६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख

भेरीगंगा नगरपालिकाले चार वडामा चार वटा नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रम अन्तर्गत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले दुई करोड १० लाख रुपैयाँ ब्यहोर्ने उल्लेख छ। भदौ २३ गते सम्झौता गरेर मंसिर २४ गते कार्यादेश दिएको नगरपालिकाले पुस २ गते पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट नमुना समाजलाई उपलब्ध गराएको छ।  

तीन वर्षमा तीन करोड रुपैयाँ नमुना गाउँ निर्माणका लागि खर्चिने उल्लेख गरिएपनि नमुना समाजसँग कुनै आर्थिक स्रोत छैन। समाजका कार्यकारी निर्देशक लालबहादुर जिएम द एरिया फाउण्डेशनको सहयोगमा दुई करोड १० लाख रुपैयाँ नमुना समाज निर्माणका लागि खर्चिने बताउँछन्। ‘एसिया फाउण्डेशनको आर्थिक सहयोगमा साझेदारी कार्यक्रम अन्तर्गतको दुई करोड १० लाख रुपैयाँ नमुना गाउँ निर्माणमा खर्चिन्छौं,’ उनले भने, ‘कोरोनाका कारण रकम आउन केही ढिलो भएको हो।’ रकम दिने भनिएको दातृ निकायसँग छलफल भइरहेको उनी बताउँछन्।

नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।  

तर नमुना समाजले नगरपालिकामा पुस एक गते पठाएको पत्रमा खातामा नगरपालिकाले दिएको ३० लाखसहित एक करोड रुपैयाँ मौज्दात रहेको उल्लेख छ। साझेदारी कार्यक्रम भएकाले नगरपालिकाले सम्झौता गरेको संस्थाको आर्थिक स्रोतको हिसाव–किताव माग्नुपर्ने हो।  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेत भने अरु पालिकामा पनि काम गरेका आधारमा दातृ निकायको स्रोतको विषयमा कुनै चासो नदिएको बताउँछन्। ‘हामीसँग खातामा पैसा छ भनेर संस्थाका अध्यक्ष र कार्यकारी निर्देशकले पत्र पठाएका छन्,’ बस्नेतले भने, ‘विश्वासका आधारमा अहिलेसम्म स्रोतको खोजी गरेका छैनौं।’ चालू आर्थिक वर्षमा खर्च गर्ने भनिएको एक करोड रुपैयाँबाट के–के काम भयो भन्ने बारेमा आफूलाई जानकारी नभएको उनले बताए।  

‘साझेदारी कार्यक्रम अन्र्तगतको पहिलो वर्षको ३० लाख रुपैयाँ एकमुष्ट दिएका छौं, तर अहिलेसम्म त्यसको खर्च विवरण आएको छैन्,’ प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, ‘छनोट भएका वडाध्यक्षलाई यो विषयमा जानकारी होला।’  

सम्झौतामा नगरपालिकाले ३० र नमुना समाजले ७० प्रतिशत खर्च ब्यहोर्ने उल्लेख छ। नमुना गाउँ निर्माण अन्र्तगत पालिकाको बजेटमार्फत सिस्नो, टिमुर, लोकल कुखुरा, बाख्रापालन, भेटेनरी, हेयर कटिङ, दुना टपरी, छाला जुत्ता र व्यवसायिक तरकारी खेती तालिम दिनुका साथै होमस्टे निर्माण तथा व्यवस्थापनसहित १० वटा शिर्षकमा कार्यक्रम गर्ने भनिएको छ।  

यसका लागि नगरपालिकाले तीन वर्षसम्म हरेक वर्ष ३०–३० लाख रुपैयाँ अग्रिम नमुना समाजलाई दिने सम्झौतामा लेखिएको छ। नमुना समाजले दातृ निकायबाट प्राप्त भएको रकमबाट समूह गठन, क्षमता विकास तालिम, स्वास्थ्य शिविर, ल्याप्चे हटाऔं अभियान, छाउपडी गोठ हटाउने, शौचालय निर्माण, पत्रकार परिचालनलगायतका २५ वटा कार्यक्रम सञ्चालनका लागि ७० लाख रुपैयाँ वार्षिक खर्च गर्ने उल्लेख छ।

संस्थाका कार्यकारी निर्देशक जिएम कोरोनाका कारण दातृ निकायहरुबाट आउने रकममा ढिलाई भइरहेको दोहोर्‍याउँछन्। सुरुमा एसिया फाउण्डेशनमार्फत सहयोग भइरहेको बताएका उनले पछि युके भोलेन्टियर्स ग्रुपलगायतले पनि सहयोग गरिरहेको बताए। ‘हामीलाई तीन वटा दातृ निकायले सहयोग गरिरहेका छन्,’ उनले भने, ‘गोपनीयताका कारण सबै विवरण भन्न मिल्दैन।’  

नगरपालिकालाई बुझाएको पत्रमा संस्थाको खातामा दातृ निकायबाट उपलब्ध ७० लाख रुपैयाँ मौज्दात रहेको उल्लेख भएपनि कार्यकारी अधिकृत जिएमले दातृ निकायबाट कुनै किसिमको सहयोग अहिलेसम्म आइनसकेको बताए। ‘अहिले नगरपालिकाबाट प्राप्त रकमले केही कामहरु गरिरहेका छौं,’ उनले भने, ‘बाह्य सहयोगको खोजीमा छौं, कुरा भइराखेको छ, खातामा रकम आइपुगेको छैन।’

नमुना समाजले पुस एक गते नगरपालिकालाई पठाएको पत्र ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App