१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

धान रोप्ने बेला भो, मल छैन

नेपाल केन्द्रीय कृषि सहकारी संघका महाप्रबन्धक रुद्र भट्टराईको मोबाइलमा अचेल रासायनिक मलको खोजी गर्दै दैनिक सयभन्दा बढी फोन आउँछ । ‘सबैतिर मलको आवश्यकता बढ्न थाल्यो । गाउँगाउँमा सदस्य सहकारी छन् । मल चाहियो भनेर फोन गर्छन्,’ उनले भने, ‘धुलिखेलमा मल छ । रामेछाप र दोलखाबाट माग आइरहेको छ । पुर्याउन सकिएको छैन ।’  

उनले कतै पर्याप्त मात्रामा मौज्दात रहेको कतै मल नै पाउने नसक्ने अवस्था रहेको बताए । ‘मल जति पनि छ भन्ने अवस्था त कहिले पनि भएन । अहिले संसारै महामारीमा रहेको बेलामा उपलब्ध हुने कुरै भएन,’ उनले भने, ‘मल सुनभन्दा महत्वपूर्ण भयो, सरकारले अगाडि नै खरिद गरेर ठाउँठाउँमा स्टक गर्नुपथ्र्यो त्यो भएन ।’  

उनले सरकारले सबै क्षेत्रलाई समानुपातिक रुपमा वितरण गर्नुपर्नेमा पहुँचका भरमा सीमित झोले सहकारीलाई मल दिएको आरोप लगाए । उनले भने, ‘साबिकको एक गाविसमा एक व्यवस्थित कृषि सहकारी छ । तर तिनले मल पाएका छैनन् । जसले पाएको छ, मनपरी तरिकाले वितरण गरेको छ ।’

मुख्य बालीको रुपमा रहेको धान रोप्ने समय नजिकिँदै गर्दा रासायनिक मलको समस्या देखिन थालेको छ । मुलुकभर करिब १५ लाख हेक्टरमा धान खेती हुन्छ । यही समयमा साढे नौ लाख हेक्टरमा मकै खेती समेत हुने भएकाले मलको चरम अभाव देखिएको हो ।  

कृषि सामग्री केन्द्र लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेल अहिले केन्द्रसँग १५ हजार ६ सय टन युरिया, १८ हजार टन डिएपी र चार हजार तीन सय टन पोटास मौज्दातमा रहेको बताउँछन् । उनले ५० हजार टन युरिया र २४ हजार पाँच सय डिएपीको लाागि प्रतीतपत्र (एलसी) खोलेको र आउन अझै कम्तीमा दुई महिना लाग्ने बताए ।  

‘भएको मौज्दातले थेग्न सक्दैन । खरिद भएको मल कलकत्तामै थन्किएर रहेको छ,’ उनले भने, ‘कोरोना महामारीको असहज परिस्थितिका कारण हामीले चाहँदैमा समयमै आयात गर्ने अवस्था छैन । विश्व नै लकडाउन भएको अवस्थामा कसरी समयमै आउन सक्छ ?’  

उनले कृषि सामग्री केन्द्रसँग भएको रासायनिक मललाई हरेक जिल्लामा पठाएर जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा समानुपातिक ढंगबाट वितरण गरिँदै आएको बताए । ‘मल अभावको अवस्थामा थोरै भए पनि सबैका पुगोस् भन्ने मान्यताका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘यसको अनुगमन पनि भएको छ । अनियमितता गर्नेमाथि कारवाही पनि गरिँदै आएको छ ।’

कृषि सामग्री केन्द्रले थप रासायनिक मल खरिदको लागि टेन्डर सूचना निकाले पनि लकडाउनको कारण पर्याप्त निवेदन नआएको उनले बताए ।

‘सम्पर्कमा रहेको सप्लायर्सलाई अनुरोध पनि गरेकै छौं, पटकपटक गरी एक महिनासम्म म्याद थपिसक्यौं, तर पनि सप्लायर्स आएनन्,’ पोखरेलले भने, ‘हाम्रो उद्देश्य बढीभन्दा बढी प्रतिस्पर्धा गराउनु हो । सहभागिता र पारदर्शिताको लागि पनि प्रतिस्पर्धाको विकल्प छैन ।’ 

उनले मल अभाव हुने देखिएपछि मन्त्रालयसँग विकल्पमाथि छलफल भइरहेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा टेन्डर प्रक्रियाबाट सम्भव नभए सरकार सरकारबीच सम्झौता (जिटुजी) को माध्यमबाट भए पनि खरिद गर्न सकिने विकल्पमा छलफल भइरहेको छ ।’

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारी दुई महिनाअघि नै खरिद प्रक्रिया पूरा गरेर कलकत्तासम्म आएर रोकिएको बताउँछन् । ‘२१ हजार पाँच सय टन युरिया र १२ हजार पाँच सय टन डिएपी कलकत्तामा लेबर नपाइएको कारण डेढ महिनादेखि जहाजमै छ,’ प्रवक्ता राजभण्डारीले भने, ‘कलकत्ताबाट लोड भएपछि पनि विभिन्न प्रक्रियाका कारण छिटोमा एक महिना लाग्ने भएपछि असारभन्दा अगाडि आउने सम्भावना देखिन्न ।’  

अहिले साल्ट ट्रेडिङसँग युरिया नौ हजार टन, डिएपी १४ हजार टन र पोटास दुई हजार टन मौज्दात रहेको उनले जानकारी दिए । साल्ट ट्रेडिङले लकडाउनका कारण सर्वसाधारण खरिदको लागि आउन नसकेपछि जनप्रतिनिधिमार्फत उपलब्ध गराउँदै आएको छ । 

‘यो मल खोजी हुने समय हो । तर लकडाउनका कारण किसान हामीसम्ममा आउन सक्ने अवस्था छैन । त्यसैले जनप्रतिनिधिमार्फत समान रुपले वितरण गरिरहेका छौं, केही सजिलो भएको छ,’ उनले भने, ‘मल इतिहासमै कहिल्यै पर्याप्त भएन । सरकारले प्रयास गरेकै छ तर कोरोनाको कारण झनै समस्या देखियो ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी असारसम्मको लागि अहिलेकै मौज्दातले पुग्ने दाबी गर्छन् । ‘असारसम्मलाई अहिलेकै मौज्दातले काम गर्छ । असार अनितमतिर केही समस्या देखिएला,’ उनले भने, ‘हामीले नियमित मौज्दात अद्यावधिक गर्दै आएका छौं । असारपछि बढी आवश्यक पर्ने भदौमा हो । त्यति बेलासम्म आयात भइसक्छ ।’  

प्रवक्ता केसीले लकडाउनको बेला किसानले अन्य खाद्यान्न जस्तै रासायनिक मल पनि आवश्यकताभन्दा बढी जम्मा गरेको पाइएको दाबी गरे । उनी भन्छन्, ‘विगतका तथ्यांकलाई तुलना गरेर हामीले हेर्यौं । यो चौमासिकमा अलि बढी नै मल बिक्री भएको देखिएको छ । यसले मल पनि स्टक राख्ने गरेको देखाउँछ ।’ उनले कोरोनाको कारण रासायनिक मल बाहिर पठाउन समस्या भइरहेको पनि बताए ।

प्रकाशित: ७ जेष्ठ २०७७ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App