१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अन्तुमा ओइरिए पर्यटक

अन्तुडाँडा (इलाम)- सूर्याेदय दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडामा पर्यटकको ओइरो लागेको छ । एकैदिन ६ हजारसम्म पर्यटक गाउँमा आएपछि स्थानीय होमस्टे व्यवसायीलाई पर्यटक धान्न धौधौ छ ।
पर्यटकीय सिजन (असोज) सुरुदेखि नै यहाँ आगन्तुक धुइरिएका छन् । अहिले पनि दिनहुँ एक हजार दुई सयसम्म पर्यटक अन्तु आइरहेको श्रीअन्तु होमस्टे व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार अहिले अन्तुम होमस्टे सञ्चालन गरिएका प्रत्येकजसो घर पर्यटकले खचाखच छन् । समितिका रुद्र घिमिरेले यहाँका २४ घरमा होमस्टे व्यवस्था गरिएको बताए । ‘तर, ती घरहरूले पनि पर्यटक धान्न मुस्किल परिरहेको छ,’ उनले भने ।
अन्तुमा असोज–मंसिर र फागुन–वैशाख झुल्केघामका लागि मुख्य सिजन हो । यो सिजन चिया टिपाइ, हिमशृंखला र जैविक विविधता अवलोकनका लागि पनि उपयुक्त भएकाले यहीबेला पर्यटकको ओइरो लागेको हो । ‘गत कात्तिकको एक दिन अन्तुडाँडाको भ्युटावरमा एकैदिन ३७ सय पर्यटकले टिकट लिएका थिए,’ घिमिरेले सुनाए, ‘तर, पर्यटकको संख्या त्यसको दोब्बर भएपछि बाँकीलाई टिकट नै नपुगेर निःशुल्क प्रवेश दिइएको थियो ।’ उनले अहिले पनि टिकटको संख्याभन्दा पर्यटक बढी आउने गरेको जनाए ।
यहाँ आउने पर्यटकका लागि स्थानीयले सहुलियत दरमा पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाएका छन् । प्रत्येक घरमा १५ देखि २५ जनासम्म पर्यटक अटाउँछन् । अन्तुपोखरीको छेउमा अन्तु कटेजसमेत खोलिएको छ । बाँसले बनेको कलात्मक यो कटेजमा करिब ५० पर्यटक बास बस्न सक्छन् । ‘श्रीअन्तु र समालबुङ गाउँका होमस्टेसहित अन्य घरमा समेत गरेर दुःखले २५ सय पाहुनालाई हामी बास दिन सक्छौं,’ घिमिरेले भने, ‘तर, एकैदिन त्योभन्दा बढी पाहुना आउँदा व्यवस्थापन गर्न हम्मे–हम्मे परेको थियो, अहिले चाहिँ पाहुना व्यवस्थापन गर्न समस्या छैन, संख्या अलि घटेको छ ।’
अन्तुडाँडाबाट झुल्केघाम र उत्तरी क्षेत्रका हिमशृंखला अवलोकन गरेपछि पर्यटकलाई अन्तुपोखरीमा डुंगा सयर गर्ने व्यवस्था मिलाइएको छ । पर्यटकले प्रतिव्यक्ति ५० रुपैयाँ तिरेपछि करिब १५ मिनेट डुंगा सयर गर्न पाउँछन् । पोखरीमा तीनवटा डुंगा सञ्चालन गरिरहेका खगराज घिमिरे भन्छन्, ‘कहिलेकाहीं त यति धेरै पाहुना भेला हुन्छन् कि, डुंगामा पालो नपुगेर बिहानै थन्क्याएर अर्कातिर लाग्नुपर्छ ।’ उनले पर्यटकको संख्या थामिनसक्नु भएका बेला उनीहरूको सुरक्षा गर्न मुस्किल हुने गरेपनि अहिले भने दिनहुँ हजार–१२ सय पर्यटक आइरहेको बताए ।
यहाँ पर्यटक लोभिने मुख्य गन्तव्य अन्तुडाँडाबाट सूर्याेदय र हिमशृंखला दृश्यावलोकन हो । तर, पर्यटकीय चियाबारी, कृषिले सुधारिएको जीवनशैली, अन्तुपोखरीमा डुंगा सयर, लोपोन्मुख लाप्चा जातिको सांस्कृतिक संग्रहालयले पनि पर्यटकलाई अन्तुसम्म तान्ने गरेको छ । अन्तुमा धार्मिक पर्यटकीय सम्भावनाको पनि खोजी भइरहेको छ । यहाँको सिंहबाहिनी भगवतीमा रहेको मानिस र सिंहको अनुहार देखिने ढुंगा अहिलेसम्म ओझेलमा रहेको स्थानीय शिक्षक अम्बिका पोख्रेलले बताए । ‘स्वामी एकदेव साधुले पत्ता लगाएको यो सिंहबाहिनी भगवतीमा मानिस र सिंहको अनुहार तथा मानिसका पाइला देखिन्छन्,’ उनले भने, ‘पर्यटकीय सम्भावना रहेपनि यसको अहिलेसम्म प्रचार हुन सकेको छैन ।’ कन्यामबाट अन्तु जाँदा चौरस्ता भन्ने स्थानबाट करिब आधा किलोमिटरको मोटरबाटो गएपछि सिंहदेवी भगवती र सिंहदेवी देवीस्थान पुगिन्छ ।
श्रीअन्तु र समालबुङका होमस्टेमा बास बसेर पाहुनाका रूपमा ढिँडो, कोदो, फापरको रोटी, अर्गानिक अर्थाेडक्स चिया, लोकल कुखुराको मासु, लोकल चामलको भात, गुन्द्रुक, भुटेको मकै, तोङ्बा र स्थानीय उत्पादनको रक्सी पिउन पर्यटक लालयित हुने गरेका छन् । मेची राजमार्गको पर्यटकीय क्षेत्र कन्यामबाट करिब आधा घण्टाको कालोपत्रे सडक नै अन्तुसम्म पुगेकाले पर्यटकलाई आउ–जाउ गर्न सजिलो भएको छ ।
यहाँ आन्तरिक र भारतयीय पर्यटकको संख्या बढी हुने गरेको छ । अरूबेला यहाँ आइपुग्ने पर्यटक प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदामा आकर्षित हुन्छन् । बाह्रै महिना चियो मौसम रहने अन्तु कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएझैं देखिन्छ । अन्तुबाट कञ्चनजंघालगायत हिमशृंखला नजिकै देखिन्छन् । झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायत बजार यहाँबाट देखिन्छन् । झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ । होमस्टे व्यवस्थापन समितिका केन्द्रीय सदस्यसमेत रहेका स्थानीय धनकुमार आलेले अन्तुमा पछिल्लो समय पर्यटकको ओइरो लागेको सुनाए । ‘अब यहाँ पर्यटकीय पूर्वाधार पनि सहज भइसकेकाले आउन, बस्न र जान पर्यटकलाई समस्या छैन,’ उनले भने, ‘पर्यटकलाई गर्नुपर्ने व्यवहारबारे पनि स्थानीय अब सचेत हुँदैछन् ।’

प्रकाशित: ११ मंसिर २०७४ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App