५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

'माग सम्बोधन नभए सिंहदरबारमा ट्याक्सी बुझाउँछाैं'

लामो समयदेखिको बन्दाबन्दी (लकडाउन)का कारण  ट्याक्सी चलाउन नपाउँदा आम्दानीको स्रोत बन्द भएको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।  

ट्याक्सी व्यवसायीले रोगले नभई भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेका थिए ।  माग सम्बोधन नभएपछि  आन्दोलन गर्न बाध्य भएको व्यवसायीको भनाइ छ ।  

अखिल नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका अध्यक्ष दीपक केसीले सरकारलाई १५ असारसम्म माग सम्बोधन गर्न समय दिइएको र सरकारले बेवास्ता गरेपछि विरोधस्वरूप ट्याक्सीको चाबी यातायात व्यवस्था विभागमार्फत सरकारलाई बुझाइएको बताए ।  

उनले ट्याक्सी सञ्चालन गर्न नपाउँदा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभागमार्फत सरकारलाई चाबी बुझाइएको बताए । उनले अहिले ट्याक्सी मात्रै बुझाइएको तर सरकारले सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनीसमेत दिए । उनले निजी गाडी सञ्चालन गर्दा कोरोना नलाग्ने तर ट्याक्सी सञ्चालन गर्दा लाग्ने जस्तो गरी सरकारले व्यवहार गरेको बताए ।  

अध्यक्ष केसीले प्रधानमन्त्रीले समेत कोरोना ठूलो रोग नभएको बताइसकेकाले लकडाउन गरेर मजदुरलाई बन्दी बनाउन नहुने बताए । उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो यो ठूलो रोग होइन, समान्य रुघा खोकी हो । हाच्छिउँ गरे निको हुन्छ । तातो पानी र बेसार खाए निको हुन्छ । एकातिर त्यसो भन्ने अर्कातिर हामीलाई बन्दी बनाइराख्ने ।’

व्यवसायीले ट्याक्सी सञ्चालन गर्न नपाउँदा दैनिकी चलाउनसमेत समस्या भएको गुनासो गरेका छन् । उनीहरुले सरकारका कारण ट्याक्सी चलाउन नपाउँदा घरमा खाने कुरा सकिएको र रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थितिमा आफूहरु पुगेको बताएका छन् ।  

दिनभर काम गरेर बेलुका खानुपर्ने मान्छेहरुलाई सरकारले बेवास्ता गरेको  उनीहरुको गुनासो छ ।  

व्यवसायीहरुले व्यवस्थित तरिकाले पछाडिको सिटमा दुई जना मात्र राखेर ट्याक्सी चलाउन पाउनुपर्ने बताएका छन् । उनीहरुले स्यानिटाइनजर र मास्कसहित पछाडि दुई जना राखेर उपत्यकाभित्र ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै यसअघि नै ज्ञापनपत्र बुझाएका थिए । सरकारबाट माग सम्बाेधन नभएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रकाशित: १६ असार २०७७ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App