१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्ने

पत्रकार सम्मेलनमा बैंकका कर्मचारी। तस्बिर: नागरिक

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। ‘बाँच र बचाऊ रणनीतिअन्तर्गत कोरोना प्रभावित व्यवसायीलाई अझै सहयोग गर्ने पक्षमा छौैं,’ बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने, ‘कोरोनाअघि डिफल्ट भइसकेकाको हकमा भने नियमानुसार असुली हुन्छ।’

कोरोना महामारीले प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले गत आर्थिक वर्ष २६ करोड रूपैयाँ छुट दिएको जनाएको छ। देवकोटाले कोरोना महामारीको बेला समग्र अर्थतन्त्रमा समस्या आउँदा पनि गत आर्थिक वर्ष र अहिलेको दोस्रो चौमासको तुलना गर्दा बैंकले समग्रमा १२ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। बैंकको खुद ब्याज आम्दानी १२.३९ तथा नेट फी एन्ड कमिसन १८ प्रतिशतले वृद्धि भएको जनाइएको छ। सञ्चालन नाफा, ट्रेडिङ आम्दानी पनि वृद्धि भएको बैंकले जनाएको छ। कोरोना महामारीकै अवधिमा वितरणयोग्य नाफा ३६.५५ प्रतिशतले वृद्धि भएको देवकोटाले बताए। 

कोरोना महामारीको बेला बैंकले प्राप्त गरेको सफलताका कारण अबको तीन वर्षमा उत्कृष्ठ १० बैंकभित्र पर्ने लक्ष्य लिएको उनले पत्रकार सम्मेलनमा घोषणा गरे। त्यस्तै ख र ग वर्गका वित्तीय संस्थालाई अक्वायर गर्ने बैंकले नीति लिएको बताइयो। चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई अर्को वर्ष दोहोरो अंकको लाभांश दिने देवकोटाले दाबी गरे।

प्रकाशित: २१ माघ २०७७ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App