१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

तेल बोक्ने ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम सुरु

चारआली (झापा) – पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न नेपाल आयल निगमले सेक्युरिटी लकिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) र निगमका अधिकारीबीच बुधबार लकिङ सिस्टम सुरु गर्ने दुईपक्षीय सम्झौता भई कार्यान्वयनमा आएको हो।
 
भारतको सिलगुडीबाट झापाको चारआली रुटमा चल्ने ट्यांकरमा जडान गरिएको सिस्टमको लागि आइओसी मुम्बई मार्केटिङ विभागका चिफ जनरल मेनेजर एसएस बोसले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईलाई साँचो हस्तान्त्रण गरेका हुन्।

पेट्रोलियम पदार्थ चुहावट रोक्न दुई कम्पनीबीच सम्झौता भई ताला लगाउन सुरु गरेको निगमका निमित्त कार्यकारी निर्देशक भट्टराईले बताए। ‘यो प्रविधि प्रयोग गर्न धेरै ढिला भइसकेको थियो,’ उनले भने, ‘सुधारको प्रयास स्वरुप लकिङ सिस्टम सुरु गरेका हौं।’
 
आइओसीले पेट्रोलियम पदार्थ लोड दिएर ताला लगाएर पठाएपछि ट्यांकरको ताला निगमको डिपोमा आएरमात्र खोलिनेछ। अहिलेसम्म सामान्य ताल्चा लगाउँदै आएकोमा निगमले आइओसीले डेढ दशकअघिनै प्रयोगमा ल्याएको प्रविधि यहाँ सुरु गरिएको छ।

पहिलो चरणमा सिलगुढीबाट सुरु गरे पनि तीन महिनाभित्र आइओसीका विभिन्न रिफाइनरीबाट नेपालमा तेल ढुवानी गर्ने सबै ट्यांकरमा यो लागू गर्ने सहमति भएको भट्टराईले बताए।
 
दुई साताभित्र आइओसीको गोन्डा र बेतालपुरबाट नेपालगन्ज र भैरहवा आउने ट्यांकरमा यो प्रणाली प्रयोगमा ल्याउने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए। त्यसपछि क्रमशः रक्सौल, इलाहबाद, बरौनी लगायत सबै ठाउँबाट प्रयोगमा ल्याइने छ। ‘झापाबाट सुरु गरे पनि तीन महिनाभित्र सबै ट्यांकरमा जडान गर्छौं,’ गोइतले भने, ‘ती ट्यांकरको लागि आइओसीले निःशुल्क रुपमा निगमलाई साँचो उपलब्ध गराएको छ।’

मुलुकभर सञ्चालनमा रहेका १८ सय ट्यांकरमध्ये सात सयले लकिङ सिस्टम जडान गरिसकेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताए। ‘नयाँ सबै ट्यांकरमा लकिङ सिस्टम जडान भइसकेको छ,’ उनले भने, ‘विगतमा सामान्य सिल लगाउँदा अपचलन भएको गुनासो आएकाले नयाँ प्रविधि प्रयोगमा ल्याइएको हो।’ भारतमा सफल भइसकेकाले यहाँ आशंका गर्नुपर्ने अवस्था नरहेको उनले बताए।

कार्यक्रममा पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले दुई वर्षको प्रयासपछि लकिङ सिस्टम सुरु भएको बताए। ‘तारको सट्टा अहिले रड प्रयोग गरिएको छ,’ प्रधानले भने, ‘यसले गुणस्तर र परिणाममा आउने कमी हटाउने विश्वास लिइएको छ।’

यो प्रविधि अनुसार आइओसीमा तेल भरेर ताल्चा लगाएपछि यहाँको डिपोमा आएर मात्र खोल्न मिल्ने निगमको पूर्वाञ्चल डिपो प्रमुख भानुभक्त खनालले बताए। ‘ट्यांकरमा तेल भरेपछि आइओसीका कर्मचारीले ताल्चा लगाउँछन्,’ उनले भने, ‘त्यो ताला यहाँ आएपछि डिपो प्रमुखको नेतृत्वमा खोलिन्छ।’
 
सिलगुडी चारआली रुटमा चल्ने ५९ वटा ट्यांकरमा यो सिस्टम जडान भइसकेको निगमको चारआली डिपो प्रमुख सनम कार्कीले बताए। यो प्रविधि प्रयोगमा ल्याउने निगमको निर्णयप्रति नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भने असहमति जनाएको छ। आपूर्तिमा अवरोध गर्ने प्रयास भए त्यो स्वीकार्य नहुने झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

दुई वर्षअघि निगम र पेट्रोलियम डिलर्स एसोसिएसनबीच यो प्रविधि प्रयोग गर्ने सहमति भएको थियो। आइओसीबाट निजी ट्यांकरले तेल ल्याउँदा चोरी भएपछि निगमद्वारा गठित एक कार्यदलले ‘सेक्युरिटी लकिङ सिस्टम’ प्रयोग गर्न सुझाएको थियो।

भारतबाट तेल ल्याउँदा बीच बाटोमा ट्यांकरबाट तेल झिक्ने गुनासो छ। ट्यांकरमा लगाएको अहिलेको सिल कमजोर भएकोले ढुवानीको क्रममा बीच बाटोमा चोरी हुने गरेको बताइन्छ।
 
यो प्रविधि प्रयोग गरेर निगमका कर्मचारी, चालक, व्यवसायीको मिलमतोबाट हुने चोरी रोक्न सकिने अपेक्षा गरिएको छ। यो प्रणालीमा ट्यांकरको ढक्कनदेखि तलसम्म रड जोडेर ताल्चा लगाइन्छ।
 
यसका लागि विशेष किसिमको ताल्चा र साँचो निर्माण गरिएको छ। उक्त ताल्चा अन्य कम्पनीले साँचो तयार गर्न नसक्ने खालको रहेको प्रवक्ता गोइतले बताए। ‘यहाँ प्रयोग हुने ताल्चा र साँचो अन्य कुनै कम्पनीले नक्कल गर्न सक्दैन,’ उनले भने, ‘उच्चस्तरीय प्रविधि भएकोले यो विश्वसनीय छ।’

निगमको इन्जिनियरिङ विभागले निकै उपयोगी र वैज्ञानिक प्रविधि भनेर यो प्रविधि सिफारिस गरेको थियो। त्यसको लागि ट्यांकरमा जडान गरेका डोम कभर, हिन्ज, पाइप लाइनको डेलिभरी भल्व, पाइपलाइनमा जडान भएको फ्लेन्ज आदिको डिजाइन परिवर्तन गरिन्छ। यो परिवर्तन गर्न लाग्ने खर्च सम्बन्धित ट्यांकर धनीले बेहोरेका छन्।
 
ड्राइभरले तेल चोरी गर्ने गरेको व्यवसायी र निगमका अधिकारीले आरोप लगाउँदै आएका छन्। निगमले आइओसीबाट मासिक रुपमा करिब ३६ हजार पाँच सय किलोलिटर पेट्रोल, एक लाख १५ हजार किलोलिटर डिजेल, १८ सय किलोलिटर मट्टीतेल, १५ हजार किलोलिटर हवाई इन्धन आयात हुन्छ। पेट्रोल पम्प सञ्चालकले बिलिङ गरे अनुसारको तेल नपाएको भन्दै गुनासो गर्दै आएका छन्।

प्रकाशित: १ चैत्र २०७४ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App