१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

थानकोटमा पेट्रोल भण्डारण क्षमता ६० लाख लिटर पुग्यो

काठमाडौं- नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोल भण्डारण क्षमता बढाएको छ। अहिलेको क्षमतालाई तीन गुणा भन्दा धेरै बढाएर ६० लाख लिटर पुर्‍याएको निगमले जनाएको छ।

थानकोटमा अहिले पेट्रोल भण्डारण क्षमता १८ लाख लिटर मात्र थियो। मट्टीतेलको खपत घटेपछि निगमले मट्टितेल राख्ने ट्यांकलाई पेट्रोलमा परिणत गरेको निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए। '२१ लाख लिटरका दुई मट्टीतेल ट्यांकलाई कन्भर्जिङ गरेका छौं,' खड्काले भने, 'अब थानकोको क्षमता ६० लाख लिटर पुगेको छ।'

बजारमा मट्टितेलको खपत घटेपछि मट्टितेल ट्यांकलाई पेट्रोल भण्डारण गर्ने बनाएको हो। बजारमा मट्टितेलको माग घट्दै गएपछि २१ लाख लिटरका दुई ट्यांक प्रयोगविहीन भएका थिए। करिब पौने दुई करोड रुपैयाँको लागतमा मट्टितेल ट्यांकलाई पेट्रोलमा परिणत गरिएको छ।

दुई ट्यांकलाई कन्भर्जिङ गरे पनि क्यालिब्रेसन गर्ने काम बाँकी रहेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए। 'मट्टीतेलका ट्यांकलाई पेट्रोल राख्ने बनाइएको छ,' पोख्रेलले भने, 'क्यालिब्रेस गर्नुपूर्व पानीले सफा गर्नुपर्ने भएकाले पानी अभाबले ढिला भइरहेको छ।' ती ट्यांकमा ४२ लाख लिटर पानी भरेर परिक्षण गर्नुपर्ने भएकाले पानीको व्यवस्थापनमा कठिनाइ भएको छ। त्यसपछि पेट्रोल भर्न सुरु गर्ने उनले बताए।

थानकोटमा पेट्रोल भण्डारण नहुँदा एक/दुई दिन बिदा हुनासाथ राजधानीमा पेट्रोलको अभाब हुने गरेको छ। उपत्यकामा दैनिक करिब साढे चार लिटर पेट्रोल खपत हुन्छ। 'नयाँ ट्यांकमा पेट्रोल भर्न थालेपछि दैनिक पाँच लाख लिटर पठाए पनि १२ दिनलाई थेग्छ,' प्रवक्ता पोख्रेलले भने, 'ट्यांक प्रयोगमा आए पछि उपत्यकामा उपभोक्तालाई राहात हुने भएको छ।'

भारतको नाकाबन्दीको समयमा भण्डारण कम हुँदा पेट्रोलियम पदार्थको भण्डारणसरकारले निगमलाई निर्देशन दिएको थियो। निगमले विस्तृत अध्ययन गरेपछि तत्काल अन्य स्थानमा डिपोको पूर्वाधार तयार गर्न समय लाग्ने भए पछि मट्टितेलका ट्यांकलाई पेट्रोल राख्न मिल्ने बनाएको हो। थानकोटमै ७ सय ६० किलोलिटरको अर्को खाली ट्यांक भएकाले त्यसलाई मट्टितेलको लागि प्रयोग गर्ने तयारी छ।

सन् २००५मा एसियाली विकास बैंकको सहयोगमा भण्डारण क्षमता बढाएको भए पनि त्यस यता डिपोको भण्डारण क्षमता बढाएको छैन। अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता कमजोर भएकाले चीनको सहयोगमा बढाउने निगमको योजना छ। प्रधानमन्त्री केपी ओलीको वेइजिङ भ्रमणमा भण्डारण क्षमता बढाउन सहयोग गर्ने आश्वासन दिएको भए पनि कार्यान्वयनमा आएको छैन।

इन्धन भण्डारण क्षमता बढाउन एक सय १७ अर्ब रुपैयाँको महत्वांक्षी योजना निगमले सार्वजनिक गरिसकेको छ। तीन महिनासम्म खपत धान्ने गरी पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल, हवाइ इन्धन) भण्डारणको पूर्वाधार बनाउने प्रक्रिया अघि बढाएको हो।  जग्गासहित पूर्वाधार बनाउन ६० अर्ब र तीन महिनाको जगेडा इन्धनको लागि ५७ अर्ब रुपैयाँ आवश्यक पर्ने निगमले जनाएको छ।

अहिलेको पेट्रोलियम पदार्थ माग, बढ्दो सवारी चापलाई समेत मध्यनजर गरेर निगमले योजना बनाएको हो। मुलुक संघीय संरचनामा जाँदा त्यहाँको मागअनुसार सहज रुपमा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्थापन सजिलोका लागि नयाँ खाका तयार पारेर अघि बढेको छ। हाल निगमका १० डिपोको करिब ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता छ। अहिलेका भण्डारण गृहले पेट्रोल पाँच दिन, डिजेल १९ दिन, हवाई इन्धन २० दिनलाई मात्र पुग्छ।

निगमले मुलुकभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने तयारी स्वरुप जग्गा खरिद सुरु गरेको छ। झापाको चारआली, सर्लाही, चितवन, धादिङ, रुपन्देही, तनहुँ, धनगढीमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल)को भण्डारण बनाउन जग्गा खरिद अघि बढाएको छ। तराईका जिल्लामा २० विघा र पहाडी जिल्लामा करिब २ सय रोपनीका दरले जग्गा खरिद गर्न लागेको हो। निगमसँग अहिले करिब ७१ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमताले अपुग भएपछि तीन महिनालाई पुग्ने गरी भण्डारण स्थल बनाउने निर्णय गरेको थियो। पेट्रोल अलिहेको क्षमतामा एक लाख २९ हजार आठ सय १६ किलोलिटर बढाएर एक लाख ३५ हजार किलोलिटर पुर्‍याउने, डिजल ४२ हजार चार सय किलोलिटरमा तीन लाख ६२ हजार छ सय थपेर चार लाख पाँच हजार किलोलिटर पुर्‍याउने योजना रहेको निगमले जनाएको छ।

प्रकाशित: २१ वैशाख २०७४ ०४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App