६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

भारतबाट आयात हुँदा नेपाली मह विस्थापित

स्वदेशी मास्ने विदेशी पोस्ने नीति

स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्। देवकोटाले मौरी फार्ममा उत्पादन गरेको साढे ६ टन मह बिक्री भएको छैन। ‘पोहोरको मह जेनतेन यो माघमा बेचेर सकियो,’ देवकोटाले भने, ‘यो वर्ष उत्पादन भएको मह कहिले बिक्री हुन्छ, कुनै ठेगान छैन।’

२५ वर्षदेखि मौरीपालन गर्दै आएका देवकोटा मह बिक्री नहुने समस्या पहिलोपटक झेलिरहेका छन्। ‘आयातित महका कारण मह बिक्री हुन सकेन,’ उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ देवकोटाले २८० घार मौरी पालिरहेका छन्।

मह बिक्री नभएर समस्या झेल्ने देवकोटा एक्ला किसान होइनन्। मुलुकभरिकै मौरीपालक किसान मह बिक्री नहुँदा चिन्तित छन्। भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको किसानको गुनासो छ। भारतबाट वैधानिक ‘च्यानल’बाट मात्र नभएर अवैध बाटोबाट पनि मह आयात भइरहेको मौरीपालक महासंघले जनाएको छ। करिब ३ हजार मेट्रिक टन मह बिक्री नभएको महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले बताए। ‘पोहोरदेखि मह बिक्री भएको छैन,’ उनले भने, ‘भारतीय महका कारण बिक्री नभएको हो।’

सस्तो भन्सार हुनुका साथै गैरकानुनी रूपमा मह आयात हुने भएकाले यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ। ‘मह बिक्री नभएर किसानको बिजोग भएको छ,’ उनले भने, ‘बिक्री नभएको मह थुपारेर राखेका छौं।’ पौडेल बी फार्म सञ्चालन गर्दै आएका उनीसँग करिब ३५ क्विन्टल मह स्टक छ।

अहिलेको बजार भाउअनुसार त्यति महको मूल्य १६ लाख रूपैयाँभन्दा बढी पर्छ। ‘मह बिक्री नहुँदा समस्यामा परेका छौं,’ पौडेलले भने, ‘२० वर्षको अनुभवमा महका लागि अहिलेसम्म बजार अभाव भएको थिएन।’

भारतबाट किलोको २११ रूपैयाँमा मह आयात भइरहेको छ। नेपालमा उत्पादन भएको महको उत्पादन लागत नै किलोको करिब ४०० रूपैयाँ छ। महको होलसेल मूल्य किलोको ४०० देखि ५०० रूपैयाँ र खुद्रा मूल्य ७०० देखि ८०० रूपैयाँ रहेको महासंघले जनाएको छ। नेपालमा वार्षिक करिब ७ हजार मेट्रिक टन हाराहारीमा मह खपत हुने महासंघको अनुमान छ।

स्वदेशमा ४ हजार मेट्रिक टन उत्पादन हुन्छ। करिब १४ सय मेट्रिक टन आयात भएको भन्सारको तथ्यांकले देखाउँछ। अरू मह गैरकानुनी च्यानलबाट आएको महासंघका पदाधिकारीको दाबी छ। ‘वैध र अवैध च्यानलबाट मह आउँदा यहाँको मह बिक्री भएन,’ निवर्तमान अध्यक्ष पौडेलले भने।

मह बिक्री नभएको गुनासो किसानबाट आएको व्यावसायिक किट विकास केन्द्रले जनाएको छ। भारतबाट सस्तोमा मह आयात र आन्तरिक कारणले बिक्री नभएको व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले बताए।

गत वर्ष ३० करोड ४० लाख रूपैयाँको मह आयात भएको थियो। यो वर्षको फागुनसम्म ५ लाख २९२ किलो मह आयात भएको छ। यसको मूल्य करिब ११ करोड ७८ लाख रूपैयाँ पर्छ। आयातको तथ्यांक धेरै ठुलो नभए पनि गैरकानुनी रूपमा मह आयात भइरहेको महासंघका निवर्तमान अध्यक्ष पौडेलले बताए। ‘अवैध रूपमा आयात भएको मह बजारमा बिक्री भइरहेको छ,’ पौडेलले भने, ‘अवैध आयात रोकेर भन्सार महसुल बढाए मात्र नेपाली उत्पादनले बजार पाउँछ।’

नेपालको मह गुणस्तरीय भएकाले केही निर्यात पनि हुने गरेको छ। चालु आवको आठ महिनामा अस्ट्रेलिया, जापान, मलेसिया, अमेरिकालगायत देशमा १ करोड ३९ लाख ६२ हजार रूपैयाँको मह निर्यात भएको छ। विदेशबाट आयात हुने महको भन्सार महसुल दर बढाउन किसानले माग गरेका छन्। अहिले सार्क मुलुकबाट आयात हुने महको भन्सार महसुल ९ प्रतिशत मात्र छ। ‘महको भन्सार महसुल ६० प्रतिशत पुर्‍याउन माग गरेका छौं,’ महासंघका निवर्तमान अध्यक्ष पौडेलले भने, ‘सरकारले संरक्षणको नीति लिनुपर्छ।’

नेपालमा करिब १० हजार किसान मौरीपालनमा आबद्ध छन्। चितवन, मकवानपुर, सर्लाही, नवलपरासी, रूपन्देही, दाङ, कैलाली, पाल्पा, बागलुङ, पर्वत, कास्की, जाजरकोट लगायत जिल्लामा व्यावसायिक मौरीपालन हुँदै आएको छ। यी जिल्लामा एपिस सेराना, एपिस मेलिफेरा, एपिस डोरसाटा, एपिस लेबोरियोसा, कठ्यौरी, खागोलगायत जातका मौरी पाइन्छन्। नेपाली महको बजार प्रवद्र्धन गर्न ‘ब्रान्ड’ बनाएर प्रचारप्रसार गर्नुपर्ने सरकारी अधिकारीहरू बताउँछन्।

गुणस्तरीय भए पनि नेपालको महले बजार पाउन सकेको छैन। ‘नेपालमा उत्पादित महको गुणस्तरमा कुनै शंका छैन,’ किट विकास केन्द्रका प्रमुख सापकोटाले भने, ‘ब्रान्डिङ गर्नुपर्ने आवश्यकता छ।’

विशेष गरी भारतबाट आयात भएको महले नेपाली बजारको एक चौथाइ हिस्सा ओगटेकाले भन्सार महसुल बढाउनुपर्ने किसानको माग छ। भारतबाट सस्तोमा मह आयात भएकाले नेपाली किसानले प्रतिस्पर्धा गर्न सकेका छैनन्। ‘विदेशबाट सस्तोमा मह आयात भएकाले भन्सार महसुल बढाउन सिफारिस गरेका छौं,’ प्रमुख सापकोटाले भने, ‘नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता छ।’

प्रकाशित: १६ चैत्र २०७९ ००:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App