९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सुन्तलामा औंसाः प्लाष्टिकमा गुम्साएर किरा मार्दैछन् स्याङजाका किसान

स्याङजामा सुन्तलामा लागेको औंसा किरा नियन्त्रणका लागि प्लाष्टिकको थैलोमा राखिएको सुन्तला। तस्बिरः नागरिक

स्याङ्जाको सुन्तला बगंैचामा छिर्ने जो कोहीले यो बेला प्लाष्टिकमा पोको पारेर राखेको सुन्तलाका दाना देख्न पाउँछन्। सुन्तला दानालाई प्लाटिकको थैलोमा पोको पारेको देख्दा जो कोहीलाई अचम्म पनि लाग्ला। तर, वास्तविकता भने ती सुन्तला किसानलाई थाहा छ, जसले दुख पाएका छन् र उनीहरुको आम्दानी खोसिएको छ। स्याङजाका सुन्तला किसानलाई दुख दिने त्यो हो–औंसा किरा।  

औंसा किराको प्रकोपले अहिले स्याङजाका सुन्तला किसान आत्तिएका छन। त्यही किरा नियन्त्रण गर्ने प्रयास स्वरुप किसानले सुन्तलाका दाना नै प्लाष्टिकमा पोको पारेर गुम्साएर किरा मार्ने प्रयास थालेका छन्। ‘औंसाले दुख दिएपछि हामीले किरा लागेको दाना नै प्लाष्टिकमा पोको पारेर गुम्साएर किरा मार्न थालेका हौं,’ स्याङजाको पुतलीबजार नगरपालिका–१० सुम्रेखोलाका किसान विष्णु अर्याल भन्छन, ‘औंसा किरा नियन्त्रणको प्रयास स्वरुप दाना नै प्लाष्टिकमा पोको पारेर राखेका हौ। त्यसरी राक्दा गुम्सिएर दाना कुहिने र किरा मर्छ। त्यसपछि कुहिएको दानालाई खाडलमा पुरेर किरा बाहिर निस्कनबाट रोक्न खोजेका हौ।’

उनका अनुसार औंसाले अहिले स्याङजाका सुन्तला किसानलाई सताएको छ। त्यही किराले सुन्तला नोक्सान गरेर किसानको आम्दानी पनि खोसेको छ। फलेको मध्ये करिब पाँचप्रतिशत दाना अहिले औंसा किराबाटै नोक्सान हुन थालेको किसानको अनुमान छ। बेलैमा नियन्त्रण नगर्ने हो भने यसले डरलाग्दो रुप लिन सक्ने चिन्ता किसानमा छ। ‘सिन्धुलीमा जुनार पनि यही किराले सखाप पारेको हो। अब सुन्तलामा सुरु भएको छ। सुरुका केहीवर्ष नियन्त्रण प्रयास नगर्ने हो भने स्याङजाका किसानले सुन्तलाबाट हुने ठुलो आम्दानी गुमाउँछन,’ अर्यालले भने, ‘अहिले नै सुरु नगर्ने हो भने नियन्त्रण सहज छैन। किनकी यसले वर्षेनी नोक्सान बढाउँदै गएको छ।’

सुन्तलाजाताको फलफूल सुन्तला, जुनार र कागतीमा महामारीको रुपमा देखिएको चाइनिज सिट्रस फ्लाई झिंगाजस्तै किरा हो। यसलाई औंसा भनिन्छ। यो किरा भूइँमा खसेपछि माटोमुनि रहन्छ। माटोमै यसले प्यूपाको रुप लिन्छ। त्यही प्यूपा बैशाख–जेठतिर बयस्क भएर माटोबाट निस्कन्छ र सुन्तलाको दानामा फुल पार्छ। कात्तिकमा दानाभित्र किरा बढ्दै जान्छ। किरा लागेको केही समयपछि दाना झर्न थाल्छ। कात्तिकसम्म एउटै दानामा ५–६ किराहरु परिसकेका हुन्छन।  

‘केही दाना पाक्ने बेलासम्म पनि बोटमै रहन्छन, कतिपय असोज–कात्तिकमा झर्छन,’ अर्यालले भने, ‘दानाभित्रका किरा प्वाल पारेर बाहिर निस्कन्छ र माटोमा मिलेर फेरि प्यूपा बनेर निस्कन्छ र बैशाख जेठमा उड्न थाल्छ।’ अर्यालका अनुसार असोज–कात्तिकमा झरेको दाना नै किसानले थुप्रो लगाउँदै जान्छन र प्लाष्टिकमा पोको पार्छन। सुन्तलामा फूल लाग्ने फागुन–चैत हो। तर यो किराले सानो छँदै दानामै फुल पार्छ। यो किराको जीवनचक्र एकवर्ष हुने उनले बताए । 

‘भूइँमा खसेका दानाबाट कतिपय किरा अहिले माटोमा मिसिएका छन। फुल पारेपछि माउ मर्छ र त्यसपछि त्यही फुल विकसित भएर पछि उडेर दानामा पुगेर फेरि फुल पार्न थाल्छ,’ अर्यालले भने, ‘सिन्धुलीको जुनार यही किराले सखाप पारेको थियो। सिन्धुलीमा गरिएको नियन्त्रणको प्रयास यहाँ पनि गरिएको छ। सुरुवाती चरणमै नियन्त्रण प्रयास नभएमा यसले सखाप पार्नेछ।’  

स्याङजामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना सुन्तला सुपर जोनका प्रमुख माधव लम्सालका अनुसार औंसा किरालाई गुम्साएर मार्ने तरिका अहिले किसानले अवलम्बन गरेका छन। किरा नमार्ने हो भने यसले आगामि वर्ष झनै बढी क्षति पु¥याउने उनले बताए। उनले पनि दानाबाट झरेको किरा माटोमा गएर प्युपा बन्ने र त्यही प्युपा पछि माटोबाट निस्केर सुन्तलाको दानामा पुग्ने र त्यहाँ फुल पारेर किरा लाग्ने गरेको उनले बताए।

‘माटोमा खसेको किरा चैतसम्म माटोमा बस्छ। त्यसपछि बयस्क बन्छ र किराको रुपमा निस्कन्छ । त्यही किरा उडेर दानामा बसेर फुल पारेर कुहाउन थाल्छ,’ लम्साल भन्छन, ‘यो चक्र दोहोरिन्छ। यो स्याङजामा पोहोर अलिअलि देखिएको औंसाकोे समस्या अहिले झनै बढेको छ। त्यही किरा नियन्त्रणको प्रयास भईरहेको छ।’

खसेका दाना प्लाष्टिकमा पोको पारेपछि गुम्सिएर किरा मर्ने उनले बताए। ‘अर्काे सिजनमा फुल पार्ने किराको संख्या बढ्न नदिने उपाय हो,’ लम्सालले भने। उनका अनुसार बैशाख जेठतिर किराको माउ मार्नको लागि प्रोटिन बेट स्पे्र पनि छर्ने गरिन्छ। त्यो गर्दा सबै नमर्न सक्ने भएकोले पनि किराले नोक्सान गरेर झरेका दाना व्यवस्थापन गर्नुपरेको उनले बताए। यो किरा लागेपछि सुन्तलाका दाना असोज कात्तिकतिर झर्न थाल्ने उनले बताए।  

‘यसले ५ प्रतिशतको हाराहारीमा सुन्तलामा नोक्सान गरेको छ। आक्रमक रुपमा सुन्तला बगैंचामा क्षति गरेको छ,’ उनले भने। उनका अनुसार स्याङजाको पुतलीबजार र भीरकोट क्षेत्रमा यो किरा ब्यापक छ। सिन्धुलीमा जुनारमा देखिएका यो समस्या अहिले स्याङजाको सुन्तलामा थपिँदै गएको उनले बताए। ‘यही तरिका अपनाउँदा सिन्धुलीमा किरा नियन्त्रण भयो। प्लाष्टिक थैलीमा हालेर गुम्साएर किरा मार्ने र त्यो दाना एकफिट भन्दा गहिरो खाडलमा पुर्ने गरिएको उनले बताए।  

लम्सालका अनुसार स्याङजामा झन्डै २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ। १२ सय हेक्टरका विरुवामा फल लाग्ने गरेको छ। बाँकी ८ सय हेक्टर क्षेत्रफलमा विरुवा लगाइएको छ। ती विरुवाले अबको केहीवर्षमा दाना दिन थाल्नेछन्। पोहोर स्याङजामा करिब १५ हजार टन सुन्तला फलेको थियो। पोहोर सुन्तलाबाट मात्र स्याङजाका किसानले करिब ५५ करोड रुपैयाँ हात पारेका थिए।

प्रकाशित: २२ पुस २०७८ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App