५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँचतारे होटलमा बजेट उडाउँदै सडक विभाग

मुलुक चरम आर्थिक मन्दीको मार खेपिरहेका बेला सरकारी निकायले बजेट ‘मनलागी’ उडाउने गरेका छन्। सरकारी कार्यालयले गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने नाममा नै ठूलो परिमाणको बजेट उडाउने गरेका हुन्। सरकारी कार्यालयबाट यसरी हुने ‘फजुल’ खर्चलाई नियन्त्रण गरेको पाइएको छैन।

सरकारी कार्यालयले विभिन्न कार्यक्रमका निहुँमा कसरी बजेट उडाउँछन् भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ, नेपाल सरकारको सडक विभागले हालै नेपालगञ्जमा आयोजना गरेको कार्यक्रम।

स्रोतका अनुसार विभागले मंगलवारबाट ठूलै जमघट गराएर सुरु गरेको गोष्ठीमा सरकारी बजेट ‘बालुवामा पानी हालेझै’ भएको छ। विभागले गोष्ठी आयोजना गरेको ‘होटल पाँच तारे’ स्तरको हो।

कार्यक्रममा सडक विभागका महानिर्देशक सुशिल बाबु ढकालसहित विभाग र भौतिक पुर्वाधार मन्त्रालयका उच्च अधिकारी तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सडकसँग सम्बन्धित कार्यालय प्रमुख लगायत सहभागी छन्।

गोष्ठीको दोस्रो दिन बुधवार उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ समेत सहभागी हुन आउने बताइएको छ। यस विषयमा प्रतिक्रिया लिन विभागका उपमहानिर्देशक एवम् प्रवक्ता रामहरि पोखरेललाई फोन गर्दा सम्पर्क हुने सकेन।

दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा वार्षिक सडक सम्भार र बेरुजुका विषयमा छलफल हुने विभागले उल्लेख गरेको छ। उक्त गोष्ठीमा पश्चिम नेपालका अधिकांश सडक कार्यालय प्रमुख तथा सडकसँग सरोकार राख्ने कार्यालयका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको छ। सडकका कर्मचारीको जमघटले सोल्टी होटलमा निकै चहलपहल पनि बढेको छ।

नेपालगन्जमा मध्यम स्तरका अन्य थुप्रै होटलले पनि राम्रो सेवा दिइरहेका छन्। अधिकांस कार्यालयले यिनै मध्य स्तरका होटलमा आफ्ना कार्यक्रम गर्छन्। सडक विभागले निकै ठुलो बजेट खर्च गरेर पाँच तारे होटलमा कार्यक्रम गरेपछि सर्बत्र चासो बढेको छ। विभागले भने पाँच तारे होटलमा ठुलै बजेट खर्च गरेर कार्यक्रम गरेको स्रोतले जनाएको छ।

सडक विभागले गरेको यो कार्यक्रमलाई सरकारी कार्यालयका कर्मचारीले नै व्यंग्य गरेका छन्। ‘गोष्ठी नै गर्नलाई त्यत्रो पाँच तारे होटलमा किन गर्नु पर्यो र ?’ एक सरकारी कार्यालयका कर्मचारीले भने ‘सडक विभागसँग धेरै पैसा भएर पनि सोल्टीमा गरेको होला।’

विभागले गोष्ठीमा बेरुजुका बारेमा छलफल गरिरहँदा पाँच तारे होटलमा गरिएको कार्यक्रमले आर्थिक सुशासनलाई गिज्याएको उनले सुनाए। ‘बेरुजुबारे पनि छलफल हुने यो गोष्ठी रहेछ, पाँच तारे होटलमा गरिएको यो कार्यक्रम आर्थिक सुशासनभित्र पर्छ कि पर्दैन ?’

प्रकाशित: ७ चैत्र २०८० ११:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App