१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आयल निगम थानकोट डिपोको स्तरोन्नति

नेपाल आयल निगमको थानकोट डिपो। तस्बिर: नागरिक

नेपाल आयल निगमले थानकोट डिपोको स्तरोन्नति सम्पन्न गरेको छ। राजधानी लगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री गर्ने निगमको बाग्मीत प्रादेशिक कार्यालय मातहतको डिपोमा भौतिक पूर्वाधार, प्राविधिक र व्यवस्थापकीय सुधार गरेको हो।निगमले करिब ६ करोड रूपैयाँ खर्चेर पुराना संरचना परिवर्तन र नयाँ संरचना निर्माण गरेको छ।

डिपो परिसरमा डिजेल, पेट्रोल लोड गर्ने आधुनिक प्वाइन्टको क्षमता विस्तार गरिएको छ। अग्नि नियन्त्रण उपकरणको निर्माण तथा आधुनिकीकरण, जीर्ण संरचनाको पुनःनिर्माण, सुरक्षा पर्खाल, ट्यांक तथा ट्रक पार्किङ स्थल, डिपो पुग्ने सडक लगायत संरचना निर्माण गरिएको छ।  

रिइन्जिनीयरिङ परियोजनाको पहिलो चरणको काम सम्पन्न गरेपछि शनिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराजले उद्घाटन गरेका छन्। मन्त्री भट्टले निगमले सकारात्मक काम थालेको बताए। पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन ध्यान दिनुपर्ने उनको जोड थियो।

निगमले डिपोमा आधुनिक फ्लो मिटर जडान गरेको छ। तेल भर्न घन्टौं लाइन बस्नुपर्ने ट्यांकरका लागि सहज भएको निगमको बाग्मती प्रादेशिक कार्यालयका प्रमुख प्रदिप यादवले बताए। ‘डिपोको स्तरोन्नति गरेका छौं,’ यादवले भने, ‘छिटो–छरितो सेवा दिन सजिलो भएको छ।’  

निगमको सुरक्षाका लागि फायर फाइटिङ लगायत अत्याधुनिक उपकरण जडान गरेको उनले बताए। अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न साढे १९ रोपनी क्षेत्रफलमा दुई सय ट्रक तथा ट्यांकर पार्किङ गर्न सकिने व्यवस्थित पार्किङ स्थल निर्माण गरिएको छ। डिपो सुरक्षाका लागि वरिपरि पर्खाल र तारबार लगाइएको छ।

डिपोदेखि प्रमुख सडकसम्म आउने बाटो कालोपत्रे गरिएको छ। डिपोका संरचना पुराना भएकाले व्यवस्थित बनाउने प्रयास भइरहेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘अधिकांश डिपोमा पुराना संरचना छन्,’ पौडेलले भने, ‘क्षमता विस्तारसँगै सुधारको अभियान अघि बढाएका छौं।’

उपभोक्ताको हितलाई ध्यानमा राखेर सेवा दिनुपर्ने निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले बताए। निगमले समयसापेक्ष सुधार गर्दै लैजानुपर्ने पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन नेपालका अध्यक्ष लिलेन्द्र प्रधानले बताए। 

पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरण गर्न थानकोट डिपो २०५८ सालमा स्थापना गरिएको हो। निगमले यहाँबाट काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका १० जिल्लाका एक सय ८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन बिक्री, वितरण गर्दै आएको छ। यो डिपो एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ।

डिपोमा आठ हजार चार सय किलोलिटर डिजेल, ६ हजार ७० किलोलिटर पेट्रोल, सात सय ६० किलोलिटर मट्टीतेल भण्डारण क्षमता छ। थानकोटबाट दैनिक करिब सात सय किलोलिटर पेट्रोल, नौ सय किलोलिटर डिजेल र आठ किलोलिटर मट्टीटेल बिक्री हुँदै आएको छ।

दोस्रो चरणमा चार–चार हजार किलोलिटर क्षमताका दुईवटा पेट्रोल भण्डारणगृह निर्माण गर्ने तयारी गरेको छ। यसैगरी, निगमले अत्याधुनिक पेट्रोलियम तालिम केन्द्र पनि निर्माण गर्ने भएको छ। निगमले करिब एक अर्ब रूपैयाँ लागतमा उच्चस्तरको प्रविधि जडित सुविधासम्पन्न तालिम केन्द्र निर्माण गर्ने तयारी गरेको छ।  

साढे चार रोपनी जग्गामा आठतल्ले तालिम केन्द्र भवन निर्माण प्रक्रिया अघि बढाइएको छ। निगमको जनशक्तिलाई प्रशिक्षण दिन तालिम केन्द्र निर्माण गर्न लागिएको प्रादेशिक कार्यालयका प्रमुख यादवले बताए। तालिम केन्द्र आवासीय सुविधाको हुनेछ। तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आठतल्ले भवनमा पाँच सय क्षमतादेखि दुई सय, एक सय, ५०, २० जना अट्ने फरक–फरक हल निर्माण गर्ने योजना छ।

प्रकाशित: २४ फाल्गुन २०७७ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App