४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखराको हवाई उडानमा तीन घण्टा बढी ढिला

हवाई उडानमा हुस्सु बाधक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिदै यात्रु। तस्बिरः नागरिक

आइतबार बिहान ७ बजेर ३० मिनेटमा काठमाडौंबाट पोखराका लागि बुद्ध एयरको जहाज उड्ने तालिका थियो। पहिलो उडानको यो जहाज बेलैमा उड्न पाएको भए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ७ बजेर ५५ मिनेटमा अवतरण गर्नुपर्ने हो।

तर, उडान ढिला हुँदै जाँदा ११ बजेर २१ मिनेटमा मात्र पहिलो उडानको त्यो जहाज काठमाडौंबाट उडेर ११ बजेर ४३ मिनेटमा पोखरामा अवतरण गर्‍यो। त्यस्तै साढे १० बजे काठमाडौंबाट पोखराका लागि उड्ने तालिका रहेको जहाज तीनघन्टा भन्दा बढी समय ढिला गरि दिउँसो १ बजेर ४८ मिनेटमा मात्र उडेको थियो। आइतबार साढे १० बजेमात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको थियो।

पछिल्लो केही दिनदेखि पोखराको हवाई उडानमा मौसमी अवरोध सिर्जना हुन थालेको छ। जसले गर्दा बिहानका अधिकांश उडान अवरुद्ध हुने गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बिहानको समयमा बाक्लो हुस्सु लाग्ने गर्दा उडानमा अवरोध आउने गरेको हवाई कम्पनीका पदाधिकारी बताउँछन्।

पोखराको पुरानो विमानस्थल क्षेत्र बिहानै खुलिसक्दा पनि अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लाग्ने गरेको छ। एकै सहरभित्रका दुई वटा विमानस्थलको दूरी करिब ४ किलोमिटर मात्र रहेको छ। पुरानो विमानस्थल क्षेत्रमा बिहानै उडान सुरु भइसक्दा अन्तर्राष्ट्रिय विमानस्थल भने खुल्नै सकेको हुँदैन। जसले गर्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा अवरोध सिर्जना हुने गरेको छ।

‘केही दिन भयो बिहानको उडान तालिका प्रभावित भएको छ,’ एक निजी हवाई कम्पनीका पोखरास्थित स्टेशन म्यानेजरले भने, ‘उडान तालिका प्रभावित हुँदा व्यवस्थापन नै भद्रगोल हुने गरेको छ।’ ती स्टेशन म्यानेजरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन कम्तीमा ३७ सय मिटर भिजिबिलिटी चाहिन्छ। आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) विधि अनुसार उडान हुँदा पनि दूरी ३७ सय मिटर चाहिन्छ। तर, हुस्सुले गर्दा त्यो दूरी कम हुँदा उडान प्रभावित हुने गरेको उनले बताए।

‘बिहानको एउटा उडान १० मिनेट ढिला हुनु भनेको १० वटा उडानमा डेढ घण्टा ढिला हुनु हो, त्यही भएर अहिले ठाउँ ठाउँका उडान प्रभावित भएका छन्,’ ती म्यानेजरले भने, ‘पोखरा पनि त्यसैमा परेको छ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुरानोको तुलनामा ढिला गरि खुल्छ। पुरानो विमानस्थल बिहानै खुलिसक्दा पनि अन्तर्राष्ट्रिय विमानस्थल माथिको हुस्सु हटिसकेको हुँदैन। जसले गर्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित हुने गरेको उनले सुनाए।

‘सुरक्षामा खेलाँची गर्न सकिएन। त्यसैले ढिलागरि भएपनि उडान हुन्छन्। बिहान ढिला हुँदै जाँदा त्यसको असर बेलुकीसम्म पनि परिसहन्छ,’ उनले भने, ‘पुरानो विमानस्थलबाट भिएफआर (भिजअल फ्लाइट रुल्स) अनुसार उडान हुँदा पनि बिहानीपख खासै अवरोध आउने गरेका थिएन। तर, अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान झनै बढी प्रभावित भएका छन्।’

अर्का एक हवाई कम्पनीका पोखरास्थित स्टेशन म्यानेजरले पनि बिहानको हुस्सुले गर्दा समस्या थपेको बताए। ‘केही दिन भयो, तोकिएको बेलामा उडान हुन पाएको छैन। व्यवस्थापनमा हामीलाई नै समस्या परेको छ,’ ती म्यानेजरले भने, ‘पुरानो विमानस्थलबाट भन्दा पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा अप्ठेरो आइपरेको छ। हामीलाई यस्तो अवस्था आउने पूर्वानुमान नै थियो।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोशा रेग्मी विजयपुर खोलाको नजिक विमानस्थल भएकोले पनि हुस्सुको समस्या बढी पर्ने गरेको बताउँछिन्। ‘विजयपुर खोलासँग जोडिएर विमानस्थलको धावनमार्ग छ। खोलाबाट एकाएक हुस्सु आउँछ, त्यसैले गर्दा विमानस्थल खुल्न समय लाग्ने गरेको छ,’ रेग्मीले भनिन, ‘२३ दिनदेखि बिहानपखका उडान ढिला भएका छन्। बाक्लो हुस्सुले गर्दा समस्या भएको हो। खोलाबाट एकाएक आउने हुस्सुले गर्दा विमानस्थलको उडान र अवतरणमा प्रभावित पार्ने गरेको छ।’

रेग्मीका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुँदा ३ हजार मिटर भिजिबिलिटी भए पुग्छ, तर, अवतरण हुनका लागि भने ४ हजार मिटर भिजिबिलिटी चाहिन्छ। ‘जहाज चढ्न जानेगरि बसमा चढेका यात्रुलाई पनि तीन घण्टासम्म रोक्नुपर्ने अवस्था आयो। बिहानका उडान व्यवस्थापन गर्न हामीलाई पनि समस्या परेको छ,’ उनले भनिन, ‘उडान ढिला हुनासाथ यात्रुको चाप थपिन्छ। त्यसले गर्दा व्यवस्थापनमा कठिनाइ हुन्छ।’ उनले पोखराको भौगोलिक संरचनाका कारण विजयपुर खोला क्षेत्रमा ढिलासम्म हुस्सु लागिरहने बताइन।

‘पुरानो विमानस्थल क्षेत्रमा बिहान झलमझ घाम लागिसक्दा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र बाक्लो हुस्सुले ढाकिरहेको हुन्छ,’ उनले भनिन, ‘यो पोखराको समस्या नै हो। पुरानो विमानस्थल क्षेत्रमा पनि हुस्सुको समस्या नहुने त होइन, तर, अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जस्तो भने होईन। किनकि खोलाबाट नजिकको दूरीमा अन्तर्राष्ट्रिय विमानस्थल भएकोले नयाँमा बढी समस्या भएकै हो।’

उनका अनुसार अबको केही महिना अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बिहानी पखको उडानमा मौसमी समस्या पर्न सक्छ। तर, रात्रिकालीन उडान हुने भएकोले ढिला भएपनि खासै फरक भने पर्दैन। ‘पुरानो विमानस्थल दिउँसो ४ बजेपछि बन्द हुन्थ्यो, तर, अन्तर्राष्ट्रिय विमानस्थलमा त्यो समस्या छैन। रात्रिकालीन उडान पनि हुने भएकोले ढिला हुँदैमा समस्या होइन,’ उनले भनिन, ‘तर, हुस्सुको समस्याले गर्मियाममा भन्दा जाडो याममा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ढिला गरि मात्र विमानस्थल खुल्छ।’

रेग्मीका अनुसार अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा ३५ सय हाराहारीमा यात्रु ओहोरदोहोर गरिरहेका छन्। अघिल्ला महिनासम्म यो आकार दिनको चारहजार हाराहारीमा थियो। पोखराबाट अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। पोखराबाट काठमाडौं, भैरहवा, भरतपुर र नेपालगन्जसम्म नियमित उडान भइरहेको पनि विमानस्थलले बताएको छ।

प्रकाशित: २४ मंसिर २०८० ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App