४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खोटाङमा ९५ प्रतिशत रोपाइँ सकियो

खोटाङको खार्मीस्थित तापखोला किनारमा रहेको खेतमा धान रोप्दै महिला । फाइल तस्बिर : नागरिक

खोटाङमा हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएकामा आइतबारसम्ममा १२ हजार २९३ हेक्टरमा रोपाइँ सकिएको हो। 

यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण तीव्र गतिमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए। लेकाली क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायतका अलि उच्च भू–भागमा रोपाइँ सम्पन्न भइसकेको छ। 

जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका लगायतका पालिकाको बेँसी क्षेत्रमा मात्र हाल रोपाइँ भइरहेको कृषि प्रसार अधिकृत पण्डितले बताए। कोभिड–१९ को महामारीका बीचमा पनि किसानलाई आ–आफ्नो खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ। जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ। ‘जिल्लामा रोपाइँ सकिन लागेको छ। हालसम्म ९५ प्रतिशत रोपाइँ सकिएको छ,’ कृषि प्रसार अधिकृत पण्डितले भने, ‘माथिल्लो क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। बेँसी क्षेत्रका केही ठाउँमा मात्र रोपाइँ गर्न बाँकी छ।’ गत वर्ष जिल्लामा शतप्रतिशत रोपाइँ भएको थियो।

सिमसार भएका खेतमा जेठको अन्तिम सातादेखि रोपाइँ हुने गरे पनि सिञ्चित र असिञ्चित प्रकारको खेतमा वर्षा भएपछि मात्र रोपाइँ हुने गरेको छ। सिञ्चित खेतमा जुनसुकै समयमा रोपाइँ गर्न सकिए पनि आकाशे पानीको भरमा रोपाइँ हुने असिञ्चित खेतमा वर्षा हुन थालेपछि किसान खेतमा पुग्ने गरेका छन्। जिल्लामा अटेमार्सी, मकवानपुरे, ताइचिन, रनजित लगायतका प्रजातीका धान रोप्ने गरिन्छ।

जिल्लाको दिक्तेल, नेर्पा, खार्पा, हौंचुर, दोर्पाचिउरीडाँडा, मात्तिम, छोरम्बु, बतासे, सप्तेश्वरछितापोखरी, सिमपानी, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, बड्कादियाले, सावाकटहरे लगायतका ठाउँमा सबैभन्दा बढी धान खेती हुने गरेको छ। सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाइँ हुने ३ हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाइँ हुने गरेको छ।

प्रकाशित: १० श्रावण २०७८ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App