१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पाखो खेतबारी गुल्जार बन्दै

तरकारी खेतीमा खट्दै बराहक्षेत्र–१ सूर्य कुण्डका अर्जुन राई।

इटहरी - आठ वर्ष अघिसम्म यहाँको पाखो खेतबारीमा पुरै मकै–कोदो लगाए पनि बिहान–बेलुकाको गर्जो टार्न समस्या हुने गथ्र्यो। गाउँले कसैले पनि सोचेका थिएनन्, पाखो खेतबारीमा एक दिन जे लगाए पनि सधैंभरि मुनाफा हुने चिजले भरिएला।   मिहिनेत गर्दा पाखोबारीमा पनि सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेको छ यतिबेला बराहक्षेत्र–१ को सूर्य कुण्ड गाउँ। आँखाले भ्याउने गरी पुरै भिरालो बारी अमलिसोले भरिएको छ। कहीँकहीँ अदुवा, बेसार अनि ठाउँ–ठाउँमा तरकारी खेती लगाइएको छ।

स्थानीय अर्जुन राईले भने, ‘अहिले हामी सामूहिकरूपमा गाउँमा अर्गानिक तरकारी खेती गरिरहेका छौं। तर, विगतका दिन सम्झिँदा यति चाँडो परिवर्तन होला भनेर सोचिएको थिएन।’ जाँगर भए जस्तोसुकै स्थानमा पनि गुल्जार हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन, यस गाउँका बासिन्दाले। अर्जुनसहित छ जनाले सामूहिक तरकारी खेती गरेका छन्। अर्जुनसहित पाँच जना विदेश पुगेर फर्किएका युवा हुन् भने एक जना कृषि विज्ञले साथ दिएर तरकारी खेती गर्न थालेका हुन्। ‘अहिले सुरुवातमै छौं, तर तरकारी खेतीबाट थोरै ठाउँमा धेरै मुनाफा निकाल्न सकिँदो रहेछ भन्नेचाहिँ अनुभव भएको छ,’ उनले भने, ‘आर्थिक क्रान्ति ल्याउन अब परम्परागत शैली होइन, नयाँ प्रविधि र नयाँ ढंगको सोचले अघि बढे मात्र सम्भव रहेछ।’

आफ्नै मातृभूमि र माटोमा तरकारी खेती गरेर परिवर्तन ल्याउँदा जति गर्व लागेको छ सरकारले किसानलाई सहुलियतमा ऋण उपलब्ध गराउने भने पनि पहुँच नपुगेर नपाउँदा उत्तिकै दुःख लागेको उनले अनुभव सुनाए। ‘सरकारले सहुलितमा ऋण दिने त भनेको छ,’ उनले भने, ‘तर, हामीले त धेरै प्रोसेस गर्दा पनि पाएका छैनौं।’ सोही ठाउँका तपेन्द्र राईका अनुसार, भिरालो पाखो जमिनमा पहिला–पहिला प्रायले मकै र कोदो रोप्थे। मकै र कोदो जति रोप्दा पनि स्थानीयलाई बिहान–बेलुकाको गर्जो टार्न समस्या भएपछि अनेक विकल्प खोज्ने काम भयो। सुरुमा अमलिसो खेती गर्ने स्थानीयले सोच बनाए।

‘सुरुमा अमलिसो खेती व्यावसायिक बन्नेमा गाउँलेले आशंका गरे पनि अटोमेटिक रूपमा उत्पादन भएपछि व्यावसायिक रूपमा गर्न थालेका हुन्,’ तपेन्द्रले भने, ‘अहिले त अमलिसो खेती मात्र पाँच सयभन्दा बढीले गर्छन्।’ स्थानीयले अमलिसोसँगै बेसार र अदुवा पनि लगाउने गरेका छन् । पछिल्लो समय सामूहिकरूपमा तरकारी खेती पनि सुरु भएको छ। बराहक्षेत्रलाई बेसारको जोन पनि मानिएको छ। नेपाल सरकारले सुरुमा विष्णुपादुकालाई टार्गेट गरेर बेसार उत्पादन गरेको  थियो। तर, पछि बराहक्षेत्रलाई पनि समेटेको हो। बढी मात्रामा बेसार खेती हुने क्षेत्र पनि बराहक्षेत्र नै हो।

आठ-१० क्विन्टलसम्म वार्षिकरूपमा प्रतिपरिवार बेसार उत्पादन हुने गरेको छ। यहाँका बासिन्दाको न्यूनतम १० कट्ठादेखि बढीमा दुई बिघासम्म जग्गा रहेको स्थानीय सामाजिक अभियन्ता हिमाल ठटालले बताए। त्यसो त बराहक्षेत्र–१ को सूर्य कुण्डमा स्ट्रेबरी खेती पनि लगाइएको छ। कृषि विज्ञ ससन देवकोटा मार्फत सामूहिक तरकारी खेती गर्ने युवा समूहले अमेरिकाबाट बीउ ल्याएर स्ट्रेबरी खेती गर्न थालेकोमा ट्रायल सफल भएको छ। हिमाल र केही पहाडी जिल्लामा उत्पादन हुँदै आएको स्ट्रेबरीको उत्पादन पनि यहाँ सम्भव देखिएको छ।

सामूहिक तरकारी खेती गर्ने समूहका युवा अर्जुन राईका अनुसार, सुरुमा दुई कट्ठा हाराहारी जमिनमा लगाएको स्टे«बरी अहिले उत्पादन भएर बिक्री गर्न थालिएको छ। १५ केजी त बिक्री गरिसकिएको छ। अब धमाधम उत्पादन हुने क्रममै छ। यसको स्थानीय बजारभाउ ६ सय रुपैयाँ प्रतिकेजी छ। स्ट्रेबरी खेतीका लागि पाँचदेखि २५ डिग्रीसम्मको तापक्रम चाहिन्छ। यस्तै, एक हजारदेखि दुई हजार अल्टिच्युडसम्म यसको व्यावसायिक खेती गर्न सकिन्छ। तापक्रम मिलाउनुपर्ने हुँदा यहाँका किसानले टनेल बनाउनुका साथै थोपा सिँचाइ प्रविधिको प्रयोग गरेका हुन्। स्ट्रेबरीको फलसँगै बिरुवा पनि बिक्री गर्न सकिन्छ। समूहले अमेरिकाबाट दुई लाखबराबरको बिरुवा ल्याएको थियो।

त्यसो त बराहक्षेत्र–१ कै कटाहरेका अधिकतर गाउँलेले पनि व्यावसायिक तरकारी खेत थालेका छन्। ८७ घरधुरी रहेको उक्त गाउँका स्थानीय अर्गानिक तरकारी खेतीमा लागेका हुन्। स्थानीय जयबहादुर राईका अनुसार तरकारी खेतीले पुरै परिवर्तन ल्याएको छ। गाउँलेले सिजनअनुसारको बोडी, टमाटर, खोर्सानी, कोबी, करेलालगायतका तरकारी व्यावसायिकरूपमा लगाउने गरेका छन्। तराईको सुगममा पर्ने भए पनि बराहक्षेत्र–१ अन्तर्गत गर्ने सूर्य कुण्ड र कटहरे दुवै गाउँ दुर्गममा पर्छन्।

सूर्य कुण्डका बासिन्दा बर्खाको बेला चतरा झर्न सक्दैनन्। बर्खाको बेला धरान पुग्नुपर्छ। चतरा बजारबाट उत्तर डेढ घण्टाको उकालो हिँडाइपछि मात्र कटहरे गाउँ पुगिन्छ।स्थानीय गाउँलेलाई मानव विकास तथा वातावरण संरक्षण मञ्च हुडेप नेपालको सहकार्यमा युएनडिपीको सहयोगमा बेलाबेलामा अर्गानिक तरकारी खेतीबारे तालिम दिने गरिएको छ। ‘गाउँलेले गरेको कार्यमा हामीले ऊर्जा थप्ने काम गरिरहेका छौं,’ हुडेपका प्रमुख डिल्ली कार्कीले भने।

प्रकाशित: २४ पुस २०७६ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App