१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले गत साउनदेखि असोज मसान्तसम्मको अवधिमा नौ अर्ब ६४ करोड ५४ लाख रूपैयाँको बिजुली भारत निर्यात गरेको हो।

प्राधिकरणले असोज महिनामा मात्र चार अर्ब दुई करोड ३५ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ। प्राधिकरणले साउनमा दुई अर्ब १४ करोड ३३ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रूपैयाँको बिजुली भारत निर्यात ग¥यो। यद्यपि प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रूपैयाँको विद्युत् भारत निर्यात गरेको जनाएको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो। तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा रहेको छ।

गत जेठ महिनाका पाँच दिनमा ४० करोड पाँच लाख र असारमा एक अर्ब ७५ करोड ७० लाख रूपैयाँको विद्युत् भारतर्फ निर्यात भएको थियो। जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रूपैयाँ ६७ पैसा थियो।

साउन, भदौ र असोजमा भारतर्फ निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट क्रमशः आठ रूपैयाँ ४३ पैसा,  ११ रूपैयाँ ९७ पैसा र १० रूपैयाँ २० पैसा रहेको छ। तीन महिनाको विद्युत् समग्र औसत बिक्री दर प्रतियुनिट १० रूपैयाँ २७ पैसा छ। विद्युत् निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ।

एनभिभिएनले त्यो विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।  भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्री गर्न अनुमति दिएको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ।

यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थालाई हेर्दा यस वर्ष करिब १६ अर्ब रूपैयाँको विद्युत् निर्यात हुन सक्ने देखिएको बताए।

‘करिब एक सय मेगावाट थप विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसँग प्रस्ताव गरेका थियौं तर अहिलेसम्म स्वीकृति नपाएपछि केहीअघि पुनः प्रस्ताव पठाएका छौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चाडपर्व सुरु भइसकेको छ, यसअवधिमा कलकारखाना बन्द हुन्छन्, काठमाडौंमा चिसो सुरु भइ नसकेको र तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घट्छ। भारतबाट थप विद्युत् निर्यात स्वीकृति नपाउने हो भने विद्युत्गृहहरू बन्द गर्नु पर्ने अवस्था आउन सक्छ, यस्तो अवस्थामा छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं।’

प्रकाशित: २ कार्तिक २०८० ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App