६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

वायु प्रदुषणः भिजिविलिटी नपुग्दा पोखराको हवाई उडान प्रभावित, रोकिएका जहाज गए, तर आउन सकेनन्

शुक्रबार दिउँसो तुँवालोले ढाकेकोले पोखरा । तस्बिरः उमेश पुन/नागरिक

वायु प्रदुषणले अहिले मुख्य सहर प्रभावित भएका छन्। राजधानी काठमाडौं सहित पोखरा र अन्य क्षेत्रमा पनि वायु प्रदुषण उच्च छ। वायु प्रदुषणले गर्दा भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन। विमानस्थलमा शुक्रबार दिउँसो साढे तीनबजेसम्म कुनैपनि जहाज अवतरण गर्न सकेका छैनन।  

बिहान ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म संचालित विमानस्थलमा दिउँसो साढे ३ बजेसम्म उडान हुन सकेको छैन। विमानस्थलबाट बिहान दुइवटा जहाज उडेर काठमाडौं गएपनि काठमाडौं र अन्य सहरबाट पोखराका लागि भने कुनैपनि जहाज आउन सकेका छैनन्। विमानस्थल प्रमुख बिक्रमराज गौतमले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको बताए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तिमा ३८ सय मिटरको भिजिविलिटी चाहिन्छ। तर दिउँसो साढे ३ बजेको भिजिविलिटी २ हजार मिटरमात्र रहेको छ,’ गौतमले भने, ‘उडान गर्नका लागि भिजिविलिटि पर्याप्त भएन। त्यसले गर्दा उडान प्रभावित भएको हो।’ हावा चल्न थालेकोले केही ढिलागरि उडान हुने उनको अपेक्षा थियो।  

पोखरामा विहीबार बेलुकी रात्री विसान गरेका बुद्ध एयरका दुईवटा जहाजले शुक्रबार बिहान काठमाडौंका लागि उडान भरेको भएपनि काठमाडौ सहित अन्य सहरबाट पोखरा आउने जहाज भने आउन नसकेको उनले बताए। गौतमका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रविधिमा आधारित भएर गरिने उडान (आईएफआर) भएपनि ३८ सय मिटर भिजिविलिटी चाहिन्छ। यसअघि पोखराको पुरानो विमानस्थलबाट भिएफआर (आँखाले हेरेको भरमा गरिने उडान) मा आधारित रहेर उडान गर्दा पाँचहजार मिटर भिजिविलिटी चाहिन्थ्यो।

गौतमका अनुसार विहीबार पनि पोखराका हवाई उडान प्रभावित भएका थिए। बिहीबार बिहान विमानस्थलबाट उडान र अवतरण भएपनि दिउँसो भने कुनैपनि उडान हुन सकेका थिएनन। बेलुकी साढे पाँचबजेपछि बल्ल पोखरा खुलेको थियो। त्यसपछि बल्ल उडान सुरु भएका थिए। दिउँसोको समयमा भिजिविलिटी नपुगेर उडान नहुँदा बुद्धका दुइवटा उडान रद्द भएका थिए।  

‘नयाँवर्षमा पोखरा घुम्न आउने पर्यटक प्रभावित भएका छन्। यो बेला दिनमा एकतर्फी कम्तिमा ३० वटा उडान भएका छन। तर, मौसमले बेलैमा उडान गर्न नसक्दा यात्रु प्रभावित भएका छन,’ गौतमले भने, ‘हवाई यातायात नै प्रभावित भएको छ। विमानस्थलको उडान प्रभावित हुँदा हजारौं यात्रुले सकस खेप्नुपरेको छ भने त्यसको मार पर्यटन क्षेत्रमा परेको छ। त्यत्ति मात्र नभई विमानस्थलको आम्दानीमा पनि यसले असर गर्छ।’

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौमल बरालले पनि प्रदुषणले गर्दा भिजिविलिटी नपुग्दा उडान प्रभवित भएको बताए। उनका अनुसार विमानस्थलमा उडान हुने पर्खाइमा सयौं यात्रु रोकिएका छन्। पोखरामा नयाँवर्ष मनाउन आउने तयारीमा रहेका पर्यटक काठमाडौंमै रोकिएको उनले बताए। बरालका अनुसार अहिले बुद्धले पोखराबाट काठमाडौंका लागि दिनमा १५ वटा उडान राखेको छ। त्यस्तै पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्जका लागि पनि एक–एक उडान राखेको छ।  

भिजिविलिटी नपुग्दा विहीबार पोखराबाट जहाज भैरहवा गएपनि भैरहवाबाट पोखरा आउन सकेको थिएन। ‘हिजो बेलुकी रात्रीकालिन बिसान गरेका दुइवटा जहाज शुक्रबार बिहानै काठमाडौंका लागि उडे, तर, काठमाडौंबाट पोखरा आउन सकेनन,’ उनले भने, ‘वाक्लो तुँवालोले हवाई उडान प्रभावित भएको छ। विहीबार दिउँसो रोकिएको उडान बेलुकी साढे पाँचबजेपछि बल्ल सुचारु भएको थियो।’ पोखराबाट अहिले बुद्ध, यती, श्री र सौर्य लगायतका हवाई कम्पनिले उडान भर्छन।

प्रकाशित: १ वैशाख २०८० १०:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App