४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालगन्ज–जनकपुर सिधा हवाई उडानकाे तयारी

नेपालगन्ज–जनकपुर सिधा हवाई उडान गर्न पहल थालिएको छ। यही फागुन ५ गतेका दिन लुम्बिनी प्रदेशको नेपालगन्जबाट मधेस प्रदेशको जनकपुरसम्म सिधा हवाई उडान गर्न पहल थालिएको हो।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाईन्सले चार्टर उडान गर्ने तयारी गरेको छ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज–जनकपुर सिधा हवाई उडान गर्नका लागि छलफल भइरहेको र यसले छिट्टै पूर्णता पाउने बताए। ‘विभिन्न चरणका छलफल सकारात्मक छन्, अब छिट्टै यसले पूर्णता पाउनेछ,’ उनले नागरिकसँग भने। सिधा हवाई उडानमार्फत जनकपुरस्थित जानकी मन्दिर दर्शन गर्नका लागि अयोध्यास्थित राम मन्दिर ट्रस्टका पदाधिकारीलाई समेत निमन्त्रणा दिन एउटा टोली भारत जान लागेको अध्यक्ष सिग्देलले जानकारी दिए। नेपालगन्ज–जनकपुर हवाई उडानमा धार्मिक पर्यटकहरु, नेपालगन्जमा रहेका मिथिलाबासी, सन्त महन्त, पर्यटनकर्मी लगायत रहनेछन्।

जिल्ला पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेपालगन्ज–जनकपुर सिधा हवाई उडानले धार्मिक पर्यटनको पवद्र्धन हुने बताउँछन्। सिधा हवाई उडान भएपछि नेपालगन्जमा आउने धार्मिक पर्यटकले जानकी मन्दिर, कैलाश मानसरोवर, पशुपतिनाथ मन्दिर सहज रुपमा पुगेर दर्शन गर्न पाउने उनको भनाई छ। ‘धार्मिक पर्यटन प्रवद्र्धनका हिसाबले यो अत्यन्तै महत्वपूर्ण छ,’ श्रेष्ठले भने।

एयरलाईन्स कम्पनीका अनुसार फागुन ५ गतेका दिन नेपालगन्जबाट ७० जना यात्रु लिएर जहाज जनकपुरस्थित बिमानस्थलमा अवतरण गर्नेछ। यति एयरलाइन्सका नेपालगन्ज प्रमुख दिलिप कार्कीले फागुन ५ गते शनिबार जहाजले नेपालगन्जदेखी जनकपुरका लागि चार्टर उडान भर्ने बताए। ‘लिखित रुपमा सम्झौता भएपछि मात्र सबै कुराको निश्चित हुन्छ, यसका लागि नाट्टा बाँके च्याप्टरसँग आज लिखित सम्झौता हुँदैछ,’ उनले भने।

प्रमुख कार्कीका अनुसार सम्झौता पश्चात उडान समय पनि निश्चित गरिने बताए। उनका अनुसार शनिबार दिउँसो १ः४० बजेतिर नेपालगन्जबाट उडान भर्ने मोटा मोटी तयारी गरिएको छ। अहिले चार्टर उडान गरिसकेपछि यात्रुको चापलाई मध्यनजर गर्दै नियमित तालिका अनुसार पनि उडान हुन सक्ने प्रमुख कार्कीले बताए। ‘अहिले त चार्टर उडान मात्रै गर्ने हो, तालिका अनुसार उडान गर्नका लागि पहिलो कुरा त स्वीकृती पाउनुपर्यो र हामीसँग जहाज पनि उपलब्ध हुनुपर्यो,’ उनले भने।  

प्रकाशित: १ फाल्गुन २०८० ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App