७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

अर्थतन्त्र: बाह्य क्षेत्र सुध्रियो, आन्तरिक शिथिलता कायमै

कोभिड १९ महामारी, रुस–युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ। दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ।

तर, सार्वजनिक वित्तका सूचकहरू अहिले पनि सकारात्मक छैनन्। न्यून राजस्व असुली, कमजोर पुँजीगत खर्च, बढ्दो चालु खर्च, वर्षेनी बढिरहेको सार्वजनिक ऋण र त्यसको साँवा–ब्याजको दायित्वलगायतका समस्या ज्युँका त्युँ छन्।  

पुँजी निर्माण र आन्तरिक उत्पादनका क्षेत्रमा लगानी हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्षित अङ्कभन्दा निकै तल छ। बेरोजगारी र युवा पलायनको समस्या हल हुन सकेको छैन। बैंक–वित्तीय संस्थामा तरलता सहज भएका ब्याजदर घट्दोक्रममा रहेपनि कर्जाको माग बढ्न सकेको छैन। बढ्दो मुद्रास्फीति र घट्दो बजार मागले उपभोक्ता बजार चलायमान बन्न सकेको छैन। ठुलो लगानी रहेका घरजग्गा र पुँजीबजार क्षेत्रमा पनि उल्लेख्य चमक छैन। यसै सन्दर्भमा पछिल्लो एक वर्ष अवधिमा मुलुकको आर्थिक तथा वित्तीय सूचकमा देखिएका परिवर्तनलाई राससले तुलनात्मक समीक्षा गरेको छ।

बाह्य क्षेत्र

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९ दशमलव नौ प्रतिशतले वृद्धि माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधि अर्थात् २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। रासस

चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव सात महिनाको वस्तु आयात र १२ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ। जबकि, गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा १० दशमलव आठ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति थियो। अहिले विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४ दशमलव तीन प्रतिशत छ। गतवर्ष माघ मसान्तसम्ममा यस्तो अनुपात २५ दशमलव एक प्रतिशत थियो।

चालु खाता एवम् शोधनान्तर स्थिति

गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा २९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको चालुखाता अहिले एक खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ। गत वर्षको माग मसान्तसम्ममा एक अर्ब ४ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी मुलुकले भित्राएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब १८ करोड रुपैयाँ छ। त्यसैगरी, विसं २०७९ माघ मसान्तमा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेकोमा २०८० माघ मसान्तमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ।

विप्रेषण आप्रवाह

गत आर्थिक वर्ष २०७९र८० को शुरुवाती सात महिना अर्थात् माघ मसान्तसम्ममा मुलुकले रु छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ विप्रेषण भित्र्याएको थियो। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आवको सुरुवाती सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रेमिट्यान्स २१ दशमलव छ प्रतिशतले वृद्धि हो।

वैदेशिक व्यापार

चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा कुल वस्तु निर्यात सात दशमलव एक प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले कुल ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो। गत वर्षको तुलनामा निर्यात मात्र नभई आयात पनि घटेको छ। गत आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल नौ खर्ब १९ अर्ब १७ करोड रुपैयाँ बराबर रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ।

सरकारी वित्त

गत आर्थिक वर्ष २०७९/८० को सात महिनामा सङ्घीय सरकारको कुल खर्च छ खर्ब ६७ अर्ब ६६ करोड रुपैयाँ थियो। जसमध्ये चालु खर्च पाँच खर्ब ३१ अर्ब ५० करोड, पुँजीगत खर्च ६६ अर्ब ३० करोड र वित्तीय व्यवस्थातर्फको खर्च ६९ अर्ब ८६ करोड रुपैयाँ थियो। 

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको कुल खर्च खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यो अवधिसम्मको चालु खर्च पाँच खर्ब ९ अर्ब ४ करोड, पुँजीगत खर्च रु ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्थातर्फको खर्च एक खर्ब १४ अर्ब १३ करोड रुपैयाँ रहेको छ। अर्थात् गत वर्षको तुलनामा यसवर्ष चालु र पुँजीगत शीर्षकको खर्च घटेको छ भने वित्तीय व्यवस्था शीर्षकको खर्च बढेको छ। वित्तीय व्यवस्था शीर्षकमा छुट्टाइएको बजेट सार्वजनिक ऋणको साँवा ब्याज तिर्न खर्च हुने गरेको छ।

गत वर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा पनि उल्लेख प्रगति देखिँदैन। गत आर्थिक वर्षको सात महिनामा सरकारले कर राजस्वतर्फ चार खर्ब ६४ अर्ब १९ करोड र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड गरी कुल पाँच खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ राजस्व परिचालन भएको देखिन्छ। चालु आर्थिक वर्षको सोही अवधिमा समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ९प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने कर राजस्व पाँच खर्ब १० अर्ब ५० करोड र गैर कर ५६ अर्ब ९१ करोड रुपैयाँ गरी कुल पाँच खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व परिचालन भएको छ।

विसं २०७९ माघ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ४ अर्ब ९२ करोड नगद रहेकोमा गत माघ मसान्तसम्ममा दुई खर्ब १५ अर्ब २६ करोड रुपैयाँ नगद मौज्दात छ।

मुद्रास्फीति

मुद्रास्फीति वृद्धिदर गत वर्षको तुलनामा केही घटेको छ। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाँच दशमलव ०१ प्रतिशत छ।

सेवा क्षेत्र

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा खुद सेवा आय ३७ अर्ब २६ करोड रुपैयाँले घाटामा छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा थियो। गत आर्थिक वर्षको सुरुवाती सात महिनामा विदेश भ्रमणका लागि नेपालबाट ६२ अर्ब ५७ करोड रुपैयाँ बाहिरिएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय ४९ दशमलव नौ प्रतिशतले बढेर एक खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले गर्ने खर्च अर्थात् शिक्षातर्फmको व्यय चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ६४ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको सुरुवाती सात महिनामा यस्तो खर्च २२ अर्ब ६० करोड रुपैयाँ बराबर थियो।

विनिमय दर

विसं २०८० असार मसान्तको तुलनामा विसं २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली मुद्रा एक दशमलव ०५ प्रतिशतले अवमूल्यन भएको छ। गत माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय ३२ दशमलव ५६ पुगेको छ। विसं २०७९ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु एक सय ३१ दशमलव ७० पुगेको छ।

निक्षेप र कर्जा परिचालन

गत वर्ष २०७९ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको निक्षेप दुई खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तसम्ममा तीन खर्ब ९७ अर्ब २० करोड रुपैयाँ रहेको छ। त्यस्तै, गत वर्षको सुरुवाती सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ।

ब्याजदर  

विसं २०७९ मा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमलव ७९ प्रतिशत रहेकोमा अहिले घटेर २०८० माघसम्म पुग्दा तीन दशमलव ३४ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूबिचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा पाँच दशमलव २९ प्रतिशत रहेकोमा २०८० माघमा तीन दशमलव ०४ प्रतिशत रहेको छ। विसं २०८० माघमा वाणिज्य बैङ्कहरूको औसत आधारदर नौ दशमलव ०६ प्रतिशत, विकास बैङ्कहरूको ११ दशमलव १३ प्रतिशत र वित्त कम्पनीहरूको १२ दशमलव ७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको माघमा वाणिज्य बैङ्कहरूको औसत आधार दर १० दशमलव ७२ प्रतिशत थियो।

प्रकाशित: २८ फाल्गुन २०८० १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App