५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषिमा बेथितीः सरकारी अनुदानको ‘श्रीराम बीज वृद्धि’ निजी कम्पनीलाई

चितवन कृषिका लागि उर्भर भूमि हो। सोही अनुसार राज्यले लगानी पनि गरेको छ। तर, पछिल्लो समय यसको दुरुपयोग पनि भइरहेको देखिन्छ। सरकारबाट करोडौँ अनुदान लिएर राम्रोसँग सञ्चालन हुन नसकेका संस्थाहरू चितवनमा थुप्रै छन्। 

पश्चिम चितवनको पार्वतीपुरमा रहेको श्रीराम बीज वृद्धि कृषक समूहले निजी कम्पनीलाई बिक्री गरेको छ। बिउ उत्पादन गर्दै आएको संस्थाले विभिन्न संघसंस्थाबाट करोडौँ रकम अनुदानमा लिएको थियो तर पछिल्लो समय दाना बनाउने कम्पनीलाई बेचेको छ। उसले कम्पनीको नामसमेत परिवर्तन गरिसकेको छ। 

‘श्रीराम बीज वृद्धि कृषक समूह’बाट अहिले ‘एसएस फिडस प्रालि’ राखेको छ। सो कम्पनी एक वर्षअघि पोल्ट्री व्यवसायी इन्द्र श्रेष्ठले लिएका छन् तर आफूले खरिद गरेको रकम भने उनले खुलाउन चाहेनन्। 

‘निजी सम्पत्ति कतिमा खरिद भयो भन्ने कुरा मिडियालाई किन चाहियो। भ्याट करका कुरा आउँछन्, मलाई अप्ठ्यारो पर्छ,’ उनले भने, ‘एक वर्षअघि मैले खरिद गरेर दाना तयारी गरेको छु।’ श्रीराम बीज वृद्धिका अध्यक्ष प्रकाश रावलले पनि सबै कुरा बताउन चाहेनन्। तर, सात करोड २५ लाखमा किनेको यसअघि सो संस्थामा रहेका किसानहरू बताउँछन्।  

२०५९ सालमा स्थापना भएको कृषक समूहले देशभर बिउ बेच्ने गर्थ्यो। यस संस्थालाई व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट), लिबर्ड, तत्कालीन कृषि विकास कार्यालय, किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमअन्तर्गतको सहयोग थियो। 

बिउको उत्पादन बढाउनका लागि राज्यले गरेको सहयोग खेर गएको छ। लिबर्डले बिउको उत्पादन बढाउन २०६३ सालसम्म सहयोग गरेको थियो। सो समय संस्थाले सय टन बिउ उत्पादन गर्थ्यो। २०६७ सालमा प्याक्टले बिउ प्रशोधन मेसिन र गोदाम निर्माणका लागि ३५ लाख रुपैयाँ सहयोग गरेको थियो। कृषि विकास कार्यालयले मेसिन औजारमा सहयोग गर्दै आएको तत्कालीन अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए।

बुटवलमा रहेको किसानका लागि उन्नत बिउ–बिजन कार्यक्रमले २०७२ सालपछि ६७ लाखको हाराहारीमा संस्थालाई सहयोग गरेको थियो। संस्थाको नाममा कारसमेत छ। अहिले प्रकाश रावलले नै प्रयोग गर्दै आएका छन्। संस्थाको नाममा रहेको दुई बिगाहा जग्गामध्ये एक बिगाहा व्यक्तिलाई बेचिएको छ। 

यसरी करोडौँ अनुदान लिएर निजी व्यक्तिलाई बेच्न नहुने कृषि ज्ञान केन्द्र चितवनका निमित्त प्रमुख मिन बहादुर पून बताउँछन्। ‘बेचे नबेचेको मलाई थाहा भएन । तर, हाम्रो कानुनमा पनि अस्पष्टता छ,’ उनले भने, ‘मेरो बिचारमा यसरी बेच्दा राम्रो मानिँदैन।’ 

प्रकाशित: ११ जेष्ठ २०८० ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App