२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लकडाउन बहाना : भारतीय पक्षले रोक्यो नेपाली चिया

इलामको जस्बिर चिया उद्योगमा प्याकेजिङका लागि तयारी चिया ग्रेडिङ गर्दै महिला । तस्बिर : भीम/नागरिक

लकडाउनको बहानामा भारतीय पक्षले नेपाली तयारी चिया निकासीमा रोक लगाएको छ । लकडाउनकै कारण मुख्य सिजनकै हरियो चियापत्ती टिप्न नपाउँदा करोडौंको घाटा सहेका किसान र उद्योगी बचेखुचेको तयारी चियासमेत बेच्न नपाउँदा झन् समस्यामा परेका छन् ।

पूर्वका जिल्लामा उत्पादित तयारी चिया भारत निर्यात हुने मुख्य नाका पानीट्यांकीबाट लकडाउनयता निर्यात हुन सकेको छैन । कृषिजयन्य उत्पादन आयात–निर्यातमा दुवै देशले रोक नलगाए पनि नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले ‘अघोषित प्रतिबन्ध’ गरेको उद्योगी बताउँछन् । चिया निर्यातमा भारतको केन्द्रीय तहले नभई पश्चिम बंगाल राज्य सरकार अनुदार देखिएकाले निर्यात अवरोध भइरहेको उनीहरूको अनुमान छ ।  

अहिले काँकरभिट्टा नाकामा भारततिरबाट कुनै पनि रित्तो गाडी आउने गरेका छैनन् । पानी ट्यांकीसम्म आएका गाडी यता नआउँदा र नेपाली गाडी भारत छिर्न नपाउँदा तयारी चिया रोकिएको उद्योगी बताउँछन् । झापास्थित नेपाल टी प्लान्टर एसोसिएसनका अध्यक्ष सुरेश मित्तल पश्चिम बंगालले घोषित रूपमा रोक नलगाएको तर व्यवहार हेर्दा नेपाली चिया भारत छिर्न नदिने प्रपञ्च गरेको बताउँछन् । 

‘अहिले तयारी चिया कुनैपनि कारणले नरोकिनुपर्ने हो तर नाकाबाट कुनैपनि हालतमा छिराउन दिइएको छैन,’ उनले भने, ‘केही समयअघि पश्चिम बंगालका चिया उत्पादकले नेपाली चियाबारे गलत चर्चा गर्नु र अहिले निर्यात रोकिनुको सोझो सम्बन्ध देखिन्छ, यो नेपाली चिया रोक्ने प्रोपोगण्डा नै हो ।’

निर्यात हुन नपाउँदा झापामा पाँँच लाख किलोभन्दा बढी तयारी चिया भण्डारण भइरहेको उनले बताए । ‘निर्यात रोकिए पनि उत्पादन र प्रशोधन रोक्न नमिल्ने भएकाले अब भण्डारणमै समस्या हुन थालेको छ,’ मित्तलले भने, ‘उत्पादन बिक्री नहुँदा कामदारलाई ज्याला दिनसमेत समस्या पर्न थालेको छ ।’ उनले स्थानीयदेखि राष्ट्रियस्तरका निकायसम्म पहल गर्दा पनि निर्यात खुलाउन सहजीकरण नभएको गुनासो गरे ।  

नेपालमै बढी चिया उत्पादन हुने झापामा मात्र होइन, इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा उत्पादन भएको तयारी चियासमेत निर्यात अवरोधले रोकिएको छ । केही चिया जोगबनी नाकाबाट निर्यात हुने भएपनि ढुवानी खर्च र झन्झट पनि बढी हुने भएकाले यहाँका उद्योगीले जोगबनी नाका प्रयोग गर्न सकेका छैनन् । वर्षकै सबैभन्दा गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस)को चियासमेत टिप्न र प्रशोधन गर्न नपाएका किसान, उद्योगीले निर्धारित समयभन्दा महिना दिनपछि भएपनि बचेखुचेको पत्ती टिपेका थिए । तर, त्यही उत्पादन पनि निर्यात हुन नसक्दा दोहोरो घाटा भइरहेको छ ।  

निर्यात रोकिँदा इलाममा मात्रै करिब १० लाख किलो तयारी चिया स्टक रहेको उद्योगी बताउँछन् । इलाम चार र झापाका तीन चिया सरकारी बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले यो वर्ष तयारी चिया बेच्न नपाउँदा एक लाख किलोभन्दा बढी भण्डारण गर्नुपरेको जनाएको छ । समूह अध्यक्ष सुवास सांघाईले फस्ट फ्लस टिप्न नपाउँदा करिब तीन करोड रुपैयाँ घाटा बेहोर्नुपरेको बताए । ‘फस्ट फ्लसको घाटा त छँदैथियो, अहिले तयारी चियासमेत निर्यात नहुँदा झन् समस्या भएको छ,’ उनले भने, ‘समयमै बेच्न नपाए तयारी चिया पनि साविकको आधा दाममा मात्रै जान्छ ।’  

६२ चिया उद्योग आबद्ध रहेको सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनले यो वर्ष करिब आठ लाख किलो तयारी चिया बेच्न नपाएको जनाएको छ । ‘लकडाउनकै कारण सूर्याेदयका उद्योगमा फस्ट फ्लसमा मात्रै करिब ४० हजार किलो चिया नोक्सान भयो,’ एसोसिएसनका सचिव गोपाल कट्टेलले भने, ‘बल्ल चिया टिपाइ र प्रशोधन त सुरु भयो, निर्यात नै रोकिएपछि अर्काे समस्या थपिएको छ ।’ उनले लकडाउनको बहाना गरेर भारतीय पक्षले नेपाली चिया निर्यात नै हुन नदिने प्रयास गरिरहेको बताए । ‘बर्सेनि नेपाली चिया भारतीय पक्षले कुनै न कुनै बहानामा अवरोध गरिरहेकै थियो,’ कट्टेलले भने, ‘यो वर्ष लकडाउन बहाना भइदियो ।’  

उत्पादनका हिसाबले फस्ट फ्लसको परिमाण वर्षभरको एक चौथाइ मात्रै हो । तर, यही टिपाइको चियाले उद्योगी–किसानको वर्षभरको लगानी बेहोरेको हुन्छ । उद्योगीले देश–विदेशका विभिन्न व्यापारीलाई उच्च गुणस्तरको नमुना पठाउने चिया पनि त्यहीबेला उत्पादन हुन्छ । तर, गएको चैत–वैशाखमा कोरोनाको त्रासकै कारण हरियोपत्ती टिपाइ हुन सकेन । विश्व बजारमा बर्सेनि नेपाली तयारी चियाको माग धान्न नसकिने गरेकामा यो वर्ष विश्वभर फैलिएको कोरोना त्रासकै कारण कुनै पनि व्यापारीले तयारी चिया माग नै गरेनन् ।

पहाडी जिल्लामा उत्पादन हुने गरेको उच्च गुणस्तरीय अर्गानिक अर्थाेडक्स चिया जर्मनी, फ्रान्स, अमेरिका, चीन, रुस, जापान, नेदरल्यान्डलगायत दर्जनौं मुलुकमा निर्यात हुन्छ । केही आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ठूलो परिमाणको तयारी चिया चाहिँ भारत निकासी हुन्छ । इलाम, पाँचथर र धनकुटाबाट ठूलो परिमाणको अर्गानिक अर्थाेडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ । ‘तेस्रो मुलुक जाने चिया निर्यातमा पनि भारतकै मुख हेर्नुपर्ने बाध्यता भएकाले यो वर्ष निकासीमा समस्या आएको छ,’ चिया उद्योगी उदय चापागाईंले भने, ‘हामीले पनि दुई कन्टेनर तयारी चिया तेस्रो मुलुक पठाउन तयारी गरेर भारतको मुख हेरिरहेका छौं ।’  

केही उद्योगले गतवर्ष उत्पादन गरेको तयारी चियासमेत बिक्री गर्न बाँकी नै थियो । यो साल बिक्री गर्नलाई राखिएको चियासमेत लक डाउनका कारण थन्किँदा दोहोरो घाटा हुने अवस्था आएको उद्योगी सरद सुब्बा बताउँछन् । यो बेलाको निर्यात अवरोधले गतवर्षकै ११ हजार किलो तयारी चियासमेत बेच्न नपाएको उनले जनाए ।

नेपालबाट बर्सेनि सवा तीन अर्बको तयारी चिया निर्यात हुन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन् । बोर्डका अनुसार देशभर एक सय आठ ठूला चिया उद्योग र बगान छन् । चिया खेती गर्ने किसानको संख्याका आधारमा इलाम देशमै पहिलो हो । तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुन्छ । अध्ययनअनुसार इलाममा पाँच हजार पाँच सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन् । झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै चियाबाट भइरहेको छ ।

प्रकाशित: ११ जेष्ठ २०७७ १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App