६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलले २ खर्ब ८३ अर्ब राजस्व तिर्‍यो

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले नेपाल सरकारलाई दुई खर्ब ८३ अर्ब रूपैयाँ राजस्व तिरेको जनाएको छ। आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार भेटघाटमा एनसेलले कम्पनी स्थापना भएदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कहरू बापत दुई खर्ब ८३ अर्बभन्दा बढी कर तथा राजस्व तिरेको जनाएको छ।

एनसेलले सन् २००५ सेप्टेम्बर १७ बाट आफ्नो सेवा सुरु गरेको थियो। एनसेलका सेवाग्राही एक करोड ६० लाखभन्दा बढी पुगेको जनाएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको १८ वर्षको यात्राका बारेमा भने ‘एक करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं।’ एनसेलले नेपाली समुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ निरन्तर प्रदान गर्दै आएको बताए।

एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत एक सय ८० करोड रूपैयाँ सहयोग गरेको छ। शिक्षा, वातावरण, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूका सामाजिक परियोजनाहरूमा एक अर्ब ८० करोड रूपैयाँभन्दा बढी योगदान गरेको जनाएको छ।

दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरूप एनसेलले लामो समयदेखि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको छ।

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) र थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत, राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्यको घोषणा गरेको छ। कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्ने भएको छ।

यस सहकार्य अन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीहरूको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्ने जनाएको छ।

वार्षिकोत्सवको उपलक्ष्यमा सामुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात् ‘१८ का लागि १८’ कार्यक्रम सुरु गरेको पनि जनाएको छ। यसअन्तर्गत एनसेलले सात वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आआफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ। निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रति परियोजना १० लाख रूपैयाँ प्रदान गर्ने भएको छ।

कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गरेको छ।

‘सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ,’ एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवादेखि नवीन सेवाहरू प्रदान गरेर नेपालको परिवर्तनको संवाहक बनेको छ।’

‘हामी तपाईंकै लागि’ अर्थात् हामी तपाईंकै लागि हौं र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं’ भन्ने प्रतिवद्धता जनाएको छ।

नयाँ यात्राको सुरुवातसँगै एनसेलले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रही ‘हामी तपाईकै लागि’ थिमको घोषणा समेत गरेको छ। एनसेलले सामाजिक कार्यहरूलाई अगाडि बढाउन र सामुदाय स्तरमा सार्थक प्रभाव पार्न शृङ्खलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रमहरूको घोषणा गरेको छ।

एनसेलले वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक अफर पनि ल्याएको छ। ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही न केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउने भएका छन्।

यो अफरमा एष्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छन्। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ।

प्रत्येक हप्ता एनसेलका एक हजार ग्राहकले एक सय ब्यालेन्स पाउने र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले सात वटा स्कुटर पाउनेछन्। साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ।

प्रकाशित: १ आश्विन २०८० ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App