१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धरहरा उद्घाटनको एक वर्ष : ठेकेदार कम्पनी चौथो पटक म्याद थपको माग गर्दै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेको एक बितिसक्यो तर धरहरा निर्माण गरिरहेको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीले भने धरहराको लागि चौथो पटक म्याद थप गरिदिन सरोकारवाला निकायसँग प्रस्ताव पठाएको छ।

पूर्वप्रधानमन्त्री ओलीले गत वैशाख ११ गते धरहरा वरपरका अत्यावश्यक पूर्वाधार तयार नहुँदै हतार–हतार उद्घाटन गरेका थिए। उद्घाटन गरेको एक वर्ष पुगुञ्जेलसम्ममा पनि धरहराको भौतिक प्रगति भने ७८ प्रतिशत मात्रै भएको छ।

नेपालका राजनीतिक नेतामा निर्माणको काम नसकी उद्घाटन गर्ने मोह अधिक देखिन्छ, यसले आयोजना वर्षौंसम्म अलपत्र पर्ने गरेको देखिएको छ।

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा आयोजनाको म्याद ०७८ चैत मसान्तभित्रै सकिने भएकाले चौथो पटक म्याद थप गरिदिन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भवन तथा आवास कार्यालयलाई प्रस्ताव गरिसकेको बताए ।

‘हामीले धरहराको म्याद अझै डेढ वर्ष थपिदिन प्रस्ताव पेश गरेका छौं’, उनले भने– ‘मन्त्रालयले कम्तिमा पनि ९ महिनाभन्दा बढी थपिदिने संकेत गरिसकेको छ, हेरौं कति थप गर्छ।’ निर्माण कम्पनीका अनुसार अहिलेसम्म आयोजनामा दुई अर्ब १२ करोड अर्थात् ६६ प्रतिशत वित्तीय प्रगति भएको छ। आयोजना तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा ठेक्का लगाइएको थियो।

निर्माण कम्पनीका अनुसार धरहरा परिसरमा निर्माण गरिएका संरचनाको फिनिसिङको काम अझै बाँकी रहेको छ। कम्पनीका अनुसार समयमै साइट उपलब्ध नहुनु र कोभिड १९ लगायतका कारणले आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन नसकेको हो।

‘हामीले ठेक्का लिएको २१ महिनापछि मात्र पुरानो टक्सारको साइट पाएका हौं। हुलाक, काठमाडौं मल लगायतका संरचना भत्काएर नयाँ संरचना निर्माण गर्नुपर्दा पनि केही समय बढी लागेको हो’, नकर्मीले भने– ‘कन्स्ट्रक्टरको कारणले मात्रै धरहराको संरचना सम्पूर्ण नबनेको होइन। यसमा राज्यको निकायको पनि उत्तिकै दोष छ।’

सुन्धारास्थित सञ्चयकोषको भवनबाट खिचापोखरी निस्कने सडकखण्डको ६ मिटरको सडकको लागि आवश्यक जग्गा नपाउँदा सडक निर्माण कार्यले गति लिन सकिरहेको छैन। धरहरासँगै जोडिएको सेन्ट्रल युनिट भवनको अत्यावश्यक पूर्वाधार एसी, फायरहाइड्रेड, वायरिङ लगायतको संरचना तयार भइसकेको छैन।

‘भूकम्पले भत्किएको धरहराको ठुटोलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा अहिलेसम्म सरकारी निकायले कुनै ठोस निर्णय गरेका छैनन्’ उनले भने– ‘सरकारी निकायमा आवश्यक समन्वय नहुँदा काम रोकिएको रोकियै छ, निर्माण व्यवसायीले मात्रै काम गरेन भनेर भन्न मिल्दैन कि!’

गत वैशाख ११ गते धरहराको सबै पूर्वाधार तयार नहुुँदै हतार– हतार उद्घाटन गरिएको थियो। ओलीले उद्घाटन गर्नुअघिसम्म धरहरा निर्माणको काम दैनिक चार सय भन्दा धेरै कामदारले दिनरात नभनि २४ घण्टा काम गर्थे। निर्माण कम्पनीका अनुसार अहिले भने करिव १७५ देखि दुई सय जना कामदारले काम गरिरहेको दाबी गरेको छ।

धरहरा परिसरमा संग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाका अनुसार संग्रहालयको एउटा मात्रै स्ल्याब निर्माण गर्न बाँकी छ। महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले धरहराको उद्घाटन हुँदा वित्तीय प्रगति ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत भएको देखाएको थियो। ‘धरहराको उद्घाटन भइसके तापनि सञ्चालनमा आएको छैन,’ महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ– ‘तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिदैंन।’ धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो।

सो ठेक्का सम्झौता अनुसार धरहरा दुई वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो तर कोभिड १९को कारणले सरकारले ६/६ महिना गरी दुई पटक आयोजनाको म्याद थपेको थियो। सरकारले कोभिडको कारण आयोजनाको म्याद पछिल्लो पटक चैत मसान्तसम्म थप गरेको थियो तर धरहराको बाहिरी आवरणको काम आगामी चैत मसान्तभित्र पनि सम्पन्न हुने देखिंदैन।

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर नकर्मीले आगामी दशैंसम्म धरहराको मुख्य संरचना तयार पार्न सरकारी निकायले अनुरोध गर्दै आइरहेको पनि बताए।

धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचनाको काम पनि अहिलेसम्म सकिएको छैन्। जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर नकर्मीले आगामी दशैं भित्रै निर्माण सकिने दाबी गरे। प्राधिकरणका एक इञ्जिनियरले ठेकेदार कम्पनीले धरहरा निर्माण बापतको मुबिलाइजेसन रकम अन्यत्रै खर्च गरेकाले पनि धरहराको पूर्वाधारमा पर्याप्त लगानी र कामदार खटाउन नसकेको दाबी गर्छन्। निर्माण कम्पनीले भने अहिलेसम्म आयोजनामा २ अर्ब १२ करोड रूपैयाँ खर्च भइसकेको दावी गरेको छ।

अहिले निर्माणाधीन धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्री भागमा धरहरा २२ तलाको बन्दैछ । २०७२ सालको भूकम्पले धरहरा भत्किएसँगै सरकारले आधुनिक निर्माण सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ।

प्रकाशित: १५ चैत्र २०७८ ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App