११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भरतपुरमा एकीकृत सहरी पूर्वाधार अन्तर्गतका ११ आयोजनाको निर्माण कार्य सुरु

भरतपुर महानगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका आयोजनाको निर्माण कार्य सुरु भएका छन्। 

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्। एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तर्गत सडक कालोपत्रे, नारायणी नदी तट र देवघाट बसपार्क निर्माण रहेका छन्।

यस आयोजना अन्तर्गतका दुई वटा सडकको बुधवार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छन्। भरतपुर महानगरपालिका २५को विशाल चोक–कुमारी चोक हुँदै देविथान छतले चोकदेखि बेतली खोलासम्मको सडक र भरतपुर महानगरपालिका ९ स्थित काँडा घारी देखि वडा नम्बर ८ को सिमानासम्मको सडक शिलान्यास गरेकी हुन्।  

कार्यक्रममा बोल्दै प्रमुख दाहालले एकीकृत सहरी पूर्वाधार योजना अन्तर्गत दोस्रो प्याकेजका रुपमा भरतपुर महानगरपालिकामा सडक निर्माणका साथै बसपार्क निर्माणका लागि योजना ल्याएको बताएकी छन्। अघिल्लो वर्ष सघन सहरी तथा भवन निर्माण आयोजनाबाट भरतपुरमा दुई अर्बका योजना सुरु भएका थिए। यी आयोजना समपन्नको चरणमा रहेको उनले बताइन्।

दोस्रो प्याकेजका रुपमा शिलान्यास भएका योजनाहरु समयमै सम्पन्न गर्न उनले निर्माण कम्पनीलाई आग्रह समेत गरिन्।

‘यसअघिका निर्माण कम्पनीले पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन्,’ उनले भनिन् ‘तोकिएकै समयमा काम सम्पन्न गर्न अनुरोध छ।’ 

उनले समयमा काम नसक्ने १४ वटा कम्पनीलाई कारबाही गरेको समेत जानकारी दिइन्। 

एकीकृत सहरी पूर्वाधार निर्माण आयोजना अन्तगतका सबै योजना संघन सहरी तथा भवन निर्माण आयोजनाले एउटै कम्पनीलाई ४१ करोड १९ लाख रुपैयाँमा ठेक्का दिएको छ। आयोजनाका लेखा अधिकृत ओम बहादुर खड्काका अनुसार भरतपुरको महालक्ष्मी, ओम सत्य साई जेभीसंग फागुन १० गते ठेक्का सम्झौता गरिएको हो।

यी योजनाको म्याद २०८१ भदौ ९ गतेसम्म रहेको खड्काले जानकारी दिए। योजना अन्तरगत सडक कालोपत्रे १८ किलोमिटर हुनेछ। त्यसमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिका २५को विशाल चोक–कुमारी चोक हुँदै देविथान छतले चोकदेखि बेतली खोलासम्म सडक कालोपत्रे उनले बताए। त्यहाँ साढे ६ मिटर चौडाइ सहितको ५ किलोमिटर पिच हुनेछ। त्यहाँ सडक नाली सहित कुनै ठाउँमा हिम पाइप राखिने उनले बताए। यस सडकबाट भरतपुर २३, २६ र २७का वडा बासी लाभान्वित हुनेछन्।

त्यस्तै भरतपुर १० स्थित इन्द्रचोक–शान्ति चोकसम्मको २९० मिटर सडक पिच, भरतपुर १२को वसन्त चोकदेखि उत्तर तर्फको सडक, भरतपुर २०को पौडेल चोकको सडक, भरतपुर १३ र १४ स्थित दवाडी चोकदेखि पातल हारा सडक, महेन्द्र चोकदेखि मंगलपुर बजारसम्मको सडक, आदर्शनगर सडक कालोपत्रे हुँदैछ। 

सामुदायिक संरचना अन्तर्गत १ करोड ३४ लाख ७३ हजार रुपैयाँको लगानीमा नारायणी सी ब्याचको आयोजना निर्माण हुँदैछ। आर्थिक पूर्वाधार तर्फ  १ करोड ७५ लाख ८३  करोड लागतमा देवघाटमा बसपार्क निर्माण गर्न लागिएको उनले बताए। 

प्रकाशित: ८ चैत्र २०७९ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App