१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्र: चिनियाँ पाहुनाप्रति सकारात्मक अपेक्षा

यो वर्ष चिनियाँ त आए, तर, सस्ताः व्यावसायी

पोखरा आएका चिनियाँ पाहुना। तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमण सुरु भएसँगै चीनले आफ्ना नागरिकलाई बाहिरी मूलूकको घुमघाममा लगाएको रोकावट गत मार्चदेखि मात्र खुला गर्यो। त्यही क्रममा मार्च १५ देखि लागु हुने गरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले चिनियाँ पर्यटकलाई बाहिरी मुलुकमा घुम्न जान पाउने गरि दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि समेट्यो। चीनले पहिलो चरणमा प्रकाशित २० मुलुकमा नेपाललाई समेटेको थिएन।  

दोश्रो सूँचीमा समेटिएपछि चिनियाँ पर्यटकलाई नेपाल आउने बाटो खुलेको भन्दै व्यवसायीले राहत मिल्ने अपेक्षा गरेका थिए। चीनको खुकुलोले नेपालमा पर्याप्त चिनियाँ पाहुना आउने अपेक्षा व्यावसायीले थियो। यतीसम्मकी पोखरामा लामो समय सुस्ताएका चिनियाँ पाहुना लक्षित होटल र रेस्टुरेन्टले स्वरुप नै बदलेका थिए। चिनियाँ पाहुनाका लागि व्यावसायीले आफुलाई त तयार पारे, तर, त्यो अनुसार पाहुना भने नभित्रिएको दुखेसो उनीहरुको छ।

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा नेपालमा सबैगरि ६० हजार ८ सय ६२ जना चिनियाँ भित्रिएका छन्। तर, यो आकार अझै ठूलो हुने अपेक्षा व्यावसायीको थियो। चिनियाँलाई गाइड गर्दै आएका दिनेश गौतम चिनियाँ पर्यटकको आगमन अपेक्षाकृत संख्यात्मक रुपमा राम्रो देखिएपनि खर्च गर्ने क्षमता भने कमजोर रहेको बताउँछन्।

 ‘चिनियाँ पाहुना नआएका होईनन्। तर, ठूलो संख्यामा मात्र चिनियाँ आएका छन,’ उनले भने, ‘एउटै समूहमा पाहुना आउँदा उनीहरुले खर्च भने कम गरेका छन। सस्ता चिनियाँ पाहुना आएका छन।’

उनका अनुसार एकै समूहमा आउने क्रममा सस्तो परेको हो । ‘अहिले पनि एकसय जना चिनियाँ पाहुनाको समूह अन्नपूर्ण क्षेत्रमा छ। विभिन्न सहरबाट भेला भएर ती पाहुना नेपाल आएका छन्,’ उनले भने। उनका अनुसार अहिलेका चिनियाँ पाहुना सस्ता छन । कोरोना संक्रमण अघि चिनियाँ पाहुना खर्चिला थिए। ‘चिनियाँ पाहुना त आए, तर, उनीहरु बजेट टुरिस्ट हुन। पहिले जस्तो खर्च गरेका छैनन,’ गौतमले भने, ‘सस्तो पर्यटनबाट लाभ मिल्दैन। पहिले जस्तो महंगो खर्च गर्ने क्षमताका पाहुना आएनन।’ अबको फेब्रुअरीमा राम्रो संख्यामा चिनियाँ पाहुना आउने अपेक्षा रहेको उनले सुनाए। अहिलेसम्मको सोधपुछ र बुकिङ हेर्दा सन् २०२४मा चिनियाँ पाहुनासँग व्यावसायीको अपेक्षा रहेको उनले बताए।

‘कोरोनाले चिनियाँको व्यक्तिगत अर्थतन्त्रमा असर परेको हुनसक्छ। पहिलापहिला सानो समूहमा आउँथे। १०–१५ जनाको समूहमा आउने उनीहरुले पर्याप्त रकम खर्चन्थे,’ उनले भने, ‘अहिले एकसय जनाको हाराहारीमा आउँछन्। बार्गेनिङ गरेर आउने गरेका छन्। नेपाल ट्रिप भनेर अनलाईनमा खुलाएर समूहमा भेला भएर आउँँदा सस्तो दर परेको छ। संख्यात्मक रुपमा राम्रो देखिएपनि आर्थिक लाभ कम भएको छ।’  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भने शुन्यमा रहेको चिनियाँ पाहुनाको आगमनको यो आकारलाई कमजोर मान्न नहुने बताउँछन्। ‘मार्च मध्यपछि मात्र नेपाल खुला भएको हो। त्यसैले ९–१० महिनाको आगमनको आकारलाई कमजोर मान्नु हुँदैन। किनकी त्यसअघि चिनियाँको आगमन करिब शून्यमै थियो,’ लामिछानेले भने। उनका अनुसार अन्य मुलुकका पाहुनाका लागि नेपाल आगमनमा खासै अवरोध नरहेपनि मार्च १५ अघिसम्म चिनियाँ पाहुना भने आउनै पाउने अवस्था थिएन। किनकी चीनले आफ्ना नागरिकलाई कोभिडपछि नेपाल घुमघाममा रोक लगाएको थियो। अन्य मुलुकमा रहेका चिनियाँ पाहुना थोरै संख्यामा भित्रिएपनि सिधै चीनबाट पाहुना भित्रिन पाएका थिएनन। तर, मार्चमा नेपाल पनि घुम्ने लिस्टमा परेपछि बल्ल चिनियाँ पाहुना सहजै नेपाल आउन पाएका हुन्।  

‘शुन्यमा रहेको आगमन ९–१० महिनामा ६० हजार कट्नुलाई नराम्रो भन्न मिल्दैन,’ उनले भने । बोर्डका अनुसार यसअघि सन् २०१९ मा सबैभन्दा बढी विदेशी पाहुना नेपाल भित्रिँदा चिनियाँको त्यो वर्षको आगमन एकलाख ६९ हजार ५ सय ४३ थियो। तर, त्यो आकार कोरोना संक्रमले गर्दा २०२० मा १९ हजार २ सय ५८ मा खुम्चेको थियो। अझ २०२१ मा त झनै कम ६ हजार १ सय ९८ जना र २०२२ मा ९ हजार ५ सय ९९ जना चिनियाँ नेपाल भित्रिएका थिए।  

‘२०१९ को चिनियाँको आगमन संख्याको ३५ प्रतिशत रिकभर भएको छ। छोटो समयमा भएको यो रिकभर राम्रो हो,’ लामिछानेले भने, ‘शुन्यबाट ३५ प्रतिशत रिकभर हुनु राम्रो हो।’ 

उनका अनुसार चीनले नेपाल खुला गरेपछि हरेक महिनाजसो चिनियाँको आगमनमा सुधार भएको थियो। ‘सिजन अनुसारको आगमनले नयाँ उचाई लिएको थियो। हरेक महिना आगमन बढेको हो। यो वृद्धिद्धर राम्रो हो। चिनियाँ पाहुना नआएको भन्न मिल्दैन,’ उनले भने, ‘खुल्ने वित्तिकैको आगमन राम्रो हो।’

यो वर्ष (२०२४) को चिनियाँको आगमन अहिलेसम्मकै बढी हुने अपेक्षा बोर्डको छ। ‘चीनले २०२४ मा आफ्नो स्थान लिन्छ। सन् २०२३ मा चीन नेपालमा धेरै पर्यटक भित्रिने मूलूकको तीन नम्बरमा परेको छ। तर, आगमि वर्ष अझै अगाडि हुनेछ,’ उनले भने। सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको आकारको आधारमा भारत र अमेरिका पछि चिनियाँ पाहुना बढी छन्। चीनसँगको हवाई कनेक्टिभिटी बलियो बनिसकेकोले आगामि दिनमा सन् २०१९ को रेकर्डलाई ब्रेक गर्नेगरि आगमन हुने अपेक्षा रहेको उनले सुनाए।  

‘अहिले नयाँनयाँ रुट हवाई उडानका लागि खुुलेका छन। नयाँ रुट खुला भएकोले पर्यटनको श्रोत बजारमा पुगिसकेको छ। त्यसैले यो वर्ष २०१९ को आकारलाई पार गर्नुपर्छ भन्ने हो। चिनियाँ पाहुनाको आगमनले लय लिएकोले पर्यटन क्षेत्रलाई थप सहज हुनेछ,’ लामिछानेले भने।  

प्रकाशित: २१ पुस २०८० १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App