६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

जनशक्ति अभाव खेप्दै पोखराका होटल

१० हजार जनशक्ति अभावः व्यावसायी

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड। तस्बिरः नागरिक

युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।

अहिले पाहुना कम भएकोले जसोतसो व्यवस्थापन गरेको भएपनि सिजनका बेलाका लागि कार्यरत जनशक्तिले नपुग्ने उनीहरुले बताए। व्यावसायीका अनुसार नयाँ जनशक्ति होटलमा काम गर्न पटक्कै रुचाउँदैन। अनुभवि ठूलो जनशक्ति पनि कोरोनाले बिस्थापित भएको छ। बिस्थापित जनशक्ति पर्यटन क्षेत्रमा फर्किन पनि सकेको छैन। केही गरि नयाँ कामदार काममा आइहाले पनि छोटो समय गरेर छाड्ने गरेका छन्। पूर्वाधार थपिने क्रम रहेकोले पनि जनशक्ति बाँडिदै जाँदा एकअर्कामा अभाव सिर्जना भईरहेको उनीहरुको भनाई छ।  

‘रिसेप्सनदेखि म्यानेजरसम्मका कामदारको खाँचो छ। नयाँ होटल भएकोले पनि व्यवस्थापनको चूनौती छ,’ मझेरी रिजोर्ट एण्ड स्पाका महाप्रबन्धक गुप्त गिरी भन्छन्, ‘काम गरिरहेको युवा जनशक्ति दिनहुँ छाड्ने तयारीमा छन् । केहीको भीषा लागेर उड्ने तरखरमा छन। तर, नयाँ जनशक्ति तयार पार्न हामीलाई हम्मेहम्मे भएको छ।’ गिरीका अनुसार अहिले तल्लो तहदेखि व्यवस्थापकसम्मका कर्मचारी अभाव छ। ती कर्मचारी जुटाउन नयाँ संरचनालाई झनै कठिन छ।

‘युवापुस्ता विदेश जाने क्रम रोकिएन। कोरोनाले गर्दा पर्यटन क्षेत्र कमजोर बन्दा अहिले यो क्षेत्रमा काममा आकर्षण पनि कम भएको हो। अब आउने सिजनमा पर्यटन क्षेत्रमा सुधार भएमा जनशक्ति पाउन सकिन्छ,’ उनले भने, ‘पर्याप्त पाहुना आउने र पर्यटन क्षेत्रले कमाउन थाल्दै जाँदा आकर्षक सेवा सुविधा दिन सकेमा नयाँ जनशक्तिलाई पर्यटन क्षेत्रमा टिकाउन सहज हुनेछ। कोरोनाकालमा बिस्थापित जनशक्तिलाई पनि फर्काउन सकिन्छ । नत्र भने गुणस्तरीय सेवा दिन कठिन हुनेछ।’ 

आगामि महिनादेखि पर्यटकीय सिजन सुरु हुने भएकोले पनि त्यो बेला पाहुना आएको खण्डमा जनशक्ति अपुग हुनसक्ने उनले बताए।  ‘पर्यटन क्षेत्र चलायमान भएमा केही नयाँ जनशक्ति बढ्न सक्छ। काम गर्दा गर्दैको जनशक्ति अहिले दिनहुँ घटिरहेको छ,’ उनले भने, ‘सेवामुलक क्षेत्र भएकोले गुणस्तर कायम गर्न नसके समस्या हुन्छ। राम्रो आतिथ्यता दिन नसके एकपटक आएको पाहुना दोहो¥याएर नआउन पनि सक्छ। त्यही भएर अनुभवि जनशक्ति चाहिन्छ।’

 होटलले जनशक्ति अभाव हूँदै गएपछि अनुभव नै नभएका व्यक्तिलाई ल्याएर काम सिकाउँदै लगेको पनि उनले बताए। ‘अनुभवि कामदार खोजेर पाँइदैन। त्यसैले होटल क्षेत्रमा नवप्रवेशीलाई नै सिकाउँदै लैजानुको विकल्प छैन,’ उनले भने।  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पनि होटल क्षेत्रमा जनशक्ति अभाव निकै नै छ। ‘पर्यटन राम्रो हुँदा कार्यरत जनशक्तिले धान्दैन। अहिलेका लागि त कामचलाउ भएको छ,’ सुवेदीले भने, ‘होटल क्षेत्रमा अहिले करिब १० प्रतिशत मात्र अकुपेन्सी हुँदाको अवस्थामा खासै जनशक्ति अभाव छैन। जब सिजन सुरु हुन्छ, त्यो बेला अकुपेन्सी बढ्दा अभाव हुन्छ।’ सेप्टेम्बरदेखि पर्यटन क्षेत्रमा सिजन सुरु हुने उनले बताए। यो सिजन बीचमा केही कमजोर भएपनि अप्रिलसम्म टिकिरहने उनले बताए।

अहिले पोखराको होटलको अकुपेन्सी कमजोर हुनुमा पोखरा–मुग्लिनको झन्झटिलो स्थलमार्गको कारण हो। राजमार्गमा आउजाउ कठिनपूर्ण हुँदा यो बेला पाहुना आगमन कम भएको व्यावसायीले बताएका छन। ‘अहिले बाटो बिग्रेको छ भनेर पाहुना नभएका हुन्। आगामि सिजन राम्रोसँग चल्यो भने जनशक्ति समस्या हुनेछ,’ उनले भने, ‘आगामि सिजन अर्काे महिनादेखि सुरु हुनेछ। दसैं लागेपछि आन्तरिक पाहुना पनि थपिन्छन। त्यो बेला भने जनशक्तिले नपुग्ने आँकलन छ।’

हाउसकिपिङ देखि म्यानेजर तहसम्मको कर्मचारी अभाव रहेको उनले बताए। ‘पोखराका शैक्षिक क्षेत्र, तालिम प्रदायक विभिन्न संस्थाबाट जनशक्ति उत्पादन राम्रो छ। तर, यहाँ एकतहको पढाई सकेर युवापुस्ताजति विदेश हिडेको छ,’ उनले भने, ‘नेपालमै रोक्न सक्ने अवस्था छैन। कलेजको जनशक्ति पनि विदेश पलायन भएको छ। उत्पादन भएको जनशक्ति नेपालको लागि नभई विदेशका लागि तयार भएको देखिएको छ।’

उनका अनुसार कतिपय जनशक्ति सीप सिकेर मात्र विदेश जाने भनेर तालिमका लागि काम गर्न आएपनि त्यो टिकाउ नहुने उनले बताए। पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्नेगरि पोखरामा डेढदर्जन जति संस्था छन्। ती संंस्थाले  उत्पादन गरेका जनशक्ति सर्टिफिकेटका लागि मात्र भएको उनले बताए।  

अध्यक्ष सुवेदीका अनुसार अहिले पोखरा क्षेत्रका होटलमा पाँचहजार जनशक्ति कार्यरत छ। पोखराका सबै होटलमा १५ हजार जनशक्ति चाहिन्छ। अझै १० हजारलाई रोजगार दिन सकिने भएपनि मान्छे नपाएको उनले बताए। ‘होटलको खर्च धान्न कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्छ। ३० प्रतिशतसम्मको अकुुपेन्सीलाई अहिलेको जनशक्तिले धान्न सकिन्छ। कामदार छैनन भनेर पाहुना नराखेर पनि भएन,’ उनले भने, ‘सिजन राम्रो हुने हो भने पोखरा क्षेत्रका होटलको अकुपेन्सी ८० प्रतिशत माथि उक्लिन सक्छ। त्यो बेला जनशक्तिको चरम अभाव खड्किनेछ।’ काम वा तालिमका लागि आएका युवायुवतीलाई सोध्यो भने काम सिकेर विदेश जाने जवाफ पाउने उनले बताए।

‘कोभिडले कार्यरत ठूलो जनशक्ति विबस्थापित भयो। कोभिडका कारणले बिस्थापित सानो आकार मात्र पर्यटन क्षेत्रमा फर्कियो,’ उनले भने, ‘पर्यटन छाडेको जनशक्तिमध्ये कतिपय अन्यै पेशामा लागिसके, केहीले आफै व्यवसाय थालेका छन।’ अहिलेको आर्थिक मन्दीले गर्दा पनि पुरानाले जनशक्तिलाई पर्यटनमा फर्काउन कठिन रहेको उनले बताए।  

अहिले पोखराका होटलको अकुपेन्सी १० प्रतिशतको हाराहारीमा मात्र रहेको छ। व्यावसायीले अब दसैंको बेला आन्तरिक र आगामि महिनादेखि केही विदेशी आउने अपेक्षा गरेका छन। ‘हुन त कोरोनाले छोटो समयमा पर्यटन क्षेत्र रिभाईभ भएको हो। तरपनि पर्याप्त व्यवसाय हुन सकेन। व्यवसायी अधिक भएकोले पनि पर्यटक बाँडिदा अभाव खडकेको हो,’ उनले भने, ‘शुन्यमा झरेको पर्यटनले छिटो रिभाईभ पाएको हो। तर, कामदार रिभाईभ हुन सकेनन।’  

प्रकाशित: ७ भाद्र २०८० १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App