्टेम्बरमा ५८ हजार ३१४ जना विदेशी भित्रिएको बोर्डको तथ्यांक रहेको छ।  

कोरोनाले शुन्यमा झरेको पर्यटन क्षेत्रमा झन्डै आधा रिकभर हुँदा पनि व्यवसायीले भने उत्तिसारो राहत अनूभुत नभएको गुनासो गर्छन। पर्यटन बोर्डका तथ्यांकले नेपालमा आगमनको आकार बढेको देखाएपनि व्यावसायीले त्यो अनुसार होटलको अकुपेन्सी बढ्न नसकेको व्यवसायीको गुनासो छ। ‘पर्यटक त आएको सरकारी तथ्यांकले पनि देखाएको छ। अघिल्ला वर्ष भन्दा त केही बढेको पनि हुो । हुँदै नहुनु भन्दा थोरै भएपनि राम्रो हो,’ होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘तर, व्यवसायीले सोचेजति राहत पाउन सकेका छैनन।’  

व्यवसायीका अनुसार पोखराको पर्यटन क्षेत्रले विदेशी पर्यटनबाट बढी लाभ पाउन नसक्नुमा आफ्नै कमजोरी पनि छ। पोखराले विदेशी पर्यटकको बसाई अवधि बढाउने गरि गतिविधि गर्न सकेको छैन । जसले गर्दा पर्यटकले पोखरालाई ट्रान्जिट सहर मात्र बनाएका छन्। ‘पोखरा हुँदै आउजाउ गर्ने पदयात्रा रुटमा अहिले पर्याप्त विदेशी छन्। तर, पोखरामा कम छन,’ उनले भने, ‘पोखराको बसाई अवधि कम भएकै हो। पोखराले विदेशी पाहुनाको बसाईलाई एकरात भन्दा बढाउन सकेको छैन।’  

पोखराको बसाई अवधि कम भएकोले पनि व्यवसायीले पर्यटक आएको अनूभुत गर्न नपाएको उनले बताए। ‘नितान्त पोखरा क्षेत्र कमजोर देखिएको हो। तर, पोखरा बाहिर विदेशी पर्यटक पनि छन। आन्तरिक पनि छन्,’ उनले भने, ‘पदयात्रामा जाँदा र फर्किदा पोखराको बास बनेको छ। पहिलेजस्तो लामो समयसम्म पोखरामा बस्ने पर्यटक कम भएकै हुन्। पोखराको बसाई निकै नै कम हुँदा पनि पर्यटनमा मार परेको छ।’  

प्रकाशित: २० कार्तिक २०७९ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App