१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बन्द रहेको हाटबजार बल्ल खुल्यो

हाटबजारमा तरकारी किन्दै गरेका सर्वसाधारण । तस्विर ः नागरिक

राजमार्ग र बजार नजिकै भएकाले गोरखाको शहिदलखन गाउँपालिका–३ रामशाह बजारको हाटबजार  कोरोनाको त्रासअघि निकै नै चल्थ्यो । गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा स्थानीयले हाट संचालन गरेका थिए । तर कोरोनाका कारण हाटबजार एकाएक बन्द भयो । कोरोनाले झन्डै १० महिना बन्द रहेको हाटबजार बल्ल खुलाइएको छ ।  

‘चैत दोस्रो हप्तादेखि बन्द रहेको हाटबजार अहिले सुरु भएको छ’ नयाँपुल कृषि उपज बजार संचालक समितिका अध्यक्ष झकलबहादुर थापाले भने, ‘संक्रमण केही घटेपछि हामीले पनि हाट सुरु गरेका हौ ।’ मंसिर २७ गतेदेखि सुरु भएको हाटबजारमा गत शनिबार एकैदिन चारलाख रुपैयाँ भन्दा बढीको कारोबार भएको संचालक समितिले जनाएको छ । झन्डै पाँचसय जना ग्राहकले हाट बजारमा किनमेल गरेका छन् ।  

‘गत हप्ता भन्दा अहिले मानिस धेरै आउन थालेका छन्,’ कोषाध्यक्ष चित्रबहादुर बयलकोटीले भने ‘किसानले बजारमा ल्याउने बस्तु पनि बढाउँदैछन् । हाटमा खरिद गर्न आउने मानिस पनि बढ्दै जानेछन ।’ हाट बजार लगेर बिक्री गर्ने उद्देश्यले किसानले फलाएको तरकारी कोरोनाका कारण बिक्री नहुँदा अहिले कम उत्पादन भएको उनले बताए । ‘बजार नै नपाएपछि किसानले पनि उत्पादन बढाएनन,’ उनले भने, ‘अब भने तरकारी फलाउन थालेका छन् ।’    

यहाँ हरेक हप्ताको शनिबार हाट बजार संचालन हुँदै आएको छ । मनकामना गाउँपालिका, गण्डकी गाउँपालिका र केही अन्यत्र ठाउँका किसानले उत्पादन भएको कृषि सामाग्री हाटबजारमा बिक्रीका लागि ल्याउने गर्छन । कोरोना सुरु हुनअघि ८ देखि १० हजार किलो कृषि उपज बिक्री गर्ने किसानले कोभिडपछि दुई देखि चार हजार किलोमात्रै बिक्री गरेको बताउँछन् । ‘पहिले धेरे मानिस आउँथे, अहिले कोरोनापछि यहाँ किन्न आउने मानिस पनि घटेका छन्’ हाटबजारमा तरकारी बिक्री गर्दै गरेकी कल्पना बयलकोटीले भनिन् । बजारमा बिक्री गर्न लैजाँदा दिनभर डुलाउनुपर्ने, हाटबजारमा ग्राहक आफै खोज्दै आउने हुँदा केही सस्तो दिँदा पनि सजिलो भएको उनले बताईन ।  

हाटमा रहेका स्टलमध्ये २० वटा स्थानीय कृषि उत्पादनका लागि छुट्याइएको छ । थोक तरकारी बिक्रेताका लागि तीनवटा, माछा, मासुका लागि एउटा, खाजाको तीनवटा र फेन्सी छ वटामा छन् । ‘किसानलाई हाट बजार आएका बेला तरकारीसँगै फेन्सीका केही सामग्री आवश्यक परेमा खरिद गर्न सहज हुने गरी केही स्टल राखेका छौं,’ हाटबजार संचालक समितिका अध्यक्ष झकलबहादुर थापाले भने । स्थानीय कृषकले हाटबजारमा स्टल राखे बापत प्रतिहप्ता ५० रुपैयाँ, थोक र फेन्सी ब्यापारीले प्रतिहप्ता एकसय ५० रुपैयाँ शुल्क समितिलाई बुझाउनुपर्छ ।

प्रकाशित: १२ पुस २०७७ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App