१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चौधरीको नेतृत्वमा कांग्रेसको ‘गरिखाने अभियान’

सय नयाँ ‘स्टार्टअप’लाई सघाउने

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा अद्योगी तथा कांग्रेस नेता विनोद चौधरीलगायत । तस्बिर : रितेश/नागरिक

नेपाली कांग्रेसको एउटा विशेष समितिले सयवटा ‘स्टार्टअप’ (नयाँ उद्यम) लाई सघाउने कार्यक्रमका रूपमा उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ।

कांग्रेसको लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिमार्फत देशका सातैवटा प्रदेशमा सयवटा ‘स्टार्टअप’लाई सघाउन यो अभियान सुरु गरिएको हो। बिहीबार वीरगन्जमा पत्रकार सम्मेलन आयोजित गरी कांग्रेस नेता समेत रहेका चौधरीले यसको घोषणा गरे।

युवा लक्षित ‘गरिखाने अभियान’बारे जानकारी गराउदै कांग्रेस नेता चौधरीले बेरोजगारी समस्या न्यून गर्न, आपूर्ति र उत्पादन तथा माग र उत्पादनबीचको खाडल पूर्ति गर्ने र समाज देशमा गरिखानेको बाहुल्यता स्थापित गर्ने ध्येय रहेको बताए।  

उनका अनुसार रोजगारी र उद्यमको बजारमा रहेका नेपालका ६० लाख युवा जमात आपूर्ति र उत्पादनबीचको खाडलमा उभिएका छन्। उनीहरूलाई दिशा दिन जरुरी रहेको महसुस गर्दै उद्यमशीलता र अवसरसँगै रोजगारी सिर्जना गर्न तिनै युवा लक्षित यो अभियान भएको उनले बताए। ‘देश दुनियाँ देखेका बुझेका आजका ती युवाको हातमा इन्टरनेट छ, उनीहरूका आफ्नै आकांक्षा र सपनाहरू छन्,’ चौधरीले भने, ‘उनीहरूका लागि राज्यले अवसर दिन सकेन भने मुलुक सामाजिक कठिनाइमा फस्नेछ, भोलिका बाटाहरू अझै कठिन हुन सक्छ, व्यवस्थित प्रणालीको माध्यमबाट अवसरको मार्ग खोल्नुपर्छ।’

युवाले गर्न चाहेको कामलाई योजनाको रूप दिँदै बैंकले पत्याउने हिसाबले प्रस्तुत गर्न, सही ढंगले त्यसलाई कार्यान्वयन गर्न र सफलताका साथ सञ्चालन हुने अवस्थामा पु¥याउन आवश्यक पर्ने भएकोले यस अभियान अन्तर्गत छनोटमा पर्ने युवालाई यी सबैमा सघाउने अभियानको उद्देश्य रहेको उनले प्रस्ट्याए। ‘अब उद्यम लगानी र पूर्वाधार दिगो विकासको प्लेटफर्म बन्नुपर्छ, त्यसका लागि एउटा यस्तो सिस्टम बनाउनुपर्छ, जुन सिस्टमले केही गर्ने आत्मविश्वास बोकेका युवाहरूको सोचलाई कार्यान्वयनमा लैजान सारथी बन्न सकोस्,’ अभियानका संयोजक रहेका चौधरीले भने, ‘धेरै नेपालीले देश सम्पन्न भएको सपना देख्छन्। जो गरिखानेमा विश्वास गर्छन्, ठगी खानमा वा मागी खानमा होइन। यस्तो जमातलाई अझै व्यापक बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

अभियान नेपाली कांगेसकै भएको तर गरिखानेमा विश्वास राख्ने र नयाँ सोच र योजना लिएर आउने युवाहरूसँग तिमी कुन पार्टीसँग आबद्ध छौ भनेर नसोधिने चौधरीले बताए। कार्यकर्ता, नेविसंघ, तरुण दल लगायत सबैलाई यसमा जोडेर पार्टीभित्र पनि गरीखानेको बाहुल्यता बनाउन चाहेको बताए। पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, कांग्रेस रौतहटका सभापति अजयकुमार द्विवेदी लगायत नेताहरूको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुंगटाले नेपालीको जीवनस्तर रूपान्तरण सोचका साथ ‘गरिखाने अभियान’ सुरु गरिएको बताए। नेपाली जनतालाई गरिखाने बाटोमा लैजाने र पछि उनीहरूलाई हुने खाने बनाउने यस अभियानले योजना लिएको उनले बताए।

प्रकाशित: १६ माघ २०७७ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App