१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

संशोधित बजेट पनि खर्च गर्न सक्दैनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना

फाइल तस्बिर

सरकारले महत्वाकांक्षी लक्ष्यसहित अघि सारेका सिँचाइसम्बन्धी राष्ट्रिय गौरवका आयोजनाको आर्थिक वर्ष २०७८/७९ मा उत्साहजनक भौतिक प्रगति देखिएको छैन। वर्षौंदेखि क्रमागत आयोजनाको रूपमा सञ्चालन हुँदै आए पनि गत आवको मध्यावधि समीक्षामा बजेट घटाउँदा पनि लक्ष्य अनुसारको प्रगति गर्नबाट चुकेका छन्। गत पुसमा मध्यावधि समीक्षाको बेला अधिकांश सिँचाइका आयोजनाको बजेट घटाइएको थियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आव २०७८/७९ को वार्षिक प्रगति समीक्षाले यस्तो तथ्यांक देखाएको हो।

बजेट घटाउँदा पनि अधिकांश आयोजनाले लक्ष्य अनुसारको खर्च गर्न चुकेको देखिन्छ। सरकारले ०६१/६२ मा बाँके जिल्लाको पश्चिमतर्फ ३३ हजार ७ सय ६६ र राप्तीपूर्व बायाँतर्फ ९ हजार गरी जम्मा ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु‍र्‍याउने लक्ष्यसहित सिक्टा सिँचाइ आयोजना निर्माण सुरु गरेको थियो। सरकारले सुरुको चरणमा निर्माण थालेको १० वर्ष अर्थात् ०७१/७२ भित्रै निर्माण सम्पन्न गर्ने महत्वाकांक्षी योजना अघि सारेको थियो। अहिले आयोजना निर्माण हुन सुरु भएको १८ वर्ष बितिसकेको छ भने लागत पनि दोब्बर बढी भइसकेको छ।

सुरु लागत अनुमान १२ अर्ब ८० करोड रहेको यो आयोजनाको संशोधित लागत अनुमान २५ अर्ब २ करोड पुगेको छ तर आयोजना निर्माण कहिले सकिने हो? अझै अनिश्चित छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको अवधिमा समष्टिगत भौतिक प्रगति ७३.५० प्रतिशत भएको छ।

यो आयोजनामा सुरुदेखि हालसम्मको समष्टिगत वित्तीय प्रगति ७५.९० प्रतिशत भएको छ। सरकारले गत आर्थिक वर्षमा यो आयोजनाको लागि एक अर्ब १९ करोड रूपैयाँ विनियोजन गरेको थियो। यो आयोजनाले सो अवधिमा ९२ करोड रूपैयाँ अर्थात् विनियोजित बजेटको ७७.७३ प्रतिशत मात्रै खर्च गरेको छ। यो आयोजनाको हालसम्म ४५.२५ किलोमिटर लामो पश्चिम मूल नहर सकिसकेको छ। त्यसैगरी पूर्वी मूल नहरको कार्य ८६.१६ प्रतिशत सम्पन्न भएको छ।

बबईको हालत पनि उस्तै

सरकारले चालु आर्थिक वर्षमा बबई सिँचाइ आयोजनाको लागि १ अर्ब ३४ करोड रूपैयाँ विनियोजन गरेको थियो तर मध्यवधि समीक्षामा आयोजनाको बजेट घटाएर एक अर्ब २५ करोड रूपैयाँमा सीमित गरेको थियो। गत आर्थिक वर्ष बजेट घटाएसँगै यो आयोजनाले ८५.६५ प्रतिशत भौतिक प्रगति र ९८.४७ प्रतिशत वित्तीय प्रगति गरेको छ। आयोजना निर्माण सुरु भएदेखि हालसम्मको यो आयोजनाको वित्तीय प्रगति ५८.८४ प्रतिशत र भौतिक प्रगति ६२.२३ प्रतिशत रहेको छ। सरकारले यो आयोजना आगामी २०८२/८३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यो आयोजनाको हालसम्म ८०.२८ किलोमिटर मूलनहर निर्माणको काम सम्पन्न भएको छ।

महाकालीको भौतिक प्रगति १५ प्रतिशत

सरकारले महाकाली सिँचाइ आयोजनाको लागि गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रूपैयाँ विनियोजन गरेको थियो। मध्यावधि समिक्षाको क्रममा भने यो आयोजनाको बजेट घटाएर ९७ करोडमा झारिएको थियो। यो आयोजनाले गत आवमा ९४.०२ प्रतिशत वित्तीय प्रगति गरेको छ।

त्यसैगरी सो अवधिमा भौतिक प्रगति ९९.३९ प्रतिशत भएको छ। चालु आवको ६ महिनाको अवधिमा ४१ करोड ४६ लाख रूपैयाँ मात्रै खर्च भएको छ। चालु आवको ६ महिनाको अवधिमा यो आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत मात्रै छ। सरकारले यो आयोजना ३३ हजार ५ सय २० हेक्टरमा सिँचाइ गर्न अघि सारेको हो। यो आयोजना २०६३/६४ सालदेखि निर्माण थालिएको हो।

यो आयोजनाको प्रारम्भिक लागत ३५ अर्ब अनुमान गरिएको छ। गत आबसम्म यो आयोजनामा ५ अर्ब ३७ करोड रूपैयाँ खर्च भइसकेको। यो आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति १५.७३ प्रतिशत भएको छ। सरकारले यो आयोजना ०८७/८८ सम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ।

रानीजमराको प्रगति पनि नाजुक

रानी जमरा कुलरिया सिँचाइ आयोजना २०६८/६९ मा ३८ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ पु‍र्‍याउने लक्ष्यसहित निर्माण सुरु गरिएको थियो। आयोजना निर्माण भएको ९ वर्ष बितिसक्यो तर यसको निर्माण सम्पन्न हुने सुरसार छैन। यो आयोजनाको सुरुमा अनुमानित लागत १२ अर्ब ६३ करोड थियो तर संशोधित लागत अनुमान अनुसार यसमा २७ अर्ब ७० करोड रूपैयाँ खर्च हुनेछ। आर्थिक वर्ष २०७८/७९ सम्म यो आयोजनामा १६ अर्ब २० करोड रूपैयाँ खर्च भइसकेको छ। यो आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति र वित्तीय प्रगति दुवै ५८.५ प्रतिशत छ।

गत आवमा सरकारले यो आयोजनाको लागि २ अर्ब ३५ करोड रूपैयाँ विनियोजन गरेको थियो तर मध्यावधि समीक्षाको क्रममा यो आयोजनाको बजेट बढाएर २ अर्ब ६३ करोड रूपैयाँ पुर्‍याइएको थियो। गत आवमा यो आयोजनाले ७२ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत वित्तीय प्रगति गरेको छ। यो आयोजना आव २०८१/८२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि अहिलेकै गतिले निर्माण सम्पन्न हुनेमा आशंका देखिन्छ। यो आयोजनाको मुख्य नहर निर्माणको काम सकिएको छ। यो आयोजनाको लम्की एक्सटेन्सन नहरको ६ किलोमिटर लाइनिङको काम सम्पन्न भएको छ। त्यसैगरी बाँकी ८.६५ किलोमिटर नहरको माटोको कार्य सम्पन्न भएको छ।

भेरीबबईको पनि प्रगति दयनीय

सरकारले आर्थिक वर्ष २०६८/६९ मा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण थालेको थियो। सरकारले ५१ हजार हेक्टर सिँचाइ र ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यो आयोजना निर्माण सुरु गरेको थियो। यो आयोजनाको लागत १६ अर्ब ४३ करोड अनुमान गरेको थियो तर अहिले आयोजनाको संशोधित लागत ३६ अर्ब ८० करोड रूपैयाँ पुगेको छ।

गत आवसम्म यो आयोजनाको लागि १५ अर्ब ४३ करोड रूपैयाँ खर्च भएको छ। यो आयोजनाको समष्टिगत भौतिक प्रगति ५७ प्रतिशत र वित्तीय प्रगति ४१.९२ प्रतिशत रहेको छ। सरकारले गत आवमा यो आयोजनाको लागि ३ अर्ब ६ करोड विनियोजन गरेको थियो। आयोजनाले मध्यावधि समीक्षा पनि आयोजनाको बजेट घटाएर एक अर्ब ८६ करोड रूपैयाँमा सीमित गरेको थियो। गत आवमा यो आयोजनाले एक अर्ब ३४ करोड अर्थात् ७२ प्रतिशत वित्तीय प्रगति गरेको थियो। त्यसैगरी गत आवमा ८०.७० प्रतिशत भौतिक प्रगति गरेको थियो।

सरकारले ०७३/७४ सालमा सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सुरु गरेको थियो। 

प्रकाशित: २९ श्रावण २०७९ ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App