१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

फाइल तस्बिर : नागरिक

चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन्। झन्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो। सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ। हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ।  

एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ। गाडी चार्ज गर्न आएका गोरखाका ध्रुव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे। उनले एसी चार्जरबाट चार्ज गर्दा घन्टौं कुर्नुपर्ने समस्या रहेको बताउनुभयो।

उनले २० मिनेटमा गाडी जम्मा ६ प्रतिशत चार्ज भएको बताए। ‘बिग्रेको अवस्थामा झन्डै एक घन्टामा पूरै चार्ज हुन्थ्यो’, उनले भने, ‘अहिले त दुई तीन घण्टा कुर्नुपर्छ।’ उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे। उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताए।  

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए। उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने बताए। ‘भन्सारमा सामान आएको हप्ता दिन भयो’, उनले भने, ‘सम्भवतः आज भन्सार छुटेर सामान काठमाडौं आइपुग्छ।’ उनले एकदुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए।  

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२  चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ। देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताए।

उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए। उनले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताए। उनले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए। चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। –रासस

प्रकाशित: २३ पुस २०८० ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App