५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

आयल निगमको घाटा दैनिक ३५ करोड

रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा भएको कच्चा तेलको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको छ। कच्चा तेलको मूल्य बढ्दा इन्डियन आयल कर्पोरेसन (आइओसी)ले इन्धनको मूल्य बढाएर पठाएको छ।

नेपाल आयल निगमले आइओसीबाट इन्धन ल्याएर बिक्री गर्छ। आइओसीबाट बुधबार नेपाल आयल निगमलाई प्राप्त मूल्यसूची अनुसार निगमलाई दैनिक करिब सवा ३५ करोड घाटा हुने देखिएको छ। इन्धनको मूल्य समायोजन नहुँदा निमगलाई १५ दिनमा ५ अर्ब ३० करोड रूपैयाँ घाटा हुने निगमका सह–प्रवक्ता पुष्कर कार्कीले बताए। यसरी हेर्दा दैनिक ३५ करोड ३३ लाख रूपैयाँ घाटा हुन्छ।

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १ सय ८२ रूपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १ सय ६९ रूपैयाँ ४४ पैसा, मट्टीतेल प्रतिलिटर १ सय १३ रूपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १ सय ३१ रूपैयाँ ९४ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर १ सय १४ रूपैयाँ ५१ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर २ हजार २ सय ४० रूपैयाँ ३४ पैसा पुगेको निगमले जनाएको छ।

सो अवधिमा पेट्रोलको बिक्रीबाट १ अर्ब ७ करोड ९८ लाख रूपैयाँ, डिजेलको बिक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको बिक्रीबाट १ अर्ब २६ करोड ३७ लाख रूपैयाँ नोक्सानी हुने अनुमान गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

निगमलाई मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट सामान्य नाफा हुनेछ। १५ दिनमा मट्टीतेलको बिक्रीबाट १ करोड ५० लाख, हवाई इन्धन (आन्तरिक) बाट १ करोड १३ लाख रूपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) बाट १७ करोड ५३ लाख रूपैयाँ नाफा हुने प्रवक्ता उपाध्यायको भनाइ छ। मट्टीतेल र हवाई इन्धनको बिक्रीबाट हुने नाफाले निगमको घाटा न्यूनीकरणमा उल्लेख्य योगदान गर्न सकेको छैन।

आइओसीबाट बुधबार प्राप्त मूल्यमा कर थपिँदा पेट्रोलमा प्रतिलिटर ३२ रूपैयाँ ८१ पैसा, डिजेलमा ३६ रूपैयाँ ४४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रूपैयाँ ३४ पैसा घाटा रहेको निगमको भनाइ छ। मट्टीतेलमा प्रतिलिटर १९ रूपैयाँ ५१ पैसा, हवाई इन्धन (आन्तरिक)मा ४ रूपैयाँ ६ पैसा र हवाई इन्धन (अन्तर्राष्ट्रिय)मा प्रतिलिटर ४३ रूपैयाँ ८४ पैसा नाफा रहेको निगमले जनाएको छ।

१५ दिनमा पेट्रोल ३२ हजार ९ सय १५ किलोलिटर, डिजेल ८६ हजार ९ सय १० किलोलिटर, मट्टीतेल ७ सय ७० किलोलिटर, हवाई इन्धन (आन्तरिक) २ हजार ७ सय ७९ किलोलिटर, हवाई इन्धन (अन्तर्राष्ट्रिय) चार हजार किलोलिटर र एलपी ग्यास १८ लाख ९९ हजार २ सय ७८ सिलिन्डर खपत हुने निगमको आकलन छ।

काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५० रूपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३३ रूपैयाँ, हवाई इन्धन (आन्तरिक)को प्रतिलिटर १ सय ३६ रूपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिलिटर अमेरिकी डलर १.२९ र एलपी ग्यासको बिक्री मूल्य प्रति सिलिन्डर १ हजार ५७५ रूपैयाँ रहेको छ। सरकारले भन्सार बिन्दुमै पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकमा कर उठाउने गरेको छ।

सरकारले पेट्रोलमा प्रतिलिटर ५९ रूपैयाँ ४८ पैसा, डिजेलमा प्रतिलिटर ४२ रूपैयाँ १६ पैसा, मट्टीतेलमा प्रतिलिटर १३ रूपैयाँ ३६ पैसा, हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १९ रूपैयाँ ४९ पैसा, हवाई इन्धन (अन्तर्राष्ट्रिय) मा २ रूपैयाँ ८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर २८० रूपैयाँ ३० पैसा कर उठाउँदै आएको छ।

भन्सारले पेट्रालियम पदार्थमा भन्सार महसुल, सडक मर्मत शुल्क, प्रदूषण शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) र मूल्य स्थिरीकरण कोष शुल्क उठाउँछ। त्यसबाहेक ढुवानी भाडा, निगमको प्रशासनिक एवं बिक्री खर्च, बिमा, प्राविधिक नोक्सानी र बिक्रेताको मुनाफा जोडेर पेट्रोलियम पदार्थको बिक्री मूल्य निर्धारण हुने गरेको छ।

प्रकाशित: ३ चैत्र २०७८ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App