१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पुल निर्माण गर्ने उपभोक्ता समितिका पदाधिकारी ऋणमा

सर्लाहीको परवानीपुरस्थित झरझरा खोलामा उपभोक्ता समितिले निर्माण गरेको झोलुंगे पुल । तस्बिर: टंक/नागरिक

सर्लाही – हाल विकास निर्माणका काममा ठेकेदारले समयमै काम सम्पन्न नगरेको वा म्याद नाघिसक्दा समेत काम नै सुरु नगरेका लगायत समाचारहरु छरपष्ट आइरहेका छन् । मोबिलाइजेसन बापत पैसा लिएर काम नै सुरु नगर्ने वा तोकिएको समयभित्र काम सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने सरकारले घोषणासमेत गर्दै आइरहेको छ।

तर जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित एक झोलुंगे पुल उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा समेत रकम भुक्तानी नपाउँदा समितिका पदाधिकारी ऋणमा डुबेका छन् । लालबन्दी नगरपालिका–१५, परवानीपुरस्थित धुसेनी–झरना झोलुंगे पुल निर्माण सम्पन्न गरे पनि सम्झौतामा उल्लेख भएअनुसार सात लाख ३८ हजार चार सय ३५ रुपैयाँ नपाउदा आफूहरु ऋणमा डुबेको उपभोक्ता समिति अध्यक्ष छोइरालमाया घलानले गुनासो गरिन् । ‘गाउँमा पनि बसिनसक्नु भइसक्यो, बजारतिर पनि मुख देखाउन डर लाग्छ,’ उनले गुनासो गरिन्, ‘गाउँमा पुल बनाउँदा काम गरेका मजदुर एवं ढुंगा गिट्टी ओसार्न प्रयोग भएका ट्याक्टरवालाले पैसा मागेका माग्यै छन्, बजारतिर सिमेन्ट लगायत सामान ल्याइएको हार्डवेयर पसलवालाले किचकिच गरेको गर्यै छन् ।’

पुल निर्माणका लागि ढुंगा, गिट्टी, बालुवा ओसार्न प्रयोग गरेको ट्याक्टर र मजदुरहरुले दसैं खर्च चाहियो भन्दै पैसा मागिरहेको तर आफूहरुले नै भुक्तानी नपाउँदा निकै अफ्ठ्यारोमा परेको अध्यक्ष घलानले गुनासो गरिन् । ‘खै सरकारले जिम्मा लिएको काम नगर्नेलाई कारबाही गर्ने भन्ने समाचार प्रशस्त आइरहेको छ तर, आफूहरुले सम्पूर्ण काम सम्पन्न गरे पनि भुक्तानी पाउन सकेका छैनौं,’ घलानले गुनासो गरिन्, ‘उल्टै गाउँठाउँमा मुख देखाएर हिँड्नै पो लाजमर्दो भएको छ।’

जिल्ला प्राविधिक कार्यालय मलंगवा, सर्लाहीले उपभोक्ता समितिमार्फत झरझरा खोलामा झोलुंगे पुल निर्माण गरेको हो । गत साउनमै निर्माण सम्पन्न भएको पुल स्थानीयले प्रयोग गर्न थालिसकेका छन् । तर निर्माण सम्पन्न भएको दुई महिनाभन्दा बढी समय बित्दासमेत भुक्तानी नपाउँदा उपभोक्ता समितिका पदाधिकारी निकै गत साउनमै काम पूरा भए पनि अहिलेसम्म सम्झौतामा उल्लेख भएअनुसार सम्पूर्ण भुक्तानी नपाउँदा उपभोक्ता समितिका पदाधिकारी अफ्ठेरोमा परेका हुन्।

झोलुंगे पुल उपभोक्ता समितिका कोषाध्यक्ष वीरबहादुर बोम्जनका अनुसार १३ लाख पुल निर्माणका लागि प्राविधिक कार्यालयसँग १३ लाख रुपैयाँमा सम्झौता भएको थियो । जसमध्ये पाँच लाख ६१ हजार पाँच सय ६५ रुपैयाँ पहिला नै भुक्तानी पाएको र बाँकी सात लाख ३८ हजार चार सय ३५ रुपैयाँ काम सम्पन्न भएपछि माग गर्दा जिल्ला प्राविधिक कार्यालयले कुनै वास्ता नगरेको उपभोक्ता समितिका पदाधिकारीको गुनासो छ।

जिल्ला प्राविधिक कार्यालय मलंगवा, सर्लाहीका सब–इन्जिनियर पे्रमचन्द पाण्डेले कार्यालय खारेज भएकाले झोलुंगे पुल निर्माण गरेका उपभोक्तालाई बाँकी रकम दिन नसकिएको बताए । ‘उहाँहरुले सम्झौताअनुसार असारमै काम सक्नु भएन, त्यसैले पुरा भुक्तानी हुन नसकेको हो,’ सब–इन्जिनियर पाण्डेले भने, ‘साउन लागेपछि हाम्रो कार्यालयकै विषयमा अन्यौलता छाएकाले उहाँहरुको भुक्तानीमा पनि समस्या भएको हो ।’ हेल्भेटासअन्तर्गत भएको उक्त कामको बाँकी रकम उल्लेख गरेर पठाइ सकिएकाले ढिला भए पनि समितिले भुक्तानी पाउने पाण्डेले बताए।

प्रकाशित: ३० आश्विन २०७५ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App